अस्तित्व 

धर्मेन्द्र तिम्सिना “क्षितिज” 
अमेरिका

पाप धुरीबाट कराउँछ भन्थे
सायद कराउन थाल्यो
या त कराइसक्यो
तिम्रा काला कर्तुतहरू
छताछुल्ल छरिए
छोप्न सकिँदैन अब
अस्तित्वविहीन हुन लाग्यौ तिमी
बेचेर आफ्नै धरातल
बेचेर आफ्नै अस्तित्व

सदियौँदेखि व्यापार चलिरहेछ
सामानसँग सामानको व्यापार
पैसासँग सामानको व्यापार
सामानसँग पैसाको व्यापार
तर अहिले तिमीले अर्कै व्यापार सुरु गरेछौ
पैसासँग मान्छेको व्यापार
मान्छेसँग पैसाको व्यापार
एउटाको अस्तित्वसँग
अर्काको अस्तित्वको व्यापार
बेच्ने पनि तिमी
बेचिन माग्ने पनि तिम्रै आफन्तहरू
तिमीले आफूलाई बेच्यौ
अनि आफ्नैलाई पनि बेच्यौ
आफ्नो अस्तित्वलाई बेच्यौ
आफ्नो पहिचानलाई बेच्यौ
खोइ !
के भन्छौ अब आफूलाई !
मान्छे, पैसा या त
अस्तित्वविहीन ?

म त बेचिएर पनि बेचिएको छैन
म त लडाइएर पनि लडेको छैन
तिमी !
आफैँ बेचिन लालायित
आफैँले आफैँलाई बेच्न लालायित
आफ्नो इतिहास बेच्न
आफ्नो पहिचान बेच्न
आफ्नो माटो बेच्न
कति उत्साहित
तिमी मान्छे कि पशु !
तिमी मान्छे कि तस्कर !

नक्कलीलाई सक्कली
सक्कलीलाई नक्कली
उसलाई त्यो, त्यसलाई यो
बनायौ तिमीले
तिम्रै वरिपरिका
ऊहरू
त्यो हुन राजी भए
तिनीहरू
उनीहरू हुन तम्सिए
तिमीले पनि बनाइदियौ त्यस्तै
अनि बेचिदियौ
बेचिन खोज्नेहरूको अस्तित्व

म त तिम्रो शरणमा थिएँ
सर्वस्व लुटिएको थियो मेरो
म सकिएको थिएँ कुनै बेला
सर्वस्व लुटिएकोलाई
सबै सकिएर नाङ्गै भएकोलाई
तिमीले अझ नङ्याउन खोज्यौ
कपडा उतारेर छाला काढ्न खोज्यौ
मैले छाला काढ्न पनि छोड्दिएँ तिमीलाई
दुखेर आघात हुँदा पनि रोइन म
ऐया ! भनेर कराइन म
बरु अझ चट्टान बन्दै गएँ
बरु अझ निडर बन्दै गएँ
अनि त्यस्तै छु अहिले पनि
उस्तै छु अहिले पनि
तिमीले सोचेकोभन्दा निडर
तिमीले सोचेकोभन्दा परिश्रमी

मलाई बेच्न खोज्यौ
मेरा आफन्तलाई पनि बेच्न खोज्यौ
सिद्ध्याउन खोज्यौ हामीलाई
हामी सिद्धिएनौँ
हामी बेचिएनौँ
बरु अझ सुदृढ बन्यौँ
संवृद्ध बन्यौँ
अनि लाग्यौ हाम्रै पछिपछि
आफ्नो अस्तित्व सिद्ध्याउँदै
पहिचान सिद्ध्याउँदै
र त आज आफैँ
सकिन खोज्यौ तिमी
र त आज आफैँ
अस्तित्वविहीन बन्न पुग्यौ तिमी
तिमी हाम्रो हुन सकेनौ
तिमी तिम्रै हुन सकेनौ
तिमी आफ्नो हुन सकेनौ
करायो पाप धुरीबाट
तिम्रो लागि
अनि तिम्रो अस्तित्वको लागि

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *