बादल
रमेश गौतम
नर्वे
हात्तीवनको एउटा गगनचुम्बी अपार्टमेन्ट बिल्डिङको छतमा बसेर एकोहोरो हेरिरहेछु गणेश हिमालतर्फ । क्रमशः बिदा भएको छ मनसुन काठमाडौँबाट र बिस्तारै उज्यालिँदै छ वातावरण । निलो गगनमा सुस्त गतिमा फैलिरहेछन् सिमलको भुवा जस्तै एक हुल बादलका टुक्राहरू । यो वर्ष औसतभन्दा लामो समय कायम रहेको मनसुनले कति दिक्दारी दिएको थियो, सम्झन्छु । चाड पर्वको रौनकसँगै अब सायद मान्छेहरूको हृदयमा पनि कान्ति भरिँदै छ ।
आज सेताम्मे हिउँ परेको छ परका हिमालहरूमा । कति मनमोहक दृश्य ! मेरो कर्मभूमिका बर्फिला हिउँदहरू सम्झन्छु । हिउँ भोग्नभन्दा हेर्न मिठो हुँदो हो सायद । हिउँको च्यादरले ढाकिएका हिमशृङ्खलाहरूबाट प्रवाहित भइरहेछ चमकदार हिमअल्बेडो । कति गजबको कुरा हो यो प्रकाश पनि । हिउँका मणिहरूबाट परावर्तित भएर छरिने रङ्गीचङ्गी प्रकाश हाम्रा आँखासम्म आइपुग्दा कति सेतो देखिएको । कति शान्त देखिएको । कति मृदुल देखिएको । प्रकाशका विकिरणहरूमा कति ठुलो शक्ति हुन्छ ! नत्र रिक्तताको त्यति लामो दुरी पार गरेर कसरी पुग्न सक्थे प्रत्येक मान्छेको मन-मस्तिष्कसम्म ! कसरी उज्यालो भर्न सक्थे मान्छेको हृदयमा ! प्रकाश संश्लेषणको क्रियामार्फत कसरी सुचारु राख्न सक्थे प्राणीहरूको जीवनचक्र !
हिमशृङ्खलाको अद्वितीय सुन्दरतासँग एकाकार हुँदै मेरो दृष्टिको क्षितिजको बाटो भएर आफ्नै सुरमा गतिशील छन् बादलका केही टुक्राहरू । कहाँ पुग्न हिँडेका होलान् यिनीहरू यो अविश्रान्त यात्रामा ? के बोकेर हिँडेका होलान् आफ्नो साथमा ? कस्ता चुनौती-अवरोधको सामना गर्नु पर्दो हो यात्रामा ? कहाँ पुगेर बिसाउँछन् होला त्यो भारी ? मेरो हिँडाइ र यी बादलको हिँडाइका बिच कस्तो सम्बन्ध होला ? म जस्तै उखेलिएर हिँडेका हुन् यिनीहरू पनि ? म जस्तै दमनको बोक्नै नसक्ने भारीले थिचिएर हिँडिरहेका छन् यिनीहरू पनि ? म जस्तै उच्छेदनको अथाह-अकल्पनीय दर्दले क्षतविक्षत भएर हिँडिरहेका छन् यिनीहरू पनि ? सायद मलाई जस्तै सामूहिकता मन पर्दो हो यिनीहरूलाई पनि । त्यसैले त होला एकसाथ हिँडिरहेका छन् निरन्तर-निरन्तर ।
फेरि सोचिरहेछु, यिनीहरूको कुनै धर्म-संस्कृति हुन्छ कि हुँदैन होला ? सभ्यताका अवयवहरूलाई टुक्रा टुक्रा पार्न रगतका रेखाहरूले सीमाङ्कित आफ्नो देश हुन्छ कि हुँदैन होला ? आफ्नो देशको राज्यसत्ता हुन्छ कि हुँदैन होला ? राज्यसत्ताले अवलम्बन गर्ने विभेदकारी नीति हुन्छ कि हुँदैन होला ? आफ्नो भेष हुन्छ कि हुँदैन होला ? इँटा-ढुङ्गाले बनेको भव्य-आलिसान महल हुन्छ कि हुँदैन होला ? हृदयका टुक्राहरूले बनेको आफ्नै सानो-सुरम्य कुटी हुन्छ कि हुँदैन होला ? काठमाडौँको आकाशबाट तल हेर्दा उर्वर भूमिमा कङ्क्रिटका विशृङ्खलित जङ्गलहरू निर्माण गर्न हुँदै गरेका प्लटिङ देखेर अनन्त फैलिएको त्यो आकाशमा आफ्ना लागि प्लटिङ गर्छन् कि गर्दैनन् होला ? सोचिरहेछु एकोहोरो ।
हाम्रो जीवनमा बादल अन्योन्याश्रित रूपमा उपस्थित छ । बादललाई हेरेर त हो हामीले प्रकृतिका कुरा सिकेको । बादललाई हेरेर त हामीले मौसम र मौसम परिवर्तनका सङ्केतहरू बुझेको । म सानो हुँदा आमा भन्ने गर्नु हुन्थ्यो, “कस्तो कालो बादल मडारिएको । आज बाली सखाप पार्ने गरी पानी पर्छ ।“ आमालाई थाहा हुन्थ्यो निलो आकाशमा स्वच्छन्द तैरिरहेका सेता बादलका झुन्डहरूले सुख्खा गर्मी यामको सङ्केत गर्दछन् । आमालाई थाहा हुन्थ्यो हल्का खैरो रङ्गको बादलको च्यादरले शीतोष्ण जाडोको रातलाई सङ्केत गर्दछ । आमालाई थाहा हुन्थ्यो धेरै माथि आकाशमा उड्दै गरेको झन्डै पारदर्शी जस्तो लाग्ने बादलको च्यादरले भोलिको मौसम परिवर्तित हुने सङ्केत गर्दछ । आज हाम्रो खेतबारी छैन । बालीनाली छैन । आमाको आकाश हेरेर मौसम पूर्वानुमान गर्ने क्रम परिवर्तित भएको छ । आजकल आमा “आज पानी पर्छ कि पर्दैन, मोबाइल हेर् त” भन्नु हुन्छ ।
मलाई मनमोहक बादलका टुक्राहरूले जहिल्यै रोमाञ्चित तुल्याउँछन् । जब म आकाशतर्फ हेर्छु, बादलका शानदार आगारहरू देख्छु । बोटबिनै हावामा तैरिरहेका पारिजातका सुगन्धित फूलहरू देख्छु । श्वेतकमलका गुच्छाहरू देख्छु । लालीमय पश्चिम क्षितिजतर्फ हेरेर टोहोलाइरहँदा कैयन चोटि अलौकिक शृङ्गारमा सजिएकी मेरी प्रेयसीलाई रातो गुलाफ बोकेर उभिइरहेको देखेको छु मैँले । जब जब म भावनामा डुबेर खै अर्कै कुन संसारमा पुगेको हुन्छु, बादलका आगारहरू रूपान्तरित हुन्छन् मेरो देशको मानचित्रमा । मलाई लाग्छ मेरो देश खुल्ला हात र फराकिलो छाती लिएर मलाई बोलाइरहेछ आफूतर्फ । जब म हर्षोल्लासमा आफ्नो देशतर्फ दौडन्छु, परिवर्तित हुन्छ बादलको गतिकी र सुरु हुन्छ एउटा बेजोड आँधी । अनि परिवर्तित हुन्छ बादलको आकार र मेटिन्छ मेरो देशको अस्तित्व जसरी मेटिएको थियो मेरो अस्तित्व त्यो देशबाट ।
बादलसँगको गहिरो लगाव र सामीप्यले मलाई भ्रमको जुनसुकै महानगरमा स्थानान्तरित गरे पनि बादलप्रतिको मेरो आकर्षण कहिल्यै घट्दैन । मलाई बादलको संसारमा सैर गर्न मन पर्छ । अन्तर्राष्ट्रिय विमानहरूमा यात्रा गर्दा म प्राय झ्याल छेउको सिटमा बस्ने गर्छु ताकि मन्त्रमुग्ध हुने गरी हेर्न सकियोस् बादलको अवयव । बादलको जीवन लीला । बादलको अस्तित्व । बादलको पहिचान । यसपालि दसैँ मनाउन घर जाँदा पनि त्यसै गरेको छु । आफ्नो सिटमा मजाले बाँधिएर अखण्ड भण्डारीको उपन्यास “मलाया एक्सप्रेस”मा आँखा ओछ्याएर बसेको छु । नियतिले ठगेका मान्छेहरूको कथामा दूर कता भासिएको छ मस्तिष्क । अपरिमित पीडा बोध गरिरहेछ हृदय । छेवैमा लहरै बसेका छन् वैदेशिक रोजगारीमा क्रोएसिया हिँडेका पाँच जना नेपाली युवाहरू । क्रोएसियामा यिनीहरूले के के देख्नु पर्ने हो । के के भोग्नु पर्ने हो । कामना गरिरहेछु यिनीहरूले “मलाया एक्सप्रेस”को कथा बाँच्नु नपरोस्। कामना गरिरहेछु यिनीहरू पनि प्रत्येक दिन बादलको पुष्प-बाटिका नियाल्दै मुस्कुराइरहन सकुन् ।
केही बेरपछि क्याप्टेन ओभरहेड लाउडस्पिकरमा आउँछन् र भन्छन्, “महिला तथा सज्जन वृन्द, हामी अहिले हाम्रो छत्तीस हजार फिटको क्रुजिङ उचाइमा छौँ।” झ्यालबाट बाहिर हेर्छु । बादलको संसार पार गरिसकेको छ विमानले । स्ट्र्याटोस्फियरको तल्लो खण्डमा पातलो हावालाई स्पर्श गर्दै हुइँकिरहेको छ हाम्रो जहाज झन्डै आवाजकै गतिमा ।
भर्खरै परिचारिका मैँले पहिल्यै अर्डर गरेको हिन्दु शाकाहारी भोजन दिएर गएकी छिन् । म जहाजको भीमकाय पङ्खाको पछिल्तिरबाट बाहिर हेरिरहेछु । कपासको खेती जस्तो देखिने बादलको साम्राज्य अनन्त अनन्तसम्म फैलिएको छ । अघिका जस्तै बादलका टुक्राहरू सायद यहीँ आएर मिसिन्छन् । आफैँभित्र गतिशील यो साम्राज्य कति शान्त छ । कति सौम्य छ । कति सुरम्य छ । कति एकीकृत छ । कति अचालायमान छ । आफ्नै पुर्खाको देशमा पर्यटक भिसामा आएर आफ्नो घर फर्कँदै गरेको म बादलको साम्राज्य देखेर चकित भएको छु । यहाँ कुनै साँध-सिमाना छैनन् । यहाँ सानो-ठुलो हुनुको पदानुक्रम छैन । यहाँ कुनै पुजित-पूजकको मर्यादाक्रम छैन । बादलसँग सिर्फ एउटा धर्म छ – पृथ्वीमा ऊर्जा सन्तुलन । बादलसँग सिर्फ एउटै भाषा छ – गतिशीलता । यही गतिशीलताका कारण कहिलेकहीँ आँधी-तुफान उत्पन्न हुन्छ तर समय समयमा आँधी-तुफानको सिर्जना गर्नु पनि बादलको धर्म नै हो ।
सम्झन्छु, बादलबिना त हाम्रो अस्तित्व सम्भव छैन । बादलले सौर्य प्रकाश परावर्तन गर्छ । बादलले पृथ्वीबाट तापका विकिरणहरूलाई भाग्नबाट रोक्छ । बादलले विश्वव्यापी ऊर्जा सन्तुलनको समीकरणको दुवै पक्षलाई प्रभाव पार्दछ । बादलले वाष्पीकरणमा सहयोग गर्छ र वायुमण्डलमा उष्ण-ऊर्जा उत्सर्जन गर्दछ । बादलमा हुने कुनै पनि परिवर्तनले विकिरणीय ऊर्जा सन्तुलन र जलवायु निर्धारण गर्ने पानीको आदानप्रदानलाई फेरबदल गरिदिन्छ । बादलले निष्काम सेवा गरिरहन्छ । बादलले आफ्नो धर्म अविचलित पालना गरिरहन्छ ।
तर हामी बादललाई आफ्नो काम अप्रतिबन्धित सम्पादन गर्न कहाँ दिन्छौँ र ! हामी आकाशलाई विभाजन गरिदिन्छौँ । हामी देशका सिमानाका सङ्कुचित घेराभित्र आकाशलाई कैद गरिदिन्छौँ । त्यसैले त म चढेको जहाज भारतको आकाश हुँदै उड्छ । पाकिस्तानको आकाश हुँदै उड्छ । र मध्यपूर्व पुगेर विश्राम गर्छ । यसरी आकाश सँगसँगै हामी बादलको एकीकृत साम्राज्यलाई टुक्रा टुक्रा परिदिन्छौँ । बादल त वायुमण्डलीय हावाको गतिबाट उत्पन्न हुने न हो । यो हावाको गतिलाई फेरि बादलको विकिरणीय र अव्यक्त तापले प्रभावित गर्दछ । यो प्रभाव-समीकरणको निर्माण र कार्यान्वयन प्रक्रिया बादलको आफ्नो धर्म हो । तर हामी यो समीकरणलाई भत्काइदिन्छौँ । हामी वायुमण्डल र बादलको संसारलाई डम्पिङ साइट बनाइदिन्छौँ । मानवीय लाचारी र लापरवाहको डम्पिङ साइट । द्वेष र महत्त्वाकाङ्क्षाको डम्पिङ साइट । अशिक्षा र अहङ्कारको डम्पिङ साइट । षड्यन्त्रको सिद्धान्त र अज्ञानताको डम्पिङ साइट । सीमाहीन भौतिक अमनचैन र विलासिताको डम्पिङ साइट । मानव-विरासत विसर्जनको डम्पिङ साइट ।
आज स्निग्ध बादलका टुक्राहरू विषाक्त भएका छन् । खतरनाक भएका छन् । नाइट्रोजन डाइअक्साइड । कार्बन मोनोअक्साइड । सल्फर डाइअक्साइड । पार्टिकुलेट म्याटर । कति दूषित छ बादलको संसार । कति आक्रान्त छ वायुमण्डलको दुनियाँ । आज शीतल बादलका झुन्डहरू उष्ण ऊर्जाका प्याकेज भएका छन् । कार्बन डाइअक्साइड । मिथेन । नाइट्रस अक्साइड । मानव सिर्जित फ्लोरिनेटेड ग्यासहरू । यी सबैले एकसाथ धावा बोलिरहे छन् मानव सभ्यतामाथि । पृथ्वीको अस्तित्वमाथि ।
म उडिरहेछु बादलको संसारमाथि । यो संसार मानव जीवनको लागि प्रतिकूल संसार हो । दुर्गम संसार हो । तर जहाजभित्र चाप समायोजित छ । वातावरण अनुकूलित छ । यो आजको आवश्यकता हो । आजको अपरिहार्यता हो । भोलिका हाम्रा आवश्यकता कस्ता हुँदा हुन् ? भोलिका हाम्रा अपरिहार्यता कस्ता हुँदा हुन् ? तातो कफीको चुस्कीसँगै सोचिरहेछु, म सवार यो बडेमानको हवाई हंसले मेरो प्रिय बादलसँग खेलबाड गरिरहेछ । जहाज र बादलको बहुआयामिक सूक्ष्म भौतिकीको अध्ययनले देखाएको छ विमानहरूले वर्षा र हिमपातलाई दस गुणासम्म बढाउन सक्छन् । फेरि सम्झन्छु, हाम्रा आवश्यकताहरू यसरी नै घातीय रूपमा वृद्धि हुँदै जाने हो भने कहाँ पुग्छौँ होला हामी ! हाम्रा पारिस्थितिक पदचिह्नहरू यसरी नै वृद्धि हुँदै जाने हो भने कहाँ पुग्छौँ होला हामी !
अँध्यारो भएको छ क्षितिज र ओझेल परेका छन् बादलका टुक्राहरू । तिहारको रौनक सुरु भएको छ काठमाडौँमा । यही छतमा बसेर नियाल्छु चारै दिशा । धपक्कै बलेको छ यो संसार । चमकदार-रङ्गीचङ्गी बत्तीहरूको उज्यालो फैलिएको छ दूर दूरसम्म । यो संवर्धित वास्तविकताको आधारशिला त्यही वायुमण्डल त हो । त्यही बादल त हो । त्यही हिउँ त हो । वायुमण्डलले यो उज्यालोमा आफ्नो भाग खोज्यो भने हामी के भन्छौँ होला ? बादलले यो उज्यालोमा आफ्नो भूमिका खोज्यो भने हामी के भन्छौँ होला ? हिउँले यो उज्यालोमा आफ्नो अधिकार खोज्यो भने हामी के भन्छौँ होला ?
हात्तीवन-गोदावारी सडक क्रमशः सुनसान हुँदै छ । छेवैमा कर्कश आवाज निकालेर भुकिरहेछन् कुकुरहरू । भोलि त कुकुर तिहार हो । लक्ष्मीपूजा पनि भोलि नै हो । झन्डै पन्ध्र वर्षपछि नेपालमा तिहार मनाउने अवसर जुरेको छ । तर मन भने घर पुगेको छ । मेरो हुर्कँदै गरेको सानो छोराले तिहारको यो झिलिमिली देख्नु भने के भन्थ्यो होला ? तिहारको झिलिमिली र क्रिसमसको झिलिमिलीमा कस्तो समानता भेट्थ्यो होला ? कस्तो अन्तर भेट्थ्यो होला ?
म आफ्नो अपार्टमेन्टमा फर्कन्छु र छोरालाई मेसेन्जरमा कल गर्छु । बाहिर गएर उज्यालो काठमाडौँ देखाउँछु । म देख्छु धपक्क बलेको काठमाडौँभन्दा कैयन गुणा देदीप्यमान छ मेरो छोराको अनुहार । ऊ यो साता स्कुलमा आयोडिन ट्याब्लेटको बारेमा कुरा भएको सुनाउँछ । मन डरले थर्र काँप्छ । जारी रसिया-युक्रेन युद्धले सबैलाई सन्त्रासपूर्ण वातावरणमा बाँच्न बाध्य बनाएको छ । सबैभन्दा ठुलो त्रास रसियाले युक्रेनमाथि आणविक शक्ति प्रयोग गर्छ कि भन्ने हो । यदि यस्तो भयो भने आणविक दुर्घटनाबाट उत्सर्जित रेडियोधर्मी आयोडिन टाढा-टाढासम्म फैलने छ । यो हाम्रै घरसम्म पुग्न सक्छ । त्यसैले नर्वेजियन स्वास्थ्य निर्देशनालयले किन्डरगार्टन र विद्यालयका बिस वर्ष मुनिका बालबालिकालाई आयोडिन ट्याब्लेट वितरणको लागि नगरपालिकालाई सामान्य तयारी गर्न भनेको छ ।
सन् १९८६ मा भएको चेर्नोबिल आणविक दुर्घटनाले एउटा कठोर पाठ पढाएको छ । चेर्नोबिलबाट उत्सर्जित सिजियम र अन्य रेडियोधर्मी आइसोटोपहरूबाट रसिया, बेलारूसलगायत स्क्यान्डिनेभियाका देशहरू र विश्वका अन्य भागहरू प्रभावित भएका थिए । आज युक्रेनमाथि रसियाको आक्रामकता बढेको छ । पुटिन बारम्बार आणविक दुर्घटनाले घातक परिणाम निम्त्याउने धम्की दिइरहेका छन् । यदि त्यस्तो केही भइहाल्यो भने यिनै बादलका टुक्राहरूको बाटो भएर कहाँ कहाँसम्म पुग्ने हो रेडियोधर्मी विकिरण !
प्रत्येक दिन जसो मेरै घरको छेउको तेल प्रशोधन केन्द्र वरिपरि ड्रोन उडेका समाचार आइरहेछन् । देशका फार्मेसीहरूमा आयोडिन ट्याब्लेटको अभाव भएको सुनिन्छ । रसियासँग जोडिएको उत्तरी सीमामा सुरक्षा सतर्कता बढाइएको छ । देशभित्र रसियनहरूले जासुसी गर्छन् भन्ने भाष्य व्यापक भएको छ । कति जना पुर्पक्षको लागि थुनामा छन् । हुनै नपर्ने कति धेरै कुरा भएका छन् । टी.भी स्क्रिनमा खोलिएको अनलाइन पत्रिकाभरि यही युद्धका समाचार छन् । युक्रेनी सीमा नजिकै रसियाको रोस्तोभ क्षेत्रमा नागरिकहरूको हतियार प्रशिक्षणमा सामेल एक वृद्धामा पुगेर टक्क रोकिन्छन् मेरा आँखा । म छोरालाई पुलुक्क हेर्छु । मसँग जिस्किँदै नाचिरहेको छ ऊ । बाहिर हेर्छु । चमकदार बत्तीमा ज्योति त्यसरी नै नाचिरहेको छ । क्षितिज अँध्यारो छ । बादल कतै देखिँदैन । मलाई रोमाञ्चित बनाउने यी बादलका टुक्राहरू रेडियोधर्मी विकिरण बोकेर अदृश्य उड्न थाले भने ? यसरी उड्दै उड्दै यिनीहरू उत्तरतिर लागे भने ? त्यो सुन्दरताले म जस्तै रोमाञ्चित भएर मेरो छोरो पनि बादलका टुक्राहरूसँग एकाकार हुन खोज्यो भने ? किन क्रमशः फरक बन्दै छ हाम्रोभन्दा हाम्रा सन्तानहरूको संसार ?
युद्ध भूमिमा परिणत भएका निर्दोष युक्रेनीहरूका घर-आँगन सम्झन्छु । बमका छर्राले छिया-छिया भएका मानव शरीर सम्झन्छु । बारुदी धुवाँले कुरूप बनेका मानव अनुहार सम्झन्छु । आफ्नै घरको भग्नावशेषमा पुरिएका मान्छेको चित्कार सम्झन्छु । सामूहिक चिहानबाट निकालिएका साढे-गलेका लास सम्झन्छु । चिरा चिरा भएर ढल्दै गरेका विद्यालय-अस्पतालका भवन सम्झन्छु । सम्झन नपर्ने, सम्झन नहुने सबै कुरा सम्झन्छु । लेख्न नसकिने अनेक कुरा सम्झन्छु । के कन्चन लाग्ने यी बादलका टुक्राहरू बारुदी धुवाँ बोकेर हिँडेका छन् ? के निर्मल लाग्ने यी बादलका टुक्राहरू दूषित छन् ? विषाक्त छन् ? के निर्दोष लाग्ने यी बादलका टुक्राहरू मानव रोदन-क्रन्दन-चित्कारले तृप्त भएर सामूहिक हर्षोल्लास गरिरहे छन् ? आँखा बन्द गर्छु र हृदाकाशमा नियाल्छु । अघिका बादलका मनमोहक आगारहरू, अद्वितीय पुष्प-बाटिकाहरू, सुन्दर पुष्प-गुच्छाहरू, मायालु प्रेयसी आकृति सबै सबै रूपान्तरित हुन्छन् । केही पाषाण हृदयी सैनिकमा । केही नरभक्षी एके ४७ मा । केही मिजाइलमा । केही बममा । केही बमवर्षक विमानमा । केही फाइटर जेटमा ।
मेरो हृदयभरि सम्मोहन भर्ने निष्कलङ्क बादलका टुक्राहरूसँग मलाई बेहद डर लाग्छ ।