नाङ्गो खुट्टाद्वारा ज्योति : सेवा, संघर्ष र डा. सन्दुक रुइत
देवी पोखरेल
एड्लेड, अष्ट्रलिया
मेरो किताब पढ्ने नशाको एक अम्मल स्वरुप मैले डा. सन्दुक रुइतको जीवनी Barefoot Surgeon भर्खरै पढेर सकेँ। एक असाधारण शल्यचिकित्सकको जीवनलाई गहिराइ र संवेदनासहित प्रस्तुत गर्ने अष्ट्रेलियन पत्रकार तथा लेखक एलि ग्रिपर लाई मेरो हार्दिक धन्यवाद जसले यी पद्मश्री र एसियाको नोबेल पुरस्कार भनेर चिनिने रोमन म्यागसेसे पुरस्कार प्राप्त गर्ने महापुरूसको कथा लेख्ने साहस गर्नु भयो। यस जीवनीलाई नेपाली भाषामा ल्याएर अझ नजिक, अझ आत्मीय बनाउने लेखक खगेन्द्र संग्रौला प्रति पनि उत्तिकै कृतज्ञ छु। केही वर्षअघि मैले ABC Australia का Richard Fidler सँग डा. रुइतको Conversations कार्यक्रममा, ABC Radio National मार्फत, Barefoot Surgeon प्रकाशित भएपछि गरिएको अन्तर्वार्ता सुनेको थिएँ। उहाँको शान्त आत्मविश्वास, आत्मप्रशंसा नगर्ने स्वभाव, र सेवाप्रतिको स्पष्ट दृष्टिकोणले मलाई गहिरो रूपमा छोएको थियो।
यस भन्दा अघि पनि डा. सन्दुक रुइत का बारेमा धेरै नै पढेको र सुनेको भए पनि, त्यस अन्तर्वार्ता सुने पछि यो पुस्तक पढ्ने इच्छा मनमा बसेको थियो। अन्ततः मैले यसको नेपाली संस्करण रोजेँ, किनकि डा रुइतलाई नजिकबाट अनुभूत गर्न चाहन्थेँ। यो कुनै पेशागत समालोचना नभई एक सामान्य पाठकको व्यक्तिगत प्रतिक्रिया हो। यस प्रतिक्रियामा मलाई रोचक लागेका प्रसंगहरु धेरै हुदाँहुदै पनि सबै समेट्न असमर्थ छु।
डा. रुइतको जीवन ओलाङचुङगोला जस्तो दुर्गम भूगोलबाट सुरु हुन्छ, जहाँ स्वास्थ्य सेवा कुनै व्यवस्थित प्रणालीको रूपमा उपस्थित थिएन भन्नु अतिशयोक्ति हुँदैन। उहाँ जन्मिनुअघि नै हैजाले उहाँका दाजुको ज्यान लिएको थियो। पछि उहाँकी बहिनी याङ्ला क्षयरोगका कारण बितिन्। यी घटनाहरू व्यक्तिगत दुःखका प्रसंगका चोटहरुसँगै संरचना, पहुँच र अवसरको गहिरो अभावका परिणाम हुन्। त्यस्ता समाजमा रोग र मृत्यु आकस्मिक हुँदैनन्। ती नियमित यथार्थ हुन्। यस जीवनीले दुःखलाई रोमान्टिक बनाउने प्रयास गर्दैन। यसले देखाउँछ कि अभावले बाल्यकालमै चेतना र अवसरको निर्माण कसरी गर्छ, जो म लगायत म जस्ता हजारौं भूटानी युवाहरुलाई थाहा छ।
बुवाले देखेको शिक्षाको सपनाका लागि डार्जिलिङ पुग्न सात दिन पैदल हिँड्नु, त्यहाँ छोडिनु, र वर्षौँसम्म अभिभावक नदेख्नुले उहाँको जीवनमा गहिरो मनोवैज्ञानिक प्रभाव पारेको थियो। एक्लोपन, बिरामी हुँदा साथ नहुनु, र आफैंसँग जुध्नुपर्ने अवस्था बाल्यकालमै आयो। यस्तो अनुभवले मानिसलाई या त भित्रै बन्द गराउँछ, या संसारलाई फराकिलो दृष्टिले बुझ्न सिकाउँछ। डा. रुइत दोस्रो दिशातर्फ अघि बढ्नुभयो। उहाँले दुःखलाई स्वीकार मात्र गर्नुभएन, त्यसको कारण बुझ्नुभयो, र त्यसलाई परिवर्तन गर्ने बाटो रोज्नुभयो। डा. सन्दुक रुइतको यस जीवनीमा सुरुमै यस्ता घटना मार्फत लाभनै भविष्यको उज्यालो र फराकिला क्षितिज हो भन्ने बुझ्न धेरै समय लाग्दैन।
उन्नाइस वर्षको उमेरमा King George’s Medical University मा छात्रवृत्ति पाउनु उहाँको जीवनको निर्णायक मोड थियो। वालुङ समुदायबाट आएका, कुनै सामाजिक पहुँच नभएका युवाका लागि यो उपलब्धि केवल व्यक्तिगत सफलता त थियो नै, संरचनात्मक अवरोध तोड्ने उदाहरण पनि थियो। त्यहाँ उहाँले आफूलाई प्रमाणित गर्नुपर्यो। उहाँले अनुशासन, निरन्तर अभ्यास र जिज्ञासाबाट आफूलाई स्थापित गर्नुभयो। प्रयोगशालामा अतिरिक्त समय लिनु, प्राविधिकहरूसँग सम्बन्ध बनाउनु, शल्यकौशलमा निरन्तर अभ्यास गर्नु उहाँको समर्पणका संकेत हुन्। उहाँको अध्ययन व्यक्तिगत उन्नतिको र व्यक्तिगत जिम्मेवारीको पूर्व तयारी थियो भन्न सहजै सकिन्छ।
यस जीवनीलाई मैले सामाजिक ऐनाबाट नियाल्दा उहाँले नेत्रचिकित्सा रोज्नु उहाँको सामाजिक दृष्टिकोणसँग गहिरो रूपमा जोडिएको निर्णय थियो भन्ने पाएँ। मोतियाबिन्दु जस्तो साधारण उपचारबाट निको हुने रोगले हजारौँ मानिसलाई अन्धकारमा राखिरहेको थियो। समस्या रोगको भन्दा ज्यादा पहुँच थियो। इन्ट्राअकुलर लेन्स महँगो थियो। यही अवरोध हटाउन उहाँले नेपालमै उत्पादनको पहल गर्नुभयो। त्यसको परिणामस्वरूप Tilganga Institute of Ophthalmology स्थापना भयो। तिलगङ्गा यो एउटा डा. रुइतको सोच र दृश्टिबाट परिपूर्ण दुरदर्शिता हो भन्ने छर्लङ्ग देखिन्छ। सेवा सुलभ हुनुपर्छ भन्ने विश्वासको प्रतिरूप यस अलौकिक दुरदर्शितामा देखिन्छ।
बाल्यकालको सँघर्ष र पेशेवर जीवनको सँघर्षलाई अध्ययन गर्दा उहाँमा सँघर्षसंग जिउने अनि उन्नतिशिल रहने खुबी थियो भन्रे चिरतार्थ हुन्छ। तिलगङ्गाको निर्माण कुनै सहज प्रक्रिया थिएन। जग्गा प्राप्त गर्नु नै ठूलो संघर्ष थियो। अन्ततः बागमती नदी किनार, पशुपतिनाथ क्षेत्र नजिकैको दलदली जमिन छनोट गरियो। त्यो जमिन तत्काल प्रयोगयोग्य थिएन। त्यसलाई निर्माणयोग्य बनाउन व्यापक पुनःसंरचना र प्राविधिक सुधार आवश्यक थियो। धेरैले यस्तो स्थानमा अस्पताल बनाउने सोचप्रति सन्देह व्यक्त गरे। कतिपयले यसको व्यवहारिकता नै प्रश्न गरे। तर डा. रुइत र उहाँका सहयात्रीहरूले यो चुनौतीलाई अवसरका रूपमा लिए। उपेक्षित र कमजोर भूगोललाई उपयोगी संरचनामा रूपान्तरण गर्नु आफैंमा एउटा प्रतीक थियो।
सँघर्ष र चुनौति दुबै डा. रुइतको जीवनको प्रेरणाका श्रोत हुन जस्तो लाग्छ। आर्थिक स्रोत सुनिश्चित गर्नु अर्को ठूलो चुनौती थियो। तिलगङ्गा कुनै सजिलो अनुदानबाट बनेको संस्था होइन। यसको लागि निरन्तर प्रयास आवश्यक थियो। Fred Hollows, Fred Hollows Foundation, Les Douglas, र Jagdish Ghimire जस्ता व्यक्तिहरूको सहयोगले यो सम्भव भयो। यो आर्थिक सहयोग त थियो नै यस्का साथै एउटा विश्वासको निर्माण थियो, जसबाट हजारौं निम्नवर्गका आम मानिसको ज्योति वापस हुने निश्चित थियो।
सबैभन्दा गहिरो चुनौती सामाजिक तहमा थियो जसबाट म निकै प्रभावित भएँ। श्रीपशुपति आर्यघाटमा मृतकका परिवारसँग आँखा दानबारे कुरा गर्नु अत्यन्त संवेदनशील विषय थियो। परम्परा र संस्कारसँग जोडिएको विषय भएकाले प्रारम्भमा अस्वीकार र सन्देह स्वाभाविक थियो। तर डा. रुइतले धैर्य राख्नुभयो। उहाँले मानिसहरूलाई बुझाउनुभयो कि मृतकको आँखाले अर्को व्यक्तिको जीवनमा उज्यालो ल्याउन सक्छ। जुन अंग अन्ततः खरानीमा परिणत हुने थियो, त्यसले कसैलाई फेरि देख्ने अवसर दिन सक्छ। विस्तारै समाजमा यो सोच फैलियो। यसले तिलगङ्गालाई दिगो आधार स्तंभ खडा गरिदियो। यो डा. रुइतको सफलताको कोषेढुंगा रह्यो जसले समाज सेवामा दृढताका साथ लाग्ने प्रेरणा प्रदान गरिरह्यो।
दुर्गम क्षेत्रमा सञ्चालन गरिएका शल्य शिविरहरूले समय–समयमा विवाद पनि निम्त्याए। सीमित पूर्वाधार, अपर्याप्त उपकरण र कठिन भौगोलिक अवस्थाबीच ठूलो संख्यामा शल्यक्रिया गर्नु कति सुरक्षित छ भन्ने प्रश्न उठ्नु स्वाभाविक थियो। केही आलोचकहरूले यसलाई असावधानीको रूपमा व्याख्या गरे। कतिपय अवस्थामा यी प्रश्नहरू कानुनी तहसम्म पनि पुगे। तर यहाँ एउटा गहिरो नैतिक प्रश्न उपस्थित हुन्छ—यदि सेवा पुर्याउनु जोखिमपूर्ण मानिन्छ भने, सेवा नै नपुर्याउनु के हो? डा. रुइतले यही द्वन्द्वलाई प्रत्यक्ष रूपमा सामना गर्नुभयो। उहाँले आफ्नो कार्यविधि सुधार्नुभयो, मापदण्ड बलियो बनाउनुभयो, तर मूल उद्देश्यबाट पछि हट्नुभएन। उहाँका लागि दृष्टिविहीन व्यक्तिलाई उपचार नदिनु सबैभन्दा ठूलो अन्याय थियो। आलोचना उहाँको यात्राको हिस्सा बन्यो, तर त्यसले उहाँको दिशा परिवर्तन गर्न सकेन।
तिब्बती भूभागका अभियानहरूले उहाँको कामको दायरा कति फराकिलो थियो भन्ने स्पष्ट पार्छ। उच्च उचाइ, कठोर मौसम, सीमित अक्सिजन र अत्यन्त न्यून पूर्वाधारबीच शल्यक्रिया गर्नु कुनै साधारण काम थिएन। त्यहाँ पुग्न मात्र पनि ठूलो चुनौती थियो। उपकरण बोक्ने, अस्थायी शल्यकक्ष तयार गर्ने, र त्यसपछि सूक्ष्म शल्यक्रिया गर्नु—यी सबै कार्यहरूले शारीरिक मात्र होइन, मानसिक सहनशीलताको पनि माग गर्थे। तर यी अभियानहरू केवल सेवा विस्तार मात्र थिएनन्। यी प्रयासहरूले देखाए कि चिकित्सा सेवा कुनै निश्चित भौगोलिक सिमानामा सीमित रहनु हुँदैन। जहाँ आवश्यकता छ, त्यहाँ पुग्ने क्षमता र इच्छाशक्ति नै वास्तविक सेवा हो भन्ने सन्देश यिनले दिन्छन्।
Barefoot Surgeon को सार उहाँको काम गर्ने शैलीमै झल्किन्छ। नाङ्गो खुट्टाले शल्यक्रिया गर्नु र हल्का संगीत सुन्दै काम गर्नु बाहिरबाट हेर्दा सामान्य वा अनौठो लाग्न सक्छ। तर यसभित्र एउटा गहिरो मनोवैज्ञानिक सन्तुलन छ। शल्यकक्ष प्रायः तनावपूर्ण वातावरण हुन्छ, जहाँ सानो त्रुटिले ठूलो असर पार्न सक्छ। यस्तो अवस्थामा आफूलाई स्थिर राख्न, एकाग्रता कायम गर्न, र वातावरणलाई सहज बनाउन उहाँले आफ्नै तरिका विकास गर्नुभएको देखिन्छ। नाङ्गो खुट्टाले काम गर्नुले उहाँलाई भूमिसँग जोडिएको अनुभूति दिन्छ। संगीतले मनलाई शान्त राख्छ। यसले उहाँको कामलाई प्राविधिक प्रक्रियाबाट माथि उठाएर एउटा मानवीय अभ्यासमा रूपान्तरणको देखिन्छ।
उहाँको नेतृत्व शैली पनि उत्तिकै विशिष्ट देखिन्छ। उहाँले अधिकार देखाएर होइन, विश्वास निर्माण गरेर नेतृत्व गर्नुभयो। सहकर्मीहरूलाई केवल काम गर्न लगाउने होइन, उनीहरूलाई सिकाउने, बढाउने र निर्णय लिन सक्षम बनाउने प्रयास उहाँको कार्यशैलीमा स्पष्ट देखिन्छ। डा. रिता थापा लगायतका धेरै चिकित्सक र कर्मचारीहरूलाई उहाँले आफ्नो कामको निरन्तरता दिने व्यक्तिहरूका रूपमा विकास गर्नुभयो। यसले तिलगङ्गालाई एक व्यक्तिको वरिपरि सीमित हुन दिएन। संस्था एउटा साझा प्रयासमा रूपान्तरण भयो, जहाँ प्रत्येक व्यक्तिको योगदान महत्त्वपूर्ण रह्यो र डा. रूइतले आफू महत्वकाक्षी नभई सम्पूर्ण श्रेय आफ्ना सहकर्मीहरूलाई प्रदान प्रसंगबाट उहाँको सालिनता र नेतृत्वको कदर हर मानिस गर्न कञ्जुसाई गर्दैन।
२०१५ को विनाशकारी भूकम्पले तिलगङ्गाको वास्तविक क्षमता र तयारीलाई उजागर गर्यो। देशभर स्वास्थ्य सेवा प्रणाली प्रभावित भएको अवस्थामा पनि तिलगङ्गाले आफ्नो सेवा निरन्तर राख्न सक्नु ठूलो उपलब्धि थियो। आकस्मिक उपचार, उद्धार, र समन्वयका कामहरू तीव्र रूपमा अघि बढाइए। यस्तो संकटले संस्था निर्माणको वास्तविक अर्थ देखाउँछ। पूर्वतयारी, प्रणाली र समर्पण बिना यस्तो अवस्थामा सेवा निरन्तर राख्न सम्भव हुँदैन। तिलगङ्गाले केवल अस्पतालको रूपमा होइन, संकटमा उभिने संस्थाको रूपमा आफ्नो भूमिका देखायो।
उत्तर कोरिया अध्यायले उहाँको कामलाई गहिरो मनोवैज्ञानिक र मानवीय तहमा बुझ्न मद्दत गर्छ। त्यहाँ अन्धोपन स्वास्थ्य समस्या मात्र नभई सामाजिक असमानता, आत्मसम्मान र व्यक्तिगत पहिचानसँग जोडिएको अवस्था थियो। वर्षौँसम्म अन्धकारमा बाँचिरहेका मानिसहरूका लागि दृष्टि फिर्ता पाउनु जीवनकै नयाँ सुरुवात जस्तै थियो। यस्तो अवस्थामा बिरामीहरूले आफ्नो अनुभवलाई आफ्नै विश्वास प्रणालीभित्र व्याख्या गर्नु स्वाभाविक हुन्छ। त्यसैले उनीहरूले श्रेय राजनीतिक नेतृत्वलाई दिनु आश्चर्यजनक लाग्दैन। डा. रुइतले यसलाई चुनौती दिन खोज्नुभएन। उहाँको ध्यान परिणाममा थियो। मानिसले फेरि देख्न सक्छ भन्ने तथ्य उहाँका लागि पर्याप्त थियो।
हरेक सिमान्कृत भूटानीहरुले यस किताबको मिठासमा रमाउँदा भूटान अध्यायले भने पाठकलाई केही असहज प्रश्नहरूसँग सामना गराउँछ। पुस्तकमा राजपरिवारसँगको सम्बन्ध र शान्त, आध्यात्मिक राष्ट्रको चित्रण गरिएको छ। तर १९९० को दशकमा दक्षिणी भूटानमा भएको दमन र विस्थापनको ऐतिहासिक सन्दर्भ प्रायः अनुपस्थित देखिन्छ। एक भूटानी शरणार्थीका रूपमा यो मौनता गहिरो रूपमा महसुस हुन्छ।
यसलाई सिधै आलोचनाको रूपमा बुझ्नु उपयुक्त नहुन सक्छ। यो पुस्तक मूलतः एक चिकित्सकको जीवन र सेवामा केन्द्रित छ, र धेरै हदसम्म राजनीतिक वा मानवअधिकारका जटिल प्रसङ्गहरूबाट आफूलाई टाढा राखेको देखिन्छ। यस्तो दूरी सम्भवतः सचेत छनोट पनि हुन सक्छ। लेखक एलि ग्रिपर अनि स्वयं डा. रुइत दुवैजना केही सन्दर्भहरूमा खुलेर बोल्न सक्ने स्थितिमा नहुन पनि सक्छन्। विशेष गरी भूटानजस्तो संवेदनशील सन्दर्भमा, जहाँ अन्तर्राष्ट्रिय लेखक, अनुसन्धानकर्ता र संस्थाहरूले धेरैपटक सन्तुलित भाषा रोज्ने गरेको देखिन्छ, यस्तो मौनता पूर्ण रूपमा अनपेक्षित पनि होइन।
मेरो आफ्नै अनुभवले पनि देखाउँछ कि धेरै विदेशी लेखक र शैक्षिक वृत्तका व्यक्तिहरू भूटानप्रति आलोचनात्मक रूपमा प्रस्तुत हुनबाट जोगिने प्रयास गर्छन्, चाहे त्यसको ऐतिहासिक पृष्ठभूमि जटिल किन नहोस्। त्यस सन्दर्भमा यो पुस्तकको मौनता केही हदसम्म संरचनागत वा व्यावहारिक सीमासँग जोडिएको हुन सक्छ।
तर पाठकका रूपमा, विशेष गरी त्यो इतिहाससँग प्रत्यक्ष रूपमा जोडिएको व्यक्तिका रूपमा, यो प्रश्न भने बाँकी रहन्छ—सेवा “सबैका लागि” भन्ने दर्शनले त्यस्ता पीडाका सन्दर्भहरूलाई पनि समेट्नुपर्छ व्यक्तिगत जीवनमा उहाँको समर्पण झन् गहिरो रूपमा प्रकट हुन्छ, विशेष गरी परिवार र पेशागत जीवनबीचको सन्तुलनमा। नन्दासँगको सम्बन्ध, घरको स्थिरता, र बाहिरको निरन्तर सेवा—यी सबैलाई एकैसाथ सम्हाल्नु सहज थिएन। लामो समयसम्म घरबाट टाढा बस्नु, निरन्तर यात्रामा रहनु, र संस्थागत जिम्मेवारी सम्हाल्नुले पारिवारिक जीवनमा प्रभाव पार्न सक्थ्यो। तर उहाँले यी दुई पक्षलाई टकरावको रूपमा लिनुभएन। उहाँले सहअस्तित्वको रूपमा लिनुभयो। उहाँको समर्पण बिरामीप्रति जति थियो, परिवारप्रति पनि उत्तिकै थियो, तर त्यो अभिव्यक्ति परम्परागत ढाँचामा सीमित थिएन।
उहाँको जीवनमा सेवा स्पष्ट रूपमा प्राथमिकतामा थियो। आर्थिक रूपमा अत्यन्त सफल हुन सक्ने अवसरहरू उहाँका लागि खुला थिए। उहाँको सीप र ख्यातिले उहाँलाई सजिलै समृद्ध र सुविधासम्पन्न जीवनतर्फ लैजान सक्थ्यो। तर उहाँले त्यो बाटो रोज्नुभएन। उहाँ लामो समयसम्म भाडाको घरमा बसिरहनुभयो। आफ्नै घर किन्ने निर्णय पनि उहाँको व्यक्तिगत चाहनाभन्दा बढी परिवार र आफन्तहरूको निरन्तर आग्रहपछि मात्र सम्भव भएको देखिन्छ। यसले उहाँको प्राथमिकता प्रस्ट पार्छ। उहाँका लागि सेवा स्थायित्वभन्दा ठूलो थियो।
उहाँको पारिवारिक दृष्टिकोणको अर्को महत्त्वपूर्ण पक्ष उहाँका सन्तानप्रतिको व्यवहारमा देखिन्छ। आफैं एक विश्वप्रसिद्ध शल्यचिकित्सक हुँदाहुँदै पनि उहाँले आफ्ना सन्तानलाई चिकित्सक बन्न प्रेरित गर्न वा दबाब दिन खोज्नुभएन। उहाँले उनीहरूलाई स्वतन्त्र रूपमा आफ्नो बाटो रोज्न दिनुभयो। यो निर्णय केवल उदार अभिभावकत्वको उदाहरण मात्र होइन, यो उहाँको मूल्यसँग जोडिएको छ। पेशा सेवा गर्ने माध्यम हो, पहिचान होइन भन्ने बुझाइ यहाँ देखिन्छ। विडम्बनापूर्ण रूपमा, उहाँको व्यक्तिगत रुचि विपरीत, उहाँका सन्तानमध्ये दुई जनाले चिकित्सा क्षेत्र रोजेका छन्। तर त्यो निर्णय उनीहरूको आफ्नै थियो। यही स्वतन्त्रता दिन सक्नु उहाँको अभिभावकीय परिपक्वताको संकेत हो।
उहाँको आफ्ना आमाबुबाप्रतिको सम्मान र माया पनि उत्तिकै गहिरो छ। बाल्यकालमा भोगेको अभाव र संघर्षले उहाँलाई आफ्नो मूलसँग अझ मजबुत रूपमा बाँधेको देखिन्छ। उहाँको जीवनमा आमाबुबाप्रतिको श्रद्धा भावनात्मक मात्र नभई व्यवहारिक पनि छ। उनीहरूको लागि घर बनाउने निर्णय, उनीहरूलाई नजिक राख्ने चाहना, र उनीहरूको जीवन सहज बनाउने प्रयासले त्यो सम्बन्धको गहिराइ देखाउँछ।
त्यस्तै, उहाँको ससुराली पक्षप्रतिको व्यवहार पनि उल्लेखनीय छ। नन्दासँगको विवाह सामाजिक र सांस्कृतिक रूपमा सहज थिएन। जातीय र परम्परागत मान्यताका कारण प्रारम्भमा अस्वीकार र दूरी थियो। यस्तो अवस्थामा धेरै सम्बन्धहरू टुट्न सक्छन्। तर समयसँगै उहाँले धैर्य, सम्मान र निरन्तर संवादमार्फत ती दूरीहरू कम गर्नुभयो। प्रारम्भमा रहेको असहजता क्रमशः स्वीकार र सम्बन्धमा रूपान्तरण भयो। यसले देखाउँछ कि उहाँको व्यक्तित्वमा पेशागत दृढता साथै पारिवारिक सम्बन्धलाई जोगाउने संवेदनशीलता पनि छ।
उहाँको दाजुभाइबहिनीप्रतिको माया पनि अत्यन्त गहिरो र निशर्त देखिन्छ। बाल्यकालमै गुमाएका दाजुभाइबहिनीको सम्झनाले उहाँको जीवनमा स्थायी प्रभाव पारेको छ। त्यसले उहाँको सेवामुखी दृष्टिकोणलाई आकार दिएको देखिन्छ। अझ भावुक प्रसंग उहाँको हराएको दाजु लाधेनलाहलाई खोज्ने यात्रामा देखिन्छ। वर्षौँसम्म सम्पर्कविहीन रहेको भाईलाई खोज्दै उहाँले विभिन्न माध्यम प्रयोग गर्नुभयो। अन्ततः विदेशमा, अमेरिका–क्यानडा सीमाना नजिक, उहाँलाई पत्ता लगाउनुभयो। त्यतिबेला लाधेनला लागूपदार्थ र मद्यपानको समस्यासँग जुधिरहेका थिए। डा. रुइतले उहाँलाई केवल फेला पारेर छोड्नुभएन। उहाँलाई नेपाल ल्याएर पुनःस्थापना गर्नुभयो, उपचार र सहारा दिनुभयो।
डा. रूइतको जीवन भावनात्मक हिसाबले समानान्तर लाग्छ। एकतर्फ चिकित्सा सेवामार्फत समाजमा परिवर्तन ल्याउने निरन्तर प्रयास – अर्कोतर्फ व्यक्तिगत जीवनमा सम्बन्ध, जिम्मेवारी र मूल्यलाई जोगाउने प्रयास छ। यी दुई धारहरू अलग छैनन्, यी त एकअर्कालाई बलियो बनाउने परिपुरक आधार हुन्।
सार्वजनिक व्यक्ति भएकाले डा. रुइतको जीवन धेरै हदसम्म खुला देखिन्छ, तर यस पुस्तकले त्यस जीवनका पर्दा पछाडिका तहहरूलाई पनि शान्त तर प्रभावकारी ढंगले उजागर गर्छ। अन्ततः, यो पुस्तकले संघर्ष, सेवा र सफलताको परिभाषा पुनः सोच्न बाध्य बनाउँछ। उहाँले व्यक्तिगत उपलब्धिभन्दा सामूहिक प्रभावलाई प्राथमिकता दिनुभयो। पुस्तक बन्द गर्दा मैले एउटा जीवनी मात्र पढेको महसुस भएन। मैले एउटा दृष्टिकोण बुझें। र त्यो दृष्टिकोणले मलाई आफ्नै जीवनतर्फ फर्केर हेर्न बाध्य बनायो।
यो पुस्तक पढ्न सुरु गरेपछि रोक्न गाह्रो हुन्छ। यो एउटा साँचो अर्थमा पेज टर्नर हो, जहाँ प्रत्येक अध्यायले जीवित कथा मार्फत पाठकको भित्र घच्च्याउछ। एक विदेशी पत्रकार ले लेखेको यो जीवनी, त्यो देशबाट आएको आवाज हो जहाँ डा. रुइतसँग गहिरो सम्बन्ध गाँसिएको छ। यसले बाहिरबाट हेर्ने दृष्टि र भित्रको अनुभवलाई एकै ठाउँमा ल्याउँछ।
पुस्तकको आवरणमा देखिने ती निर्दोष अनुहारहरू, जसको दृष्टि पुनःस्थापित भएको छ, हेर्दा आफैं मुस्कान आउँछ। ती अनुहारहरूमा देखिएको उज्यालो र सन्तुष्टि उनीहरूको मात्र होइन जस्तो लाग्छ। यो पुस्तक पढ्दै जाँदा, पाठक पनि बिस्तारै त्यही अनुभूतिमा रमाउछन्। ती निर्दोष अनुहारहरूले आफैंमा यो कथाको गहिरो सार बोकेका छन्। ती मुस्कानहरू व्यक्तिगत खुशीका अभिव्यक्ति मात्र नभई ती डा. रुइतका हात, उहाँको सीप र उहाँको मनले सम्भव बनाएको उज्यालो हुन् जस्तो लाग्छ।

