भानुभक्त आचार्य – नेपाली मन, भावना र जातीय चेतनाका अमर कवि
शिवलाल दाहाल
केन्टकी, अमेरिका

(२११ औँ भानुजयन्तीका सन्दर्भमा साहित्यकार भानु ढुंगानाको संयोजनमा भूटानी समाज विन्डसर, क्यानडाद्वारा आयोजित अनलाइन कार्यक्रममा समीक्षक शिवलाल दाहालद्वारा प्रस्तुत लिखित मन्तव्य यहाँ प्रस्तुत छ।)
भानुभक्त आचार्य – नेपाली मन, भावना र जातीय चेतनाका अमर कवि
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म वि.सं. १८७१ साल असार २९ गते तनहुँ जिल्लाको रम्घा–चुँदीबेँसीमा भएको हो। उनका हजुरबुबा श्रीकृष्ण आचार्यबाटै उनले संस्कृत शिक्षाको प्रारम्भिक दीक्षा लिए। संस्कृतका श्लोक र काव्यहरूको गहिरो अध्ययनले उनको कवित्वलाई गम्भीरता र गहिराइ प्रदान गर्यो, काव्य लेखनतिर अभिमुख गरायाे ।
जीवनको एक निर्णायक मोडमा, उनले एक घाँसीसँगको सानो कुराकानीबाट गहिरो प्रेरणा पाए। घाँसीले “नाम अमर बनाउन” कुँवा खनेको कुरा सुनेपछि भानुभक्तको मनमा पनि केही महान कार्यद्वारा आफ्नो नाम सधैंका लागि अटुट बनाउने अठोट जाग्याे । यही भावनाले उनलाई संस्कृतको रामायण नेपाली भाषामा रूपान्तरण गर्न प्रेरित गर्यो।
त्यो युगमा काव्य र पाण्डित्यको भाषा संस्कृत नै थियो, जसमा सामान्य जनताको पहुँच अत्यन्तै न्यून थियो। भानुभक्तले संस्कृत रामायणलाई सरल र सरस नेपाली भाषामा अनुवाद गरेर नेपाली समाजलाई मात्र साहित्यिक होइन, धार्मिक र सांस्कृतिक एकतामा समेत बाँध्न सफल भए। उनले यस्तो महान काव्यरचना त्यो समय गरे, जब नेपाली भाषाको व्याकरण अझै “गर्भमै” थियो ।
भानुभक्तीय रामायणले पढ्न नजान्ने जनतालाई समेत शिक्षाको ढोका खोलिदियो। वीर रसले भरिएको नेपाली साहित्यलाई उनले भक्ति रसतर्फ मोडिदिए। सुगौली सन्धिपछिको हार र राष्ट्रिय निराशामा डुबेको समाजमा भानुभक्तको काव्यले आत्मगौरव, सांस्कृतिक चेतना र नयाँ सम्भावनाको स्रोत पहिल्याउन सहायता प्रदान गर्याे ।
उनको रामायणको प्रमुख विशेषता भाषिक सरलता, कथा प्रवाहको सहजता, र गहिरो धार्मिक आस्थामा आधारित काव्य तत्व हो। यो ग्रन्थ नेपाली मात्र होइन, विश्वभर रहेका नेपाली भाषाभाषीहरूको एकता र धार्मिक भावनाकाे स्राेत बन्न पुगेकाे छ ।
भानुभक्तले रामायण बाहेक प्रश्नोत्तर, बधुशिक्षा, रामगीता लगायत केही फुटकर कविताहरू पनि लेखेका छन्। तर, त्यो समय नेपालमा मुद्रण सुविधा थिएन। त्यसैले उनका कृतिहरू ओझेलमा परे। पछि ती काव्यरत्नहरूलाई खोजेर प्रकाशन गर्ने महत्त्वपूर्ण काम मोतिराम भट्टले गरे। उनले भानुभक्तको जीवनी खोजे, कविताहरू संकलन गरे र प्रकाशित गराए ।
तर, केही विद्वानहरूले भानुभक्तका नाममा प्रकाशित कतिपय कविताहरू वास्तवमा मोतिराम भट्टकै सिर्जना हुन सक्ने सम्भावना औंल्याएका छन्। कविताका शैलीगत विशेषता र प्रयोगहरूले यसबारेमा सन्देह उत्पन्न गर्दछन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले भानुभक्तलाई “नेपाली साहित्यका सर्वश्रेष्ठ पुरुष” भनेका छन्। उनका शब्दहरूमा:
“सर्वकालीन जनतामा परेको प्रभाव र हृदयस्पर्शीताले काव्यिक श्रेष्ठताको मापन गर्ने हो भने, भानुभक्तको रामायण जत्तिको रचना अरु जच्दैन।”
देवकाेटाकै ‘घाँसी’ कवितामा भने भानुभक्तलाई शुक्रतारा र नेपाली साहित्यका प्रथम ध्वनि भनिएकाे छ । अनि भानुभक्तजस्ता कविलाई जगाउने प्रेरणाका पुञ्ज घाँसीहरू धर्तीमा अनेक जन्मिउन् भन्ने कामना गरिएकाे छ ।
“शुक्रतारा सुन्दर हाम्रा नेपाली हे प्रथम ध्वनि,
यस्ता घाँसी भारी हुन् नेपाली यो गगन मुनी।”
भानुभक्तलाई नेपाली समाजमा चिनाउने सबैभन्दा ठूलो श्रेय मोतिराम भट्टलाई जान्छ। यदि मोतिराम भट्ट नभएका भए, भानुभक्तको साहित्य आज जति प्रसिद्ध र सर्वसुलभ छ, त्यो सम्भव थियो कि थिएन भन्ने सन्देह लाग्छ। किनभने कुनै पनि कुराको समय हुन्छ—त्यो समय पार गर्यो भने त्यसको महत्त्व हराउन सक्छ। आजको पठित समाजमा रामायणले उति महत्व राख्दैन, जुन बेला रामायण छापिएर नेपाली जनमानसमा पुग्यो र घरघरमा प्रेमपूर्वक ग्रहण गरियो। आज त रामायण भानु जयन्तीहरू अनि सम्झना र औपचारिकतामा मात्र सीमित हुन लागिरहेको छ। पढ्ने घटेका छन् । सुन्नेहरू घटेका छन् । कण्ठस्त गर्नेहरूकाे कुरा नगराैँ । त्यो अतीतको गौरव र काव्यिक मर्मलाई के नयाँ पुस्ताले ग्रहण गरेर अघि बढ्न सक्छ त? कि त्यो केवल सांस्कृतिक विरासतका रूपमा मात्र रहने हो? यही प्रश्नकाे कठघरामा आज हामी उभिएका छाैँ ।
भानुभक्तको जन्म नेपालमा भए पनि नेपालभन्दा भारत, भुटान, बर्मातिर उनलाई केही बढी महत्त्व दिइएको देखिन्छ। राजनीतिका कारण जातीय अस्तित्व संकटमा परेपछि, जातीय एकता र चिनारीको प्रतीकका रूपमा भानुभक्त उभिन्छन्। विशेष गरेर भारतमा राजनैतिक संवेदनशीलताका कारण पनि भानुभक्तलाई कविभन्दा बढी जातीय पहिचानका नायकका रूपमा हेरिन्छ।
भारतमा भानुभक्त आचार्यप्रति गहिरो श्रद्धा र सम्मान छ। उनको पहिलो सालिक दार्जिलिङमा स्थापना गरिएको थियो। दार्जिलिङ, सिक्किम, कालेम्पोङ, असाम, मेघालय, मणिपुर, हिमाचल प्रदेश लगायत नेपाली भाषाभाषी बसोबास गर्ने क्षेत्रहरूमा भानु जयन्ती सांस्कृतिक पर्वका रूपमा मनाइन्छ। सिक्किममा त भानु जयन्तीको दिन सरकारी बिदा नै दिइन्छ। यी क्षेत्रहरूमा भानुभक्तलाई जातीय एकता, नेपाली भाषाको गौरव र सांस्कृतिक परिचयका प्रतीकका रूपमा मानिन्छ।
भुटानमा भने सरकारी नीतिका कारण भानु जयन्ती सार्वजनिक रूपमा मनाइँदैन। तर, संसारभर छरिएर रहेका नेपाली भाषी भूटानी समुदायले भानु जयन्तीलाई हर्षोल्लासका साथ मनाउँदै आएका छन्। यस दिन कविता, गजल, नृत्य, भजन, रामायण वाचनजस्ता कार्यक्रम आयोजना गरिन्छन्। सामाजिक सञ्जालमा आदिकविको योगदान स्मरण गरिन्छ ।
भानुभक्तले विद्रोहका नारा दिएनन्, तर उनको साहित्यले केही हदसम्म सामाजिक चेतना जगाउने काम गर्यो। ‘घाँसी’ कविताले नै पनि जीवनमा असल कर्म गर्नुपर्छ भन्ने प्रेरणा दिन्छ। जेल जीवनका अनुभवमा आधारित सरकारी कार्यालय र अदालतका कार्यशैलीप्रति उनले कटाक्ष गर्दै लेखेका कविताहरू आज पनि सान्दर्भिक छन् । नेपाली समाजकाे भाेलिवादी चरित्रकाे उबेला नै भानुभक्तले खण्डन गरेका थिए । उनको काव्यमा आध्यात्मिक शिक्षा, पूर्वीय जीवनदर्शन र भक्ति रस छ। उनले नेपाली कवितालाई एउटा आत्मीय स्वर, एक सरल तर गहिरो काव्यिक लय दिए। उनको रामायणलाई नेपाली जनजिब्रोले यसरी समात्यो कि अनेक पाठकले अनेक लयमा त्यसलाई पढ्न सक्छन्। रामायणको लय, भाव र कथाको मर्मले नेपाली समाजमा गहिरो प्रभाव पारेको छ—यसमा नेपाली समाजको आदर्श र धार्मिक मान्यता जोडिएको छ।
भानुभक्त केवल अनुवादक थिएनन् । उनका मौलिक सिर्जनाहरूमा अनुप्रासयुक्त भाषा, प्रकृतिको चित्रण र जीवनोपयोगी शिक्षाहरू अन्तरनिहित भएर आएका छन् । त्यसैले उनी साहित्यका मात्र होइन, आम नेपाली जनताको श्रद्धा, सम्मान र आत्मिक प्रेमका पात्र बन्न पुगेका छन्।
जब–जब नेपाली जातीय अस्तित्व संकटमा पर्छ, तब हामी भानुभक्तलाई सम्झन्छौं। उनी नेपाली मन, नेपाली भाषा र नेपाली संस्कृतिका स्थायी आधार हुन्। उनी साँच्चै नेपाली पहिचानका स्तम्भ, जातीय चेतनाका संवाहक र अपठितहरूको लागि शिक्षाकाे पाठशाला थिए/ हुन्।
भानुभक्तीय रामायण त्यो अद्भुत काव्य हो जुन अक्षर नचिनेका जनताले समेत सुनेर कण्ठस्थ गर्न सक्छन् /सक्थे । एक समय थियो, जब गाउँघर, चौतारो, गोठघरमा रामायण वाचन हुन्थ्यो—शिक्षाको मात्र होइन, आत्मिक जागरण र मनोरञ्जनको साधनका रूपमा। यही नै भानुभक्तीय रामायणको शक्ति हो, अनि यही नै उनको अमरत्वको आधार हो।
र अन्त्यमा—तलका पंक्तिहरू कसका हुन्, थाहा छैन। तर यिनै शब्दमार्फत् म भानुभक्तलाई सम्झिँदै श्रद्धानत शिर झुकाउँछु र बिदा हुन्छु—
“खोज–खोज को कहाँ थिए,
नेपालीका जाति जो हुन्,
जो जहाँ जहिले थिएँ…”
धन्यवाद।
