भूटान र भूटानीहरु

जलन भण्डारी एडलेड अस्ट्रलिया झापा र मोरङका शिविरहरुमा, निभ्न लागेको आशा रूँगेर, हेरिरहेछन् कैयौं भूटानीहरु, नेपाल – भूटान – भारतका त्रिकोणात्मक चरित्रहरुलाई । हरेक दिन यहाँ, परराष्ट्रको कोनि को आऊँछ, हरेक रात चिसो बगरको मुटु छुने चिसो सिरेटो चल्छ तर पनि मनको दियो बल्छ । संस्थाद्वारा दिइएका औपचारिक कोसेली र प्रसादहरु खाएर हरपल चाउरिंदै चाम्रिदै जसो तसो बाँचिरहेछन् काठ भएर आजसम्म तिनै शिविरहरुमा । झिनो आशाको दियो बालेर स्वदेश फरकने आशा कोरेर एसियाको छातीमा आँसु पोख्दै, अनुहारभरि रोदन नै रोदन, शरीरभरि पीडा नै पीडा बोकेर । पीरको पोको शिरानीमा राखे झैं जसो तसो जिन्दगीको ईजार कस्दै रित्तो आशाको झोली बोकेर, कहिले सोच्ने शक्ति हराएर, बाँचिरहेछन् काठ भएर भूटानीहरु । कहिले सोच्दा सोच्दै मस्तिष्क गुमाएका, कहिले माग्नेको रुपमा हेरिएका, कहिले बाँच्नलाई आफै बेचिएका, जन्मभूमिको प्रगाढ माया बोकेर भौतिक र मानसिक पीडा खपिरहेछन् । भग्नावषेश त्यो अतितको आफ्नै पीडाको पोको छोप्दै दयनीय हाँसो हाँसिरहेछन् विभिन्न राष्ट्रका राजा, राष्ट्रपति र मन्त्रीहरु हसाउनलाई । हरिया वन जंगलमा ढकमक्क लालीगुराँस फुल्दा, मेरा हजुरबा भन्नुहुन्थ्यो- पूर्खाले रगत-पसिना बगाएको यो हाम्रो जन्मभूमि हो भनेर । तर खोइ त !!! अंगालो हालेर साथीभाइसंग हाँसखेल गर्दै भूटानी स्रोतको लय गुन्जाउँदै चिसो हिँउको बुट्टा भरेर थिम्पुमा पानी उमालनु पर्ने, मानवीय प्रजातन्त्र ल्याउनुपर्ने तर यो निरंकुश राजधानीमा बख्खुको तान कसेर कालो निरंकुश शासन गुड्छ, प्रजातन्त्र हुनुपर्ने भूमिमा क्रान्तिकारी युवा कारागारमा रून्छ । अझ विदारक त, हाम्रा राजनैतिक ठेकेदारहरु कोही काठमाण्डौ शहरमा निदाएछन्, कोही भारतीय शहरका ठूला ठूला महलमा निदाएछन् अनि अरु केही विश्व ट्रेडका फाँटमा बिजिनेसका लहरा तान्दैछन्, उता भूटानका उजाड खेतबारीमा मने र धनेको अभावमा टारी खेतका कुलाहरु सुकेछन्, वनकरहरु पो धनी भएछन् तर वर्षौंदेखि आतुरिएका मनहरु यो पुनर्वासको सिलसिलाले सेलाइसकेछन् ।

One Reply to “भूटान र भूटानीहरु”

  1. Yudhisthir Subedi (Americanay Sailo)

    पुरानो घाउलाई नया ढंगमा कोट्याई यो बबैरागी मनलाई केहि समयको लागि धैरिये धारण गराउनु भय्र्कोमा
    तपाईलाई धेरै-धेरै धन्यवाद . . मैले पराए येस्ता सबै लेखहरु पदने गरेको छु …….येस्तई आफ्ना गुनाशाहरुलाई
    आफ्नै भासमा प्रकट गर्दै जाने हो भने तपाइलाई एकदिन पक्कै सफलता मिलने छ भन्ने हाम्लाई लगिरहछा .

Leave a Reply

Your email address will not be published. Required fields are marked *