भुटान- नेपाल मैत्री सम्बन्ध
विष्णु लुइँटेल
हेरिस्बर्ग, पेन्सलभेनिया

एसिया महादेशको दक्षिणपूर्वमा पर्ने राष्ट्र “भुटान” महाभारत पर्वत श्रृङ्खलाको काखमा अवस्थित छ। यसका छिमेकी मुलुक पूर्व र दक्षिणमा विशाल राष्ट्र इन्डियाको अरुणाचल र असम राज्य पर्दछन् भने पश्चिममा पश्चिम बङ्गल र सिक्किम प्रान्त पर्दछन् । उत्तर दिशातर्फ भने विशाल शक्ति सम्पन्न राष्ट्र चीनको तिब्बत प्रान्त वारपार भएर बसेको छ । भुटान हिमाली प्रान्तको एक सुन्दर तथा स्वतन्त्र देश हो । छिमेकी राष्ट्रसँग यसको परापूर्व कालदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको पाइन्छ ।इन्डियाको ब्रिटिस कम्पनी सरकारले भुटानको दक्षिणी भेगमा भने धेरै समतल जमीन छिनिदियो । यस कारण शान्ति तथा मैत्रीपूर्ण सम्बन्धमा भुटानले छिमेकी मुलुकसँग पटक पटक सन्धि सम्झौता गर्नु पऱ्यो । यस क्रममा तेस्रो मुलुक नेपालसँग भने भुटानले प्रगाढ सम्बन्ध राखेको कुरा इतिहासमा जीवित छ।
भुटान र नेपालको प्राचीन कालदेखि रहिआएको सम्बन्धको बारेमा हुँदै आएको अनुसन्धानबाट प्राप्त प्रमाणहरू र बुढापाकाहरूको भनाई अनुसार तत्कालीन गोर्खाका राजा राम शाह र भुटानका समकालीन धर्मदेव नावाङ नामगेलको शासनकालमा सन् १६२४ मा गोर्खा राज्यमा नै भएको थियो। त्यस यता प्रतापी नामगेलले आफ्नो देशको भविष्यका लागि छिमेकी राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध राखी देश विकास गर्ने दरिलो निर्णय लिएर उनी तेस्रो राष्ट्र हालको नेपाल तत्कालिन अवस्थाको गोर्खा राज्यमा आएका थिए। राजा राम शाह र नामगेलको भेटपछि यी दुई देशबीच सम्बन्ध अक्षुण्ण राख्ने लालमोहरको आदानप्रदान समेत भयो। अवतारी नामगेलका आशीर्वादले गोर्खामा प्रस्ताव र प्रभाव अझ बढेर गएको भन्ने भनाइ प्रशस्त पाइन्छ । धर्मदेवको मुलुक भुटानको विकास र रक्षा गर्न भुटान- नेपाल बीच सुमधुर सम्बन्ध कायम राख्न राजा राम शाहले नामगेलको आग्रहलाई स्वीकार गरी ४० -५० घर रैती गोर्खाको कानुन र आफ्नो माना-पाथी सहित भुटानलाई दिएका थिए । विसुन थापा मगरको नेतृत्वमा भुटान लगिएका ती रैतीहरुमा कामी , दमाई , सार्की , गुरुङ, तामाङ , क्षत्री र बाहुनहरू थिए भन्ने प्रमाण पाइन्छ। ती गोरखाबाट भुटान लगिएका नेपाली गोर्खालीहरुलाई तिस्टा नदीदेखि पूर्व र पश्चिमको गाथा प्रान्तका क्षेत्रमा बस्ती बसाएर राखेको समेत इतिहासले बताएको छ ।
त्यसरी नै काठमाडौँका राजा शिवसिंह मल्लको कार्यकालमा पनि भुटानका जोङ र गुम्बा बनाउन केही सिकर्मी , डकर्मी , धातु र काठका मूर्तिकारहरू पनि भुटान लगिएका थिए । बुढापाकाको भनाइ अनुसार मगरजोङ र अरु थुप्रै गुम्बाहरूको निर्माण तिनै सिकर्मी र डकर्मीहरुले गरेका थिए । धेरै पुस्तासम्म उत्तरी भुटानको पारो जिल्लामा बसोबास गरेपछि दक्षिणको चिराङ जिल्लातिर बसैं सरेका थिए भन्ने इतिहासहरु पाइन्छन् । १६४० मा नावाङ नामगेल पुनः काठमाडौँ आएर राजा डम्बर शाहसित भेटघाट गरी दुई राष्ट्र बीचको सम्बन्धलाई सुदृड राख्न र आफ्नो मुलुकमा घना बस्ती बसाउने विषयलाई अघि सार्दै त्यसपटक पनि काठमाडौँ र गोर्खाबाट धेरै घर गोर्खालीहरू भुटान लगिएको थियो। त्यसबेला नामगेलले स्वयम्भुनाथको जीर्णोद्धार गरी नयाँ चैत्यको समेत स्थापना गरेका थिए ।
भुटान र नेपालबीच घनिष्ठ सम्बन्ध कायम गर्ने क्रममा भुटानका धर्मराजा र देवराजा चुनिएपछि ती प्रतिनिधिले गोर्खा दरबारको र स्वयम्भूनाथ चैत्यको दर्शन गरी हजार बस्ती बालेर आशीर्वाद मागेपछि मात्र भुटान फर्केर कार्यभार बहन गर्नुपर्ने जस्ता सर्तहरु पनि राज्य सञ्चालन प्रणालीमा १६४० देखि सन् १८१३ सम्म रही आएको इतिहास पाइन्छ ।
गोर्खाका राजा राम शाहको सन् १६३६ मा देहावसान भयो। त्यसपछि गोर्खामा नरभुपाल शाह राजा वंशानुगत राजा बने । नरभुपाल शाहले भुटानका अवतारी धर्मराजा लोपा लामाको शक्ति र गुणको कदर गर्दै गोर्खामा निम्त्याई आफ्नो सन्तान नभएको जाहेर गरेको र उहाँको शुभ आशीर्वादले श्री ५ बडा महाराजा धिराज पृथ्वी नारायण शाहको जन्म भएको हो भन्ने किमवदन्ति पनि उत्तिकै महत्वपूर्ण छन्। यसै खुसियालीमा राजा नरभुपाल शाहले भुटानका धर्मराज लोपा लामालाई गोर्खाको नकथली गुम्बा समेत सौम्पिएका थिए । त्यस समयमा गरिएको तामापत्रको यथार्थ प्रतिलिपि यस प्रकार छ।
धर्मराजाले वरदपुत्र प्रतापी र शक्तिशाली हुन्छ भनी दिएको लिखित आशीर्वादले प्रभावित भई नरभूपाल शाहले त्यो वरदान पूरा भएकोमा मेरा छोराको राज्यको जे कुरा पनि दिने भनी लालमोहर गरिदिएका थिए । यसरी भुटान र नेपाल बीचको सम्बन्ध अक्षुण्ण रहँदै आएको थियो। धर्मराजाका वरदानपछि जन्मिएका श्री ५ बडा महाराजा पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्दा पनि भुटानका धर्मराजलाई गोर्खामा निम्त्याइकन परम पवित्रबाट आशीर्वाद र शक्ति मागेका थिए । यसपछि मात्र उनले नुवाकोट र नेपालखाल्डो विजय गरेका हुन् भन्ने इतिहास पाइन्छ ।
यसरी भुटानका धर्मराजा र गोर्खाका राजा नरभुपाल शाहको दोहोरो सम्बन्ध र लालमोहरको आदानप्रदान थाहा पाएपछि श्री ५ बडा महाराजा पृथ्वीनारायण शाह खुसी भएर धर्मराजाको सदिच्छा अनुसार स्वयम्भुनाथको पूजा अखण्ड धुपदीप गराई सदावर्त समेत धर्मराजकै तर्फबाट चलाउन र उनीहरूका सन्तान रहेसम्म गुरुका शिष्य जस्ता भई मैत्री बढाउँदै लान स्वयम्भुनाथ चैत्य गुम्बा , २० खेत , हाकु गाउँ , नकथली , किरिङ डाँडागाउँ , भुमारी गाउँ, चिलाउने बेसी , लप्सीबोटे , पाखरी डाँडा , बिरल्पा डाँडा , कात्तिके आदि र मठ मन्दिर सन् १७७८ ( असार वदी १३ रोज ४ दिन ) मा लालमोहर गरी धर्मराज लोपा लामालाई पृथ्वीनारायण शाहबाट चढाइयो।
यो मात्र नभएर श्री ५ बडा महाराजाबाट पूर्वी नेपालका ६ वटा र पश्चिम नेपालका ६ वटा गरी जम्मा ( पुँडी गुम्बा , चरिकोट गुम्बा , बिच्याखु गुम्बा , बाउथली गुम्बा , नयाँ गुम्बा , नगरे गुम्बा , पेटी गुम्बा , हमी गुम्बा , खेता गुम्बा आदि ) १२ वटा धार्मिक गुम्बा समेत धर्मराजको रेखदेख रहोस् भनी सुम्पिएका थिए । ती गुम्बामा भुटानबाटै पुजारी आई पूजा अर्चना गरिन्थ्यो। यसरी श्री ५ बडा महाराजा पृथ्वीनारायण शाहले धर्मराजालाई भुटानको नाममा बक्सिएका ती बस्ती र चैत्य गुम्बाहरूको नेपालका वंशानुगत राजा श्री ५ त्रिभभुवन वीर विक्रम शाहबाट नवीकरण गरिएका प्रमाणहरू पाइन्छन् ।
सन् १८५५ मा नेपालका श्री ५ सुरेन्द्र बिरविक्रम शाह र राणा शासक प्रधानमन्त्री जङ्ग जङ्गबहादुर राणाको समयमा भुटानले भोट वा तिब्बतसँग मिलेर नेपाल माथि धावा गरेको शङ्कामा स्वयम्भूनाथ र गुम्बागुठी सबै जफत गरिए । तर पछि भुटानका देवराजाले आफू भोटसॅग लागेर नेपालसँगको घनिष्ठ एवं सौहार्दपूर्ण मित्रतालाई भङ्ग नगरेको र नगर्ने भनी बिन्तीपत्र दिएपछि सन् १८६१ मा ती सबै गुम्बा आदि जङ्गबहादुर राणाले फिर्ता दिएर लालमोहर समेत नवीकरण गरिदिए।
त्यो साल सम्वत बिनाको तर चैत बदी ११ को सम्भवत विक्रम सम्वत १९१७ को पत्र मा प्रधानमन्त्री जङ्गबहादुर राणालाई श्री ३ बडा महाराज भनी सम्बोधन गर्दै जोङ्खा भाषामा लेखेको बिन्ती पत्रको नेपाली भाषामा अनुवाद यस प्रकार छ …..
“ सिम्भुका पुजारी धर्मा देवाको लामाले गोर्खा र भोटाङको लडाईँमा श्री ३ बडा महाराजाका फौजी देखि तर्सी आफ्ना जग्गामा बस्न नसकी भोटको मुलुक पूर्वतर्फ मोनावाङको जग्गामा बसी भोटको रैतान( रैती) भई रह्याका (रहेका) धेरै छन् । भोटको मुलुकमा सबैलाई फौज जमाउना निमित्त मानिस झिकाउदा धर्माका अगुवा मानिसहरु ल्याएका हुन् । त्यहाँ सरकारका चित्तमा धर्म देवाको सरकारबाट मद्दत दियो हो भनी ठान्नु भई श्री चैत्य सिम्भू र गाउँ जग्गा जमीन सबै गोर्खा सरकारबाट जफत गर्नु भयो । त्यस निमित्त धर्म देवा सरकारका चित्तमा गोर्खा र भोटको लडाई हुँदा बाहेकमा हाम्रो जग्गा जमिन जफत भयो भनी चित्तमा दुख मान्नु भयो । अघि देखि बेहोरा सबै श्री ३ बडा महाराजलाई जाहेरै छ । अघि पनि बिन्ती बिसाएकै हुँ। सिम्भुका पुजारी लामा भोटको बाटो गरी आउँदा बढिया गर्न्या (गर्ने) होइन भनी भोटको बाटो आउन नदिई च्यांगताङ गाउँ( च्या थापु) तरफ पठाएको हो। अघि गोर्खा र धर्मदेवाले श्री ५ गोर्खा महाराज र धर्मदेवाले श्री ५ गोरखा महाराज राम शाहका पालादेखि धर्म देवाका राजा लामा र शिष्य शाखा जस्तो भया देखि ( भएदेखि) लामाका शास्त्रका प्रभावले गोर्खा महाराजाका सन्तान बढी ठूलो प्रताप भएको हुनाले सिम्भुका पुजारी र जग्गा जमिन गाउँसमेत पठाएको हो।श्री ५ गोर्खा महाराजबाटै यति जग्गा जमिन धामी बक्सेका लालमोहरहरू पनि धेरै छन् गोर्खा र धर्मदेवा दुईको एकै चित्त एउटै मत भइरहेको हो। धर्मदेवाले भोटलाई मद्दत दिएको निश्चय होइन । तसर्थ अघिका लालमोहर सनद सवालप्रति विचार राखी पाउँ भन्ने बिन्ती पत्रका साथ प्रमाण खाता सुनको पोका बलिया घोडा समेत चढाएको मिति चैत बदी ११ रोज शुभम…….।
यसपछि डुक्पा लामा क्याम्पगुरुले स्वयम्भूनाथको पूजा चलाउँदै ल्याए र उनको स्वर्गबास पछि गुम्बागुठीको रेख देख र पूजा अर्चना डिमे ग्याल्बो लामा धर्मराजाको नियुक्तिमा लालमोहर लिएर आई कार्य सञ्चालन गरे । यसरी सन् १८५५ देखि १८०६१ (7 वर्ष) सम्म भुटान र नेपाल बीच सम्बन्धमा कालो बादलले ढप्प पारेता पनि रहस्य खुल्न आएपछि दुई देश बीचको मित्रतामा कुनै आँच आएन । सम्बन्ध अझ घनिष्ठ र सुदृढ हुँदै आयो। सन् १८६३ को सुरुतिर जङ्गबहादुर राणाको प्रधानमन्त्री कालमा भुटानबाट सम्बन्ध विस्तारका बारेमा एक प्रतिनिधि मण्डल नेपाल गएको थियो। सो मण्डलीमा टोङ्साका पेनलप उगेन दोर्जी , दक्षिण भुटानका काजी अमर प्रधान , जोङ्गदा कृतिमान बुढाथोकी , गञ्जवीर थापा लगायतका अन्य सदस्यहरु १५ -२० वटा घोडामा सरसौगातसँग नेपाल गई श्री ५ सुरेन्द्र विक्रम शाह र जङ्गबहादुर राणासँग वार्ता गरी केही बन्दुक र सरसौगातका साथै राजनीतिक समर्थन समेत लिएर भुटान फर्किएका थिए ।
सन् १९४३ मा श्री ५ पृथ्वी वीर विक्रम शाहको पालामा स्वयम्भुनाथका पुजारीको रूपमा नियुक्ति पाएका ग्याछो लामालाई वकिल समेतको मान्यता दिएको थियो। यसरी ती ग्याछो लामाले स्वयम्भुनाथको पूजा अर्चना र धुपदीप गरी वकिलको समेत कार्यभार सम्हाल्दै आएका थिए । त्यस समयसम्म चैत्य र मठका निम्ति पुजारीको रुपमा लालमोहर पाएका लामाहरूको नामावली यस प्रकार थाहा हुन आएको छ।
सन् १९०८ मा बुद्ध बज्र लामा सन् १९०९ मा रत्न बज्र लामा , सन् १९२२ मा पुण्य बज्र लामा , सन् १९२३ मा सोकु र पुण्य बज्र आदिले नियुक्ति पाएका थिए । उक्त नामावलीमा समावेश गरिएका पुजारीहरूभन्दा पहिला भुटानबाट लालमोहर पाएका लामा डिमे ग्याल्पो थिए । उनको स्वर्गवास भएपछि मात्र उक्त लामाहरुले नियुक्ति पाएका हुन् तर लामा डिमे ग्याल्बोले भने कहिल्यै लालमोहर पाएका हुन् त्यो खुलेएको छैन ।
यता धर्मराजा नवाङ नामगेलका पालामा पनि धेरै देवराजा- धर्मराजाहरुले शासन चलाए । जसमा जम्मा ५४ जना देवराजाहरुले शासन गरे । सन् १९०७ मा देवराजा प्रथाको अन्त्य भयो । त्यस पछि सर उगेन वाङछुक भुटानका प्रथम वंशानुगत राजा बने । यसरी राजतन्त्रको स्थापना गर्नका लागि नेपाल सरकारको पनि स्वीकृति, समर्थन र सहयोग रहेको थियो । राजतन्त्रको समर्थनका निम्ति काठमाडौँ गएका सन् १९०७ को उच्चस्तरीय समितिको नेतृत्व महाराज सर उगेन वाङ्छुक आफैंले गरेका थिए । त्यस प्रतिनिधि मण्डलका अरु सदस्यहरूमा गर्जमान गुरुङ, जङ्गबहादुर प्रधान , धनवीर बुढा , किर्तिमान बुढाथोकी , बलबहादुर नेपाल, गुमान सिंह तामाङ, गन्जबहादुर क्षत्री ,पूर्णसिंह कटुवाल, लालवीर तामाङ, सिम्पोन उगेन दोर्जीको सहभागिता थियो । सन् १९०७मा नेपालका प्रधान मन्त्री चन्द्रशमसेर राणाले भुटानका वाङ्छुक वंशलाई वंशानुगत राजाको मान्यता दिलाउन ब्रटिस गभर्नर मिन्टोसित इन्डियाको कोलकत्तामा भेट गरी स्वीकृत दिलाउन मद्दत गरेका थिए। भुटानमा वाङछुक वंशको राजा र राज संस्था स्थापना गर्न भुटानका नेपाली भाषी ह्लोछाम्पाहरुको पनि महत्वपूर्ण भूमिका रहेको थियो भन्ने दरबिलो प्रमाण हो यो ।
भुटानका सर उगेन वाङ्चुक र नेपालका प्रधानमन्त्री चन्द्रशमशेर राणाले मितेसमेत लगाएका थिए भन्ने पाइन्छ । स्थायी राजतन्त्र र राजाको जग बसेपछि पनि देशमा अमनचयन कायम हुन सकेन । दलगत शक्तिमा तानातानी चल्यो जसमा देशले कठोर क्षति बेहोर्नु पर्ऱ्यो । जसको परिणाम स्वरूप भारतको ब्रिटिश सरकारद्वारा असम र बङ्गालका सिमानाबाट धेरै ठूलो भुटानको समतल जग्गा जमीन जम्मा १८ वटा द्वारहरु अतिक्रमण गरिए ।
नेपालका राजा श्री ५ त्रिभुवन वीरविक्रम शाहको सन् १९११ को राज्यभिषेक समारोहमा समेत भुटानका राष्ट्र निर्माता बडा महाराजा सर उगेनवाङछुकले भाग लिएका थिए। त्यस समयमा पनि उहाँले स्वयम्भूनाथको दर्शन गरी बत्ती जलाएर दुई देश बीचको पारस्पारिक सम्बन्धलाई अझ दरिलो बनाउने काम गरेका थिए। साथै उहाँले पुजारीलाई नेजिमको पदवी समेत दिएका थिए ।
स्वयम्भुनाथ बौद्ध धर्मका शास्त्रहरू पढाउने प्राचीन महाविद्यालय स्तरको एक विद्यापीठ हो। एसिया महादेशका बौद्ध भिक्षुहरु बुद्ध दर्शन पढ्न त्यही आउँदथे । महायानी विचारधाराका प्रभावशाली गुरु फाजो ड्रुगम सिग्पो भुटानका नवनिर्माता डुक्पा साब्ड्रुङ नवाङ नामगेल ( डुप्पा रिम्पोछ) ले समेत स्वयम्भूनाथको विद्यापीठमा नै बौद्ध धर्मशास्त्रको शिक्षा दीक्षा प्राप्त गरेका थिए ।
भुटानका धर्मराजा रिमपोछे कर्मपाले स्वयम्भुनाथको पूजा अर्चनाका साथै सञ्चालन गर्न पाउँ भनी मागका लागि श्री ५ बडा महाराजा पृथ्वीनारायण शाहसँग प्रस्ताव राख्नु दुई देशको सम्बन्धका विषयमा कम मोलको कुरा थिएन । धर्मराजाको सदिच्छा पूरा गरिनाले नै भुटान र नेपाल बीच दौत्य सम्बन्ध सुदृड र अक्षुण्ण रहँदै आएको हो।
अल्प जनसङ्ख्या भएको भुटानमा आवादी बसाउन र देशको सर्वाङ्गिण विकास गर्न भुटानमा धर्मराजालाई नेपालबाट भएको जनसहयोगले नै दुई राष्ट्रबीच अत्यन्त निकट सम्बन्ध रहेको स्पष्ट हुन्छ।
यता नेपालमा भने नामगेलका वरदपुत्र नेपालका राष्ट्र निर्माता श्री ५ बडा महाराजा पृथ्वीनारायण शाहको प्रभाव विश्व विश्रुत भएर रह्यो। यसरी दोहोरी सहयोग र मैत्रीपूर्ण सम्बन्धको इतिहास भुटान र नेपालका राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखियो । जीवित भएर रह्यो ।
यसरी प्राचीन समयदेखि भुटानबाट रेखदेख हॅुदै आएको स्वयम्भुनाथका गुम्बा गुठीमा पूजा चलाउने र रेखदेख गर्न लालमोहोर लिएर खटिएर आउनुभएका बडालामा श्री कसबुलामा हुनुहुन्छ । उहाँले सन् १९३१ देखि गुम्बाको पुजारीमा लालमोहर पुर्जी पाउनु भएको हो। भुटानको राजनीतिक विकासक्रमलाई केलाएर हेर्दा सन् १९८० को दशकदेखि यता भुटानको आन्तरिक राजनीतिमा परिवर्तन आएको छ ।
सन् १६२४ को भुटानका धर्मराजा साब्ड्रुङ नावाङ नामगेल र गोर्खाका राजा रामसाह बीच भएको लालमोहर र श्री ५ बडा महाराज पृथ्वीनारायण शाहद्वारा भुटानप्रति राखिएको सहानुभूतिपूर्ण सहयोग र पुर्खाहरु बीच दौत्य सम्बन्धमा भुटानको चौथा राजा जिग्मी सिंङ्गी वाङ्छुकका कार्यकालमा नजरअन्दाज गरेको पाइन्छ । ती पुराना लालमोहर र सम्झौता पत्रलाई उस्तो महत्व नदिएको पाइन्छ। सीमा रक्षा देश विकास गुम्बाजोङ्ग जस्ता देशका महत्वपूर्ण सम्पदाको निर्माण र देशमा चौतर्फी विकास भइसकेपछि त्यसरी सोह्रौँ शताब्दीमा राम शाह र नावाङ नामगेल जस्ता जनप्रिय राजाका नेतृत्वमा भएको शक्ति र जनताको साटासाट ४०० वर्ष पहिलेदेखिको परम्परालाई आज अस्तित्वहीन बाइएको छ ।
हाल भुटानमा देशका नागरिकले राष्ट्र ,राष्ट्रियता , समता र मानव अधिकारको माग गर्दा त्यसको अपव्याख्या भई उल्टै जनतामाथि पूर्वाग्रह पूर्ण जवाफ दिइएको छ । ती देशको विकास गर्ने परिश्रमी अनभिज्ञ एवं निरीह भुटानी जनतामाथि चौथा राजा जिग्मी सिङ्गी वाङ्छुकले गरेको थिचोमिचो र बर्बरतापूर्ण नीतिले देशका नागरिकहरू देशबाट उच्छेदित हुनुपऱ्यो । सन् १९०७ मा भुटानको वाङ्छुक वंशीय राजसंस्थाको निम्ति सहयोग जुटाउने नेपाली भाषी ह्लोच्छाम्पाहरुका सन्तानहरुले पनि जिग्मी सिङ्गीका कार्यकालमा अनागरिक हुनु पऱ्यो । भुटानबाट लखेटिनु पऱ्यो । उच्छेदित भुटानी नागरिकहरु कोही भारतको अरुणाचल र अन्य धेरै ठाउँमा आफ्तहरुकोमा शरण लिन बाध्य भए । भुटान सरकारले अनागरिक करार गरेर लखेटिएका अधिकांश भुटानी नागरिकहरू नेपालको झापा र मोराङ जिल्लामा शरणार्थीहरूको रुपमा शरण लिन पुगे । भुटानबाट लखेटिएका शरणार्थीहरु स्वदेश फिर्ताका लागि विशेष पहल भने नेपाल देशले नै गर्दै आएको थियो । नेपाल र भुटान बीच शरणार्थी समस्या समाधानका विषयमा भएका कूटनीतिक प्रयासहरू पुरानो सम्बन्धलाई दुवै देशले चटक्क बिर्सिदिँदा ओझेलमा मात्र परेन असफलता भई तुहिन पुग्यो । यो असफलताते दुवै देश नेपाल र भुटानको लापर्बाही भएको ठहरिदैंछ ।
अन्तर्राष्ट्रियको सहयोग भुटानी शरणार्थीहरूलाई स्वदेश फिर्तीका निम्ति फितलो साबित भएको थियो र छ । नेपालको अस्थिर राजनीतिक अवस्थाका कारण फितलो कुटनीतिक सम्बन्ध हुँदा भुटानी शरणार्थीहरूको स्वदेशफिर्ती हुने सपना विफल भएको छ । यसमा भुटान सरकार जातीय सफाया अभियानमा आंशिक र क्षणिक रुपमा केही हदसम्म सफल भएको देखिन्छ। जसको लाभ भुटानले नेपालको कुटनीतिक पहल फितलो हुँदा नै लिएको हो। नेपाल र भुटान बीच शरणार्थी समस्यालाई दीर्घकालीन समाधानका निम्ति चरणबद्ध रुपमा दुई देशका गृहमन्त्री र विदेशमन्त्री तहमा पटकपटक गरी पन्द्रौ चरणसम्म वार्ताहरू भए । तर ती वार्ताहरु केवल वार्ताका लागि मात्र सीमित रहे ।
यसरी भुटानबाट लाखौंको संख्यामा नागरिकहरुलाई देशविहीन गराउँदासम्म पनि दुई देश भुटान र नेपालका सरकारहरु गम्भीर नहुदा शरणार्थी समस्या थप रहस्यमयी भई गिजोलिन पुग्यो ।
भुटान र नेपालको ४०० वर्ष अघिदेखिको सम्बन्धमा कुनै आच नपुऱ्याइकन सजगतापूर्वक वार्ता भएको हुनाले आज पनि भुटान र नेपाल सरकारबीच सम्बन्ध उत्तिकै प्रगाड रहेको पाइन्छ । तर यही पुरानो सम्बन्ध र सजगताका कारण भुटानका भूमिपुत्र नेपाली भाषी भुटानीहरु पहिचान विहीन भई चार दसकदेखि तड्पिनु परेको छ । जसको फल स्वरूप भुटानबाट लखेटिएका भुटानी सधैँ- सधैँका लागि देशविहीन अवस्थामा पुगेका हुन् । एकातिर सम्बन्ध कायम राख्ने अर्कातिर मानवीय समबेदनालाई नै तिलाञ्जली दिने भुटान र नेपालका वर्तमान दुई सरकार बीचको वार्ता र विषयमा गाम्भीर्यता नहुनु अनि दुवै देशले आलटाल र आनाकानीको नीति अवलम्बन गर्नु , समस्या समाधान गर्न स्थायी समिति नबनाउनु भुटानका लागि नेपालले नागरिक खेद्न पुर्याएको ठूलो सहयोग हो।
भुटानले खेदेका भुटानी नागरिकहरुलाई शरण दिएर नेपालले ठूलो गुण लगाएको छ
। यस गुणलाई शरणार्थीहरुले कहिल्यै पनि भुल्ने छैनन् । तर नेपाल सरकारले द्वीपक्षीय मन्त्रीस्तरीय वार्ताको क्रममा पनि भुटान सरकारकै पक्षमा बोलिदिदा र भुटानको पक्ष र प्रस्ताबमा सहीछाप गरी सहमति जनाएर शरशार्थीहरुको पक्ष र हकहीतमा नबोलिदिदॅा आज भुटानबाट लखेटिएका करिब १ लाख २० हजारका हाराहारीमा भुटानी शरणार्थीहरूले भुटानको माटो फेरि टेक्न पाएनन् । भुटानीहरू सदासदाका लागि अभुटानी ठहरिए । उनीहरुको परिवारबीच बिछोड भएको पीडा कुनै पनि देशका सरकार र मानव अधिकारवादी संघ संगठनहरुले महसुस गरेनन् । जसको कारण आज विश्वका ११ वटा राज्यमा छरिएर रहेका भुटानीहरु मूल थलो किलो भुटानमा रहेका आफन्तजनहरूसँग टाडिन पुगे । जसको पीडा कुनै पनि लिपिमा लेखेर वर्णन गरी कसैको फाटेको हृदयमा मलमपट्टी हुन सक्दैन ।
भुटानी शरणार्थीहरुको स्थायी समाधानका निम्ति सकारात्क पहलकदम जुटाएर आठवटा दाताराष्ट्रहरुले शरणार्थीहरुको जिम्मा लिए । आज उनीहरु अमेरिका, क्यानाडा, अस्ट्रेलिया र विभिन्न यूरोपियन मुलुकहरुमा स्थायी बसोबासका निम्ति गएका पनि छन् । तर उनीहरुका कत्तिपय परिवारका सदस्यहरु कोही भुटानमा त कोही इन्डियामा अनि ७ हजारका हाराहारीमा भुटानी शरणार्थीहरु नेपालका शरणार्थी शिविरमा नै नारकीय जीवन बिताउन बाध्य पारिएका छन् । यसरी परिवारका सदस्यहरु विश्वका विभिन्न मुलुकमा छरिएर रहनुपरेकाले कतिपय पुर्खा र सन्तानहरुले आफ्नताहरुसित भेटघाट नै गर्न नपाई जीवन गुमाउनु परेको कहाली लाग्दो अत्याहास भुटानीहरुको यथार्थ जीवन कथा हो ।
नेपाल सरकारले शरणार्थी शिबिरलाई नाम फेरबदल गरेर “शरणार्थी बस्ती” बनाएको छ । नेपाल सरकारको यस कार्यले भुटानी शरणार्थीहरुको पहिचान र अस्तित्व नै संकटमा पारेको महसुस शरणार्थीहरुले गरेका छन् ।
देश भन्नु नै बहुजाति,बहुभाषी,बहुसांकृतिक मानिसहरुको संरचना हो । भुटान पनि एक यस्तै बहुलवादमा आधारित मानव बस्तीको एक टुक्रा हो ।जब सरकारले सत्ता र शक्तिको दुरुपयोग गरेर नागरिकहरुको समयोचित आवाजहरुलाई दबाउने दुष्प्रयास गर्दछ तब त्यो मानव बिचार द्वन्द्वमा परिणत हुन्छ ।द्वन्द्वबाट अराजकता पैदा हुन्छ र त्यो हिंसा तर्फ मोडिन्छ । हिंसाले कसैको पनि भलो गर्दैन । त्यसैले भुटानका साशकहरुले सन् १९९० को द्वन्द्वलाई बेलैमा ब्यवस्थापन गर्नुपर्दछ ।द्वन्द्व आजै ब्यवस्थापन भएन भने यो कुनै न कुनै कालखण्डमा आफैप्रति प्रत्युत्पादक हुन सक्छ ।भुटानबाट लखेटिएका नागरिकहरु आज विश्वका धेरै राष्ट्रहरुमा बसोबास गर्दै आएका छन् । उनीहरुका साथ वार्ता गरेर भुटानले सन् १९९० को भुटानी ह्लोच्छाम्पाहरु र अन्य भुटानीहरु बीच सरकारसॅग भएको भिन्न बिचार र द्वन्द्वको ब्यवस्थापन गर्नु नै सबैको पक्षमा जितैजितको स्थिति सिर्जना हुनु हो ।
अरुको मध्यस्थता हारगुहार गर्न द्वन्द्वरतपक्षलाई संसारको ढोका खुल्ला नै रहन्छ । अन्यथा सुनको कचौरो लिएर माग्ने अनि “ आम राष्ट्रिय खुसीयालीमा “ को झुटो नारा लगाएर कतिदिन वा वर्ष जनताहरुलाई छल्ने हो , भुटान सरकारलाई मार्ग खुल्ला नै रहने छ । विश्वका अति विकसित मुलुकहरुले प्राकृतिक सौन्दर्यले झकिझकाउ देश भुटानलाई “रातो” र रातोबाट “कालो” रङ्ग पोतिदिए त्यो पनि भुटानले आफ्ना नागरिहरुप्रति गरेको अपमानको फलको रुपमा स्वीकार गरी भुटान सरकारले निम्त्याएको नियति उसले भोग्नैपर्दछ।अर्को विषय रह्यो प्रेस स्वत्रताको । भुटान राजाकै शब्दमा भन्नु पर्दा लोकतान्त्रिक प्रणाली भएको राष्ट्र हो । तर हालै भएको प्रेस स्वतन्त्रताको सर्वेक्षणमा संसारभरका देशहरुको सूचिमा १५० संख्यामा आएको छ । यो अत्यन्तै लज्जासपद संख्याक्रम हो।यो पनि भुटान सरकारले रोजेको बाटो हो । जनताको मौलिक स्वतन्त्रता र स्वतन्त्र प्रेसमा लगाएको अंकुशको परिणाम हो।
सरकारले निम्त्याएको नियति र द्वन्द्वको घानमा सर्बसाधारण नागरिकहरुलाई रेट्नु अर्को अक्षम्य अपराध हो भन्ने पनि सरकारमा हेक्का रहनुपर्दछ । भुटान सरकारले सन् १९९० को दशकमा देशबाट करीबन १५ देखि २० प्रतिशत नागरिकहरु स्वदेशबाट लखेट्यो भने त्यस यता करीब १४ प्रतिशत पढालेखा बौद्धिक भुटानीहरुले राम्रो अवसरको खोजीमा भुटान छाडेर अमेरिका , यूरोप,अस्ट्रेलिया र केनेडा तर्फ लागे । यही हो भुटान सरकारले विश्वका अॅाखामा छारो हाल्न अघि सारेको “आम राष्ट्रिय खुसीयालामा” को परिणाम ।
द्वन्द्वले अरु के-के निम्त्याउछ त्यो चाही भविष्यले नै बताउॅदै लानेछ । भुटानले नापत्ता पारेका भुटानी नागरिकहरुको खोजी , बिपद-ब्यवस्थापन , राजबन्दीहरुको उन्मुक्ति र उचित ब्यवस्था (क्षति पूर्ति) र लखेटिएका नागरिकहरुको ससम्मान स्वदेश फिर्तीका लागि एउटा अन्तराष्ट्रिय स्तरको उच्च छानबिन समिति गठन हुन नितान्त जरुरी छ । जसमा नेपाल, इन्डिया र नागरिकलाई अनागरिक बनाएर खेदाउने भुटान, लखेटेका नागरिकहरुलाई ब्यवस्थापन गर्ने आठैवटा मुलुकहरुको सहित भुटानी शरणार्थीहरुको प्रतिनिधित्व हुनुपर्दछ ।तब मात्र भुटानको कुन देशसित के-कस्तो मित्रता छ भन्ने विषयले महत्व पाउछ । अन्यथा भुटान सरकारले गरेका असंख्य अपराधको घानमा नागरिकहरुलाई पिस्नु अर्को ठूलो अपराध तर्फ भुटान जानु हो । जसको परिणाम कल्पना भन्दा बाहिर हुनसक्छ ।
सन्दर्भ सामग्री
१) भोटान एन्ड द स्टोरी अफ द डुवर वार ——- १८६६
२) नेपाल भोटाङ मित्रताको माध्यम ——-१९७७
३)भुटानी कोपिला ऐतिहाहिक अङ्क
४) भूटान : हिजो र आज
(यस लेखमा व्यक्त गरिएका विचार, विश्लेषण, व्याख्या तथा ऐतिहासिक सन्दर्भहरूको पूर्ण जिम्मेवारी लेखक स्वयंको हो । लेखमा उल्लेख गरिएका तथ्य, सन्दर्भ वा इतिहाससम्बन्धी विवरणहरूको स्वतन्त्र प्रमाणीकरण गर्न सम्भव नभएकाले, आवश्यक सुझाव प्रदान गरिसकेपछि पनि लेखकले आफ्नै उत्तरदायित्वमा प्रकाशन गर्न आग्रह गरेअनुसार यो लेख यथारूपमा प्रकाशित गरिएको हो। यस लेखमा व्यक्त विचार वा दाबीहरूलाई सम्पादक वा वेबसाइटको आधिकारिक धारणा वा समर्थनका रूपमा लिनु हुँदैन।)

