बुख्याचा
बुख्याचा
तुम्बेहाङ लिम्बु
झापा, नेपाल

ओ साथी!
त्यो खेतबीचमा उभेको बुख्याचा
त्यसले हाम्रो समाजमा फैलाएको
डर वा विभीषिका
वास्तवमै कति अचम्मको छ है?
हुन त त्यो
एउटा खोक्रो पुतला मात्र हो।
भित्रभित्रै त्यो यति खोक्रो छ कि
एउटा सामान्य हावाको झोक्काले पनि
भुईँमा ढल्न सक्छ।
एउटा सामान्य झरीको थपेडाले पनि
मुस्न सक्छ।
त्यसको काम भनेको
चराहरू तर्साउने हो,
जङ्गली तस्करहरू भगाउने हो।
तर त्यो बुख्याचा
रङरोगन र बाँसको करङले
यति डरलाग्दो भएको छ कि
यहाँ त
चराहरू, तस्कर होइन —
मान्छेहरू डराउन थालेका छन्,
समाज डराउन थालेको छ,
देशबासी डराउन थालेका छन्।
होइन यो—
बुख्याचाले तर्साएको हो कि
मान्छेहरू आफैँ तर्सिएको हुन्?
चराहरू र तस्कर तर्साएर
बालीनाली जोगाउनु पर्ने बेलामा
मान्छेलाई नै तर्साएर उठिबास बनाउँछ भने
त्यो बुख्याचाको के काम?
केटाकेटी तर्सिएर साँतिन सक्छन्,
डरले समाज कमजोर हुन सक्छ।
त्यस्तो रोगी समाज, देश,
संसारमा पछिपर्न सक्छ,
हामीलाई बर्बाद गर्न सक्छ।
ओ साथी!
यहाँ एउटा आँधी किन आउँदैन हँ?
यहाँ एउटा तुफान किन उठ्दैन हँ?
त्यो मकिसिएको बुख्याचाले
प्रत्येक दिन तर्साइरहेछ समाज,
प्रत्येक दिन तर्साइरहेछ देश।
अब त्यसको आयु कति छ हँ?
किन थुतेर फाल्दैन कसैले?
किन फुकेको हावाले ढाल्दैन?
मौसम विभाग भन्छ —
एउटा सुनामी आउनेवाला छ।
भूगर्भविद् भन्छ —
एउटा भूकम्प आउनेवाला छ।
यस्तो प्रतिकुल वातावरणमा पनि
आखिर कसरी त्यो
निस्फिक्री पिङ खेलिरहेको छ,
निमग्न झुलिरहेको छ?
कि कुनै छिमेकीले,
वा कुनै असामाजिक तत्वले
त्यसका मकिएका करङहरू फेरिदिँदैछ?
धुजाएको कपडा सिलाइदिँदैछ?
भाँचिन लागेको घोचा साटिदिँदैछ हँ?
