चारो
चारो
(लघुकथा)
मधुरो प्रकाश भएको एउटा मध्यम आकारको कोठा। मान्छेको अनुहार ठम्याउन पर्याप्त उज्यालो थिएन। एउटा सानो डिम लाइट मात्र बलिरहेको थियो। कोठाभरि विलासी टेबल–कुर्सीहरू थिए।
टेबलसँगै सटेको कुर्सीमा एक जना साठी वसन्त नाघेको पुरुष गम्भीर मुद्रामा हल्लिँदै बसेका थिए। सुन्तले र कालो चेकचेक बुट्टाको माठाबख्खु, फुलेको कपाल र आँखामा पावरको चस्मा। टेबलको अर्कोपट्टि बसेका अर्का पुरुष उमेरले उनीभन्दा थोरै कान्छा देखिन्थे। उनको बख्खु पनि मरुन, कालो र सेतो चेकचेक बुट्टाको थियो।
उनले टेबलमाथिको ह्विस्कीको गिलास उठाए, एक घुट्को पिए र गम्भीर हुँदै भने, “अब त उनीहरूले हाम्रो पोल खोलेरै छाड्ने भए। इतिहासको गर्वमा गाडेर राखेको त्यो सत्य अब कविता, कथा हुँदै गीतसम्ममा आउन थालिसक्यो। उनीहरू भन्न थालेका छन्—हामी तिब्बतबाट आएका हौँ, हामी आउनुभन्दा अघि यहाँका मूलवासी अरू नै थिए।”
अर्काले पनि ह्विस्कीको गिलास उठाए, एक घुट्को पिए र भने, “त्यही त मलाई पनि अचम्म लागिरहेको छ। इतिहासको गर्वमा गाडेर राखेको त्यस्तो राज उनीहरूले कसरी थाहा पाए?”
“त्यति मात्रै कहाँ हो र?” पहिलोले भन्यो, “पूर्वी भुटानका निङ्मापा पन्थीहरूलाई दीर्घकालमा हाम्रै डुक्पाकाग्युक्पा पन्थमा रूपान्तरण गर्ने हाम्रो योजना पनि उनीहरूले थाहा पाइसके। गीतमा, साहित्यमा त्यसको पनि पर्दाफास गर्न थालेका छन्।”
“यही त अचम्म लाग्छ,” अर्कोले भन्यो, “यो कुरा उनीहरूले कसरी थाहा पाए?”
केही बेर मौनता छायो।
“भन्छ नि,” उसले फेरि भन्यो, “घरभित्रको एउटा शत्रु बाहिरका हजार शत्रुभन्दा खतरनाक हुन्छ। मलाई हाम्रै मान्छेमाथि शङ्का लाग्दैछ।”
अर्काले टाउको हल्लाउँदै सहमति जनायो।
दुवैले फेरि गिलास उठाए।
“चियर्स!”
गिलासहरू ठोक्किए।
दुवैले एकैचोटि पिए।
केही बेरपछि पहिलो पुरुषले फेरि भन्यो, “हामी सत्तामा हुनेहरू पन्ध्र प्रतिशत मात्रै छौँ। यदि यस्तै पाराले सबै समुदाय एक भए भने भोलि हाम्रो सत्ता खतरामा पर्दैन र?”
टेबलको अर्कोपट्टि बसेकाले गम्भीर हुँदै भन्यो, “त्यही त। अब पूर्वपट्टिकाहरूले पनि असन्तुष्टि जाहेर गर्न थालेका छन्। ‘नरहे बाँस, नबजे बाँसुरी’ भनेजस्तै, त्यो कुरा उठाउनेलाई सुरुमै खत्म गरिदिनुपर्छ भन्ने हिसाबले हामीले लामा गोम्छेन कर्मालाई नारा लगाउँदालगाउँदै सडकमै खत्म गरेका थियौँ।”
उसले लामो सास फेर्यो।
“नारा त खत्म भयो, तर त्यसको प्रभाव खत्म भएन। अझै पनि त्यो भुसको आगो जसरी भित्रभित्रै फैलिरहेको छ।”
“त्यही त भनेको,” पहिलोले चिन्तित हुँदै भन्यो, “अब के गर्ने? हामीले ह्लोछाम्पालाई त हटायौँ, तर पूर्ण रूपमा हटाउन सकेनौँ। अब सार्छोक्पालाई कसरी ठेगान लगाउने? जनताले थाहा पाए भने यहाँ ठूलो विद्रोह हुन सक्छ।”
“जनताले थाहा पाउने गरी त्यस्तो काम गर्नुहुँदैन,” अर्कोले भन्यो। “यदि जनताले हाम्रो षड्यन्त्र थाहा पाए भने भोलि चौपट हुन्छ।”
“त्यही भएर त हामीले जनतालाई थोरैथोरै राहत दिन थालेका छौँ।”
“कस्तो राहत?”
“प्रेसर कुकरमा सेफ्टी भेल्व नहुँदा प्रेसर बढेर पड्किन सक्छ नि। त्यस्तो हुँदा मान्छे नमरोस् भनेर सेफ्टी भेल्व राखिएको हुन्छ। त्यस्तै हो। राजतन्त्र नै भए पनि थोरै एउटा सेफ्टी भेल्व चाहिन्छ भनेर हामीले प्रजातन्त्रका नाममा अलमलाउने चुनावको व्यवस्था त गरेकै छौँ नि।”
“तर त्यसले पनि अब राम्ररी काम गरिरहेको जस्तो देखिएन।”
“हजुर, अब के गर्ने होला? मलाई त चिन्ता लागिरहेको छ।”
अर्काले गम्भीर हुँदै भन्यो, “आजको समय विज्ञान र प्रविधिको समय हो। पहिले जस्तो जनतालाई थुनेर, कज्याएर राख्न सकिँदैन।”
“त्यसो भए?”
“अब कुनै न कुनै सानो–तिनो योजना लिएर गाउँगाउँमा जानुपर्छ। माछालाई बल्छी थापेजस्तो। चारो हालेजस्तो। विकासको चारो, रोजगारीको चारो, अनि विभिन्न किसिमको प्रलोभनको चारो फ्याँक्नै पर्छ। नत्र अब यसरी चल्छ जस्तो मलाई लाग्दैन।”
त्यसपछि दुवै केही बेर चुप लागे।
त्यही रात ती साठी वसन्त नाघेका मन्त्री आफ्नै घरको शयनकक्षमा सुतिरहेका थिए।
अचानक उनी ऐठन परेर झस्किएर उठे।
निधारभरि पसिना थियो। स्याँस्याँ गर्दै केही बेर ओछ्यानमै बसे। वरिपरि हेरे।
त्यो त सपना रहेछ।
सपनामा उनले देशका पूर्व, पश्चिम, उत्तर, दक्षिण—चारैतिरका मानिसहरू लामबद्ध भएर संसद् भवनतिर आउँदै गरेको देखेका थिए। कसैको हातमा झन्डा थियो, कसैको हातमा मशाल, कसैको हातमा प्लेकार्ड। कोही मुठ्ठी उँचालेर चिच्याइरहेका थिए।
त्यही दृश्यले उनी झस्किएर ब्युँझिएका थिए।
उनले टेबलमाथि राखिएको जग टिपे र घ्वाट–घ्वाट पानी पिए।
त्यसपछि मोबाइल उठाए र हिजो राति आफूसँग ह्विस्की पिउने साथीलाई फोन लगाए।
“हेलो, सुन्यौ? मैले कस्तो अचम्मको सपना देखेँ यार! सबै एक हुल भएर, सबका सब, हामीलाई घेर्न आइरहेका थिए।”
उताबाट आवाज आयो, “त्यो त सपना हो नि। चिन्ता नगर्नुस्।”
केही बेर मौनता छायो।
“तर सपना पनि कहिलेकाहीँ विपना हुन्छ भन्छन्,” उताबाट फेरि आवाज आयो, “सपनाले पनि भोलिका लक्षण लिएर आउँछ भन्छन्। थोरै शङ्का चाहिँ गर्नुपर्छ है।”
फोन काटियो।
कोठा फेरि शान्त भयो।
बाहिर अँध्यारो थियो।
भित्र पनि।

