नआएकी त तिमी मात्रै हौ

आर. बी खड्का 
ओहायो अमेरिका

सन्नाटा छाएको धमिलो साँझमा
तिखो वाण बनेर मुटु छेड्न
तिम्रो अमिलो याद सधैँ आउँछ

पानी भर्ने निहुँमा पँधेरीमा पर्खिएको
घाँस दाउरा गर्दा सुसेलिले डाकेको
उँधौलीको मेलामा रुमाल चिनो साटेको
हात समाई रमाउँदै सँगै घान नाचेको
देउरालीमा गएर सँगै फूल चढाएको
ओहो! कति हो कति यी यादहरू …..
मेरो हृदयको क्यानभासमा
बम बनेर पड्की रहन्छन्…
र थर्काउँछन् मेरो घाइते मुटुलाई ….

पोहोर जस्तै यसपाली पनि झरी आयो
पोहोर सँगै रमाउँदै रुझेका थियौँ
तर यसपाली… बाढीले खुसी बगाएर
कतै टाढा पुर्‍यायो .. कहिले नफर्कने ठाउँमा

फेरि पनि वसन्त फर्किएर आयो
बगैँचामा फूलहरू उसै गरी फुले
तर …मेरो हृदयको फूल
तिम्रो सम्झनाको रापमा डढेर
अहिले ओइलिएको छ ….

एक हप्ता पछि बारहरू फर्किएर आए
बर्षदिन पछि महिनाहरू फर्किएर आए
मायाको मौसम श्रावण फेरि पनि आयो
प्रेमी जोडीहरूलाई रुझाउन झरी आयो
गुण छोडेर उडेका पन्छीहरू फर्किएर आए
समयले सबैलाई फर्कायो….
सबै फर्किएर आए …
फर्किएर नआएकी त एउटी तिमी मात्रै हौ
तर तिम्रो अमिलो याद सधैँ आउँछ
र बेस्सरी सताउँछ

Don't have a Facebook account? Please, use the form below with other options!