बुबाको बलिदान
खगेन्द्र बिष्ट्ट
ओहायो अमेरिका
ओइलिएको हात, चाउरिएको गाला,
मुस्कानमा लुकेको पीडा विशाल ।
सन्तान हाँसुन्, सपनाहरू फलुन्,
आफ्नो भाग्यलाई गरे तिलाञ्जली लाल ।।
भोकै बसेर पेट भर्ने सपना,
रातभरि बले छातीको दीपना ।
खरानी भए आफ्नै चाहनाहरू,
सन्तानको भविष्यमै राखे जुना ।।
घामपानीको पर्बाह नगरी,
खुट्टाको फोका लुकाइ हिँडे,
शरीर गल्दै गयो समयसँगै,
तर मुस्कान कहिल्यै लुटाइ हिँडे ।।
कहिलेकाहीँ आँखा रसाउँथ्यो,
शायद, आफैँलाई सम्झेर होला ।
तर हात उठेर आशिष् दिन्थे,
सन्तानको उज्यालो देखेर होला ।।
ओ बुबा! तिमी पर्वत हौ,
तिमी नीलो आकाशका जून हौ ।
तिम्रो बलिदानको ऋण कहिल्यै,
चुकाउन सक्दिनँ, स्वीकार गर पुन ।।
