धनेहरु निरन्तर हिंडिरहे ! कविता संग्रह : केही विमर्श

सन् २००९ मा श्री सञ्चमान खालिङको धनेहरु निरन्तर हिँडिरहे ! कविता संग्रहको प्रकाशनसंगै उनी भूटानको युवा पुस्ताका एक प्रखर कविका रुपमा स्थापित हुन पुगे । आफ्नो प्रथम प्रकाशित कवितासंग्रह भए पनि परिपक्व विचार, सुन्दर शिल्प–शैली, कलाल्मक अभिव्यक्तिका साथै बिम्ब र प्रतीकहरुको धनिभूत प्रयोगले उनको काव्यचेतना अन्यान्त प्रवल र प्रतिस्ठापूर्ण बन्न पुगेको छ । धनेहरु परिचयहीनताको प्रीतक हुन्, नेपाल बाहिर जुनसुकै मुलुकमा रहेका नेपालीभाषी मानिसहरु पनि कुनै न कुनै बेला पितृभूमि नेपाललाई संझिन पुग्दारहेछन् । उनीहरु नेपालपट्टि फर्किएर बिगतको नेपाली गौरव, नेपाली अश्मिता र नेपाली संस्कृति खोज्न पुग्दारहेछन् । तर यो कुनै अर्थमा पनि आफू बसेको मुलुकप्रतिको बेइमानी पक्कै पनि होइन, हो भने पूर्खाको रगतको साइनो । धनेहरु निरन्तर हिँडिरहे ! कविता संग्रह पढ्ता यस्तै लाग्छ । नेपालीहरुको मूल थलो नेपाललाई छोडेर, काम, माम, जीवन र स्वप्नको खोजीमा भौँतारिने क्रम युगौँ अघिदेखि चलिआएको हो । भारत बाहेक अन्य तेस्रो मुलुकमा नेपालीभाषीहरु औपचारिक रुपमा छिर्ने काम सायद सब भन्दा पहिले भूटानबाट सुरु भयो—सन् १६२४ तिर । दक्षिण एशियामा नेपालबाहिर नेपालीभाषीहरु प्रमुख रुपमा बसोबास गर्दै आएका मुलुकहरुमा भारत, भूटान र बर्मा हुन् । तर नेपालीभाषीहरुले अपहेलित हुनु नपरेको, पीडा खेप्नु नपरेको र खेदिनु नपरेको स्थिति यी कुनै पनि मुलुकमा रहेन । यस अर्थमा यहाँका नेपालीभाषीहरु परिचय र पहिचानको आभाव भोगिरहेका छन् अनि कहिले कहीँ यही कारणले मारिएका औं खेदिएका पनि छन् । नेपाली लेखकहरुले धेरै ठाउँ नेपालीभाषी मानिसहरुले भोग्नु परेको सास्ती, खेदिनु पर्दा भोगेको पीडा उठाएका छन् –जस्तो डा. गोविन्दराज भट्टराईको मुगलान उपन्यासमा, इन्द्रबहादर राईको जयमाया आफू मात्र लिखापानी आइपुगी कथामा र कृष्ण धरावासीको शरणर्थी उपन्यासमा ।

पछिल्लो समयमा भूटानी सर्जकहरुमा केही उल्साह र जागरुकता छाएको देखिन्छ । विशेषतः शरणार्थीहरुको अमेरिका, अस्ट्रेलिया लगायतका मुलुकहरुमा पुनस्थापना हुने क्रम शुरु भएपछि भूटानी लेखकहरुलाई केही न केही कृतिहरु प्रकाशनमा ल्याएर मात्र त्यतातर्फ लाग्ने हुट्हुटी जागेको देखिन्छ । कवि पुरानाघरेको “प्रलयाग्निको संघारबाट” कवितासंग्रह (सन् २००८), कवि सञ्चमान खालिङको “धनेहरु निरन्तर हिँडिरहे !” कविता संग्रह (२००९), कवि वादल थापाको “आश्ना” कवितासंग्रह (२००८), मणिराम धिमाल दिपीतको “अविरल आँसु” , कवि शिवलाल दाहालको संपादनमा निस्केको भूटानीहरुको प्रतिनिधि कविता संकलन “संझनाका खण्डित आकृतिहरु” (२०१०), आदि कविताकृतिहरुको प्रकाशनका साथै टंक वयलकोटीको “अनुभूति” गजलसंग्रह (२००८) , सञ्जु गिरीको “चोइटिएको जून” गजलसंग्रह (२०१०), प्रवासी कृष्ण घायलको “जून नउदाएको रात” रुबाई संग्रह (२००८), अशोक राईको संपादनमा निस्केको “शव्द अस्त्र” रुबाईसंग्रह (२०११), शिवलालदाहाल, डेन्जोम राई तथा याम थुलुङको संयुक्त संपादनमा निस्केको “मूल्यवोध” (समसामयिक साहित्यक पत्रिका), आदि निस्किनुले पनि पछिल्लो समयमा भूटानको साहित्यिक गतिविधि एवं सक्रियता बढिरहेको संकेत गर्दछ । यति मात्र होइन नेपाली साहित्य परिषद, भूटानको रुपान्तरण भई भूटान साहित्य परिषदको रुपमा स्थापित हुनु,विश्व भूटानी साहित्य संगठन, रुबाई मञ्च भूटान आदिको उदय हुनु र हाल भूटान साहित्य परिषदले मातहतमा रहेको भूट्निज लिटिरेचर डट्कम वेव–साइट (सन् २००९) मार्फत निरन्तर साहित्यिक रचनाहरु प्रकाशित भइरहनुले पनि साहित्यिक सक्रियतामा तीव्रता छाएको कुरालाई पुष्टि गर्दछ । भूटानी सर्जकहरुले समयको यो अन्यान्त जटिल स्थितिमा पनि आफ्नो भाषाप्रति जुन किसिमको अनुरक्ति, प्रेम र क्रियाशीलता देखाएका छन् त्यो प्रशंसनीय एवं प्रगतिगामी पनि छ तर विकासित मुलुकहरुमा पुनर्स्थापित  भइसके पछि कति लामो समयसम्म यो सक्रियता रहिरहन्छ त्यो अहिले नै भन्न सक्ने अवस्था छैन । परन्तु यो एउटा शुभ संकेत अवश्य पनि हो । खालिङले पनि आफ्नो अमेरिका प्रस्थान गर्नु केही दिन अघि मात्र यो कृति विमोचन गराएका थिए । बदलिँदो परिस्थिति, समसायिक जीवन, प्रेम, गरिवी, अस्तित्वहीनता, ह्रासोन्मुख जीवन मूल्य, आधुनिक सहरी जीवन, अश्लिलता , मानिसको भ्रष्ट मनोविज्ञान, परिचयहीनता, नेपाली संस्कृतिप्रति अनुराग र ग्रमीण जन–जीवन आदिको प्रस्तुति र चित्रण कवि खालिङका कवितात्मक विषय हुन् । अनेक सुन्दर उक्ति–पद्घति, बिम्ब, प्रतीक र मिथकको सहायताले अभिव्यिक्ति दिने कवि खालिङको संवेदनाको संसार सतही छैन गंभीरताले भरिएको छ , ओजस्वी भावनाले उत्प्रेरित र अनुबन्धित पनि छ । उनले ह्रासोन्मुख हुँदै गइरहेको जीवन–मूल्य , आफ्नो संस्कतिप्रति बिकर्सित बन्दै गएको वर्तमान पुस्ता, देश र घरबार बिहीन हुनु पर्दाको पीडा राम्रोसँग चित्रण गरेका छन् । नेपाली हुनुको पीडा (नेपाली परिचयको पीडा) नै उनका कविताको केन्द्रीय विषय हो ।

उनका कवितामा मुलतः रोमान्टिकता, समसामयिक यथार्थताको चित्रण, जीवन–चिन्तन र उत्तराधुनिकताको झलक पाइन्छ । प्रेम उनका धेरै कविताको विषय बनेर आएको छ । यो हरेक मानिसको एक प्रमुख वृत्ति नै हो । कविले प्रेमका सुन्दरतम पक्षहरुको खोजी गर्छ, त्यसमा सुगन्ध भर्छ । कवि खालिङ्ले त्यही गरेका छन् । मनभित्रका प्रेमजन्य भावनालाई कलात्मक रुपमा सुन्दर वाक्यविन्यास, सरल प्रतीक र सहज बिम्ब मार्फत् अभिव्यक्ति दिँदा कविताले विशिष्ट रुप लिँदोरहेछ । पछ्र्याउन छोडेको छैन- एक गुच्छा फूलको बिहानी अथवा फूलका गुच्छा बोकेर आइरहेकी – उही एक जीडी अजम्बरी आँखा/पोखाएर बाटोभरि – कति सुकुमार अभिव्यञ्जना, कति प्रिय प्रेम–संवेदनाहरु यी । प्रेमको भारि बोकेर आएका उनका कविताहरु हुन्–आभाष, एक गुच्छा फूलको बिहानी, तिमीले दिएको रुमाल, मेरी इन्द्रेणी र यसरी पाउँछु तिमीलाई । उनका अधिकांश प्रेम–कवितामा विच्छेदिन प्रेमको (छुटेको प्रेम) स्मुति बिम्बित भएको पाइन्छ तब किन नछाडोस् पच्याउन एक गुच्छा फूलको बिहानीले । यसरी उनका कवितामा रोमान्टिक चेतनाले प्रशस्त मौलाउने मौका पाएको भेटिन्छ ।
कवि खालिङ् कुनै पनि प्रपञ्चमा मानिसको संहार भएको देख्न चाहँदैनन् । चाहे त्यो वर्तमानमा सत्ता मोहले प्रेरित भएर गरिएको युद्ध र रक्तपात होस् या भविस्यमा हुन सक्ने मानवसव्यता माथिको रोबोटको प्रहार । उनी मानवताको पक्षमा छन्, न्याय र समानताको पक्षमा छन् । गरिवी, भोक, तिर्खा र तिरस्कार रहितको समाज कवि खालिङ्को परिकल्पना हो तर न्याय खोज्न युद्ध र हिंसालाई हतियार बनाउने कविको ध्याउन्ने देखिन्न । माक्र्सको अदालतमा माओलाई उभ्याएर उनी सर्वहारा वर्गकै हत्य गेरर सर्वहाराको सत्ता स्थापित गर्नुको औचित्य खोज्छन् तर आधुनिक युगका जालझेल, भेदभाव, उत्पीडन, अन्याय, शोषण आदि दुदर्शाबाट विरक्तिएका कविलाई आदिम साम्यवादतर्फ फर्किन मन लाग्छ ।

रातको सन्नाटालाई चिर्न भ्वाइलिन बजाउने कवि खालिङ्ले जिन्दगीका प्रशस्त उच्छवास, मुर्छना र रागहरु अलापेका छन् । उनी बाँझो भूगोलमा बग्रल्ती जूनहरु रोप्छन, ताराहरु छर्छन् र सिर्जनाको वसन्तमा आफ्नै किसिमका फूलहरु फुलाउँदछन् । उनी जीवनलाई सतही देख्तैनन्, त्यसभित्रका दुःख, दर्द, संवेदनशीलता, प्राप्ति, संगति,अस्वीकृति र मर्महरुलाई पनि आत्मसात गर्छन् । त्यसो हुनाले उनको जीवनदृष्टि निराशपूर्ण र भत्केको मात्र छैन, त्यसभित्र उदात्त पक्षको प्रशस्त खोजी छ । क्याक्टस काँडामा पनि फूल फुलाउँछन् कवि खालिङ । तलका पंक्ति हेरौं –
त्यो उजाडपनमा
त्यो भोक–तिर्खाको प्वालमा
राता, पहेँला रङ्ग पोत्नुपर्छ
जिन्दगी रङ्गाउनु पर्छ
– ह्याप्पी होली
गुनासो छैन
जिन्दगीका अणुअणु तिमीले पढाएका छौं
अनिकालको
दुमो बाँच्न सिकायौं
– घनिष्ठता
मैले त्यो क्याकटस-काँडालाई
मेरो छेउमा राखेँ
गमलामा रोपेँ
अनि फूल भनेर बोलाएँ
ऊ मुस्कुरायो फूल भएर
– के काँडा ? के फूल ?

ग्रामीण र सहरीय जीवनको मध्यभागमा उभिएर कविले दुवै पट्टि हेर्ने प्रचेष्टा गरेका छन् । ग्रामीण परिवेश, त्यस भित्रका माया–प्रेम, सद्भाव एवं सरस र शान्त जीवन कविलाई सर्वप्रिय छ । नागर सव्यता त्यहाँको आतङ्ति जीवन, अश्लीलता, मानिसहरुको कुटिल व्यवहार र प्रदुषित वातावरणसँग कवि रत्ति पनि रमाउन सक्तैनन् ।

कवि खालिङ्को अर्को कवितात्मक विशेषता हो वर्तमान समयको परिवर्तित स्वरुप, आधुनिक चिन्तन र भ्रष्ट मानवीय संवेदनाको उत्घाटन । साइबरी गाँउमा, चोरेको ऐना, ए नयाँ पुस्ता !, रोबट र मान्छे, शहर आतङ्क जस्ता कविताले बदलिदै गइरहेको सामाजिक परिवेश, हाम्रो संकृतिमाथि भइरहेको हस्तक्षेप तथा विज्ञान र प्रवृतिले ल्याउन सक्ने सम्भावित चुनौतिको चित्रण गर्दछन् । पाश्चात्य जगत र साइवर संस्कृतिको बढ्दो प्रभावले नेपालीहरुको मौलिक संस्कृति, रीतिथिति र परम्परामा अनेक विचलन, बेथिति र विसंगतिको प्रदुभाव गरिरहेछ । नयाँ पुस्ताको जीवन शैली परम्परादेखि टाडा गइरहेको छ उनीहरुलाई पुरानोप्रतिको मोह छैन, आफ्नो भाषा, संस्कृतिप्रति आकर्षण छैन । नयाँ पुस्तातर्फ व्यङ्ग्य गर्दै कवि लेख्छन् आफू–आफू नहुनुमा गर्व छ । अर्कातर्फ शिक्षा, चेतनाको विकास र आर्थिक समृद्धि बिना नै हामी ग्लोबल भिलेज र भूमण्डलीकरणको युगमा प्रवेश गरेकोप्रति कविको गम्भिर चिन्ता छ ।

इतिहासको कुनै कालखण्डमा नेपालबाट भारत, भूटान, वर्माका कतिपय ठाउँहरुमा खोरिया फाँड्दै हिँडेका धनेहरु इतिहासको अर्को कालखण्डमा नेपाललाई पारवहन बनाउँदै विश्वका विभिन्न मुलुकहरुमा जान बाँध्छन्, यो हिँडाइ कलिलेसम्मलाई हो, कहाँसम्म हो, कसले भन्न सक्छ ? तथापि यी यायावरलाई सँधै नेपाली संस्कृति र सव्यताको मायाले मुटुमा गाँठो पारी रहँदोरहेछ । धनेहरु निरन्तर हिँडिरहे ! कविता संग्रह पढ्नेले यही कुराको वोध गर्ने छन् ।

कतिपय ठाउँमा व्यङ्ग्य र विद्रोहको स्वर टड्कारो भएर उपस्थित हुन्छ –खालिङ्का कवितामा । उनी आफूले देखेको र भोगेको कुरालाई इमान्दारिताका साथ प्रस्तुत गर्दछन् । उनको लेखनमा एक किसिमको आदर्शप्रतिको आग्ह छ, एक किसिमको चिन्ता र असन्तोष पनि प्रकट भएको पाइन्छ । उनी जीवनका विविध आयामको सफलतापूर्वक चित्रण गछर्न् र सँधै नवीनता र सिर्जनाका मौलिक फाँटहरुको खोजी गर्छन् । बिम्ब, प्रतीक र मिथकहरुको प्रयोगले कविताको वैशिष्ट्यलाई माथि उठाउन खोज्ने कवि खालिङमा कला चेतनाले राम्रो फुल्ने र सुवास दिने सौभाग्य प्राप्त गरेको छ । उनले टिपेका प्रतीकहरु,पुराकथा, नेपाली लोक जीवन, धर्म–संस्कृति, विज्ञान, भूगर्भशास्त्र आदिबाट आएका छन् र कतिपय सन्दर्भमा मौलिक र सिर्जनात्मक प्रतीकहरुको पनि प्रयोग भएको पाइन्छ । उनका प्राय जसो कवितामा भावको राम्रो प्रवाह छ , केही केही कवितामा मात्र भावमा गतिरोध उत्पन्न हुन्छ । विषयवस्तुको विविधता, चिन्तनको गहिराइ र सिर्जनाका अनेक आयामहरु खोज्ने कवि खालिङ् समकालीन नेपाली कविताभूगोलका एक वरण्य कवि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *