रङ्गमञ्च
तिलारूपा आचार्य (अधिकारी)
ओहायो, अमेरिका
एक्कासि मञ्चमा
गुन्जेको आवाजले
सबैको ध्यानाकर्षण गराउँछ
रङ्गमञ्चको पर्दा खुल्छ …
र,
ऊ भन्दै जान्छ
हामी महान छौँ , हामी वीर छौँ
हामी दानवीर हौँ
उसै गरी सानवीर पनि हामी।
अदुर्दशीताको सिकर्मी हामीहरू
आफ्नो घर भत्केको देख्दै देख्दैनौँ
अर्काको छानो र मानो टाल्ने
प्रतिपर्दाको दौडमा फुत्त भाग लिन्छौँ
अनि निःशुल्क उपदेश र निर्णय सुनाउन
हामी हरतरह तत्पर हुन्छौँ
महान्न्यायधीस भन्दा पक्कै कम छैनौँ।
अर्को पात्र सँगसँगै भित्रियो
भावना …
भावुकताका केही शब्दहरूको
चारो फ्याल्न नभ्याउँदै
हामी सजिलै सम्मोहित भइदिन्छौँ
अनि कसैले हामी माथि लुटिरहन्छ
नभए आफू स्वयम लुटाउन तत्पर हुन्छौँ।
मानौँ,
हिजो आज मात्र होइन
सदियौँ देखी लुटिँदै आएका हामी
सधैँ लुट्दिरहनु पर्ने हाम्रो इतिहास हो।
त्यसैले होला,
यतै कतै उभिएर
कवि भूपिले भनेका होलान्
हामी वीर छौँ,तर बुद्धु छौँ
हामी बुद्धु छौँ,र त हामी वीर छौँ।
अर्को खाइलाग्दो पात्र
सुरु हुन्छ मञ्चको छेवैबाट
र फलाक्न थाल्छ
हामी आफ्नै प्रतिभाहरूको
कदरका निम्ति कहिल्यै जुट्दैनौ
तर, विश्व चम्काउने
फुस्रा नाराहरूमा भाग लिइरहन्छौँ।
अनि बेमौसमी बाजा बजाई रहन्छौँ।
हामी यस्ता सम्म भइसकेछौँ कि
यति सम्म विश्वास गर्छौँ कि
हामी एकै क्षणमा
मान्छेलाई भगवान् बनाई दिन्छौँ
बेस्कन अबीर घस्छौँ ,
माला र खादाको ओइरो पहिरो भिराएर
ताली पड्काउन व्यस्त हुन्छौँ ।
अनि यति विश्वस्त हुन्छौँ की
उसले जादुको छडी घुमाउने छ
र सब थोक ठिक पार्दिने छ
बिचरा,
धेरै बाठा हामीहरू
मान्छेलाई सिर्फ मानव मात्र भएर
बाँच्न कठिन यो समयमा
कथित भगवान् प्रति आफ्नै पुर्पुरो ठोक्छौँ
भुईँमा बेस्कन थेचारिन्छौँ
अनि निमेष भरमै गराइदिन्छौँ
पदावनति भगवानबाट राक्षसमा ।
विशिष्ट पात्रको प्रवेशसँगै
तालीको गड्गडाहाड गुन्जिन्छ
ऊ यथार्थ नाटकको अभिनयकर्ता
उसको एउटा हातमा केही गुच्छा फूल
र सुकेका तुलसी मञ्जरी
र अर्को हातमा क्यामेरा फोन ।
श्रद्धाञ्जली सभामा हतारिँदै छिर्छ
मृतकप्रति श्रद्धा सुमन अर्पण गर्दै गरेको
त्यो समवेदनाको संवेदन घडीमा
ऊ र उनीहरू व्यस्त हुन्छन् सेल्फी लिन
अस्ताएको एउटा घामसँग ।
ऊ हतारमा निस्कन्छ
सायद उसलाई धेरै बेफुर्सद छ
नयाँ पोस्ट अब्डेट गर्न
लाइक र कमेन्टको ओइरो हेर्न।
बिचरा,
धेरै जाने बुझे जस्तो गर्ने मान्छे
उसलाई के थाहा ?
श्रद्धाञ्जली, समवेदना,श्रद्धा भन्ने
शब्द भाव नै संवेदनशील हुन्छन् भनेर।
यति खेर ,
म समयको भर्याङ चढ्दै
यो जिन्दगीलाई नियाली रहेछु
एक हातमा फ्रप्पोचिनो
अर्को हातमा घाँसी कविताको
प्यामप्लेट चेपेर
यो नाटक हेरिरहेकी छु
एउटा यथार्थको सानो चेपबाट ।।