बाउको सपना
एस्. बी. कटुवाल “सुरेश”
ओहायो , अमेरिका
माइधारको बगरमा
तातो बालुवाको सिरानी,
सडकको किनारामा
तिरपालको पाल र बाँसको टहरो।
रातभर तप्पानीको कुटाइ,
दिनभर गाडीको आवाजको गोदाइ
नाङ्गै र भुतुङ्गै छटपटिँदै
कयौँ रात भोकै बित्थे।
काहालीलाग्दो शरणार्थी जीवन,
पाल र बाँसको खुट्टा समातेर
चामल र दाल थाप्न
घण्टौँ पर्खिएर
गुज्रेको जिन्दगी।
बीसौँ वर्ष कुर्दा पनि
देश फर्किने बाटो अनिश्चित देखेपछि,
सपना चकनाचुर भएपछि
आफ्ना सन्तानको
भविष्य सुनिश्चित गर्न
एउटा निर्दोष बाउ
तेस्रो देश रोज्न बाध्य हुन्छ।
जब सपनाभन्दा बाहिरको संसार,
कल्पनै नगरेको ठाउँ,
नदेखेको समाज,
नसुनेको र नभोगेको परिस्थितिसँग
जुध्न पुग्छ,
तब जीवन के हो
भनेर बुझ्न थाल्छ।
हरेक दिन
समय र ठाउँअनुसार
चुनौतीलाई परास्त गर्न
समाधान खोज्दै,
दैनिकी गुजारा चलाउन
यी पौरखी हातहरू नरोकिन्
खुशी र उमङ्ग थन्क्याएर
कम्पनी–कम्पनी धाउँदै
हात र खुट्टाका छाला आधा फालेर
जिन्दगी जिउन थाल्छ।
हो, उसका लागि—
“हिजो समय थियो, पैसा थिएन।
आज पैसा छ, तर समय छैन।”
फरक यत्ति हो।
समय र परिस्थितिले,
ऋण र रोगले
जब गाज्छ,
हातखुट्टा थामिन छाड्छन्
अनि नर्सिङ होमको सहारा लिन
बाध्य हुन्छ।
नर्सिङ होममा अचेत अवस्थामा
बेडमा लडिरहेको बेला,
नर्सले अनियन्त्रित सुगरको
सुई घोच्दा
तब थाहा हुन्छ—
सन्तानको भविष्य बनाउन हिँडेको बाउ
छोराले लगेर
नर्सिङ होममा
थन्काइदिएको रहेछ।
करोडौँ मानिसहरूको हुलभित्र
म एक्लो, हराएको मान्छे हुँ।
अनगन्ती सपनाहरू थन्क्याएर
गरिबीको भूमरीमा पिल्सिएको,
नागरिकता भएर पनि
देशविहीन, अनागरिक
बनाएर मिल्काइएको मान्छे हुँ।

