वर्णदेखि जातिसम्म: सनातन परम्पराको अपव्याख्या
रुपनारायण पोखरेल
पेन्सेल्भेनिया, अमेरिका
सनातन परम्पराभित्र देखिने जातीय वर्गीकरणको विषय मुलत भारत र नेपालमा लामो समयदेखि गम्भीर बहसको विषय बनेको छ। आज यो सवाल भारत र नेपाल हुँदै संसारका बिभिन्न मुलुकहरुमा ( विशेष गरी भारतीय र नेपालीहरु बसोवास गरेका देशहरुमा समेत पुगेको छ । सामाजिक दृष्टिले हेर्दा यो एउटा गहिरो समस्याका रूपमा देखापरेको छ, जसले मानव समानता, सामाजिक गतिशीलता र प्रगतिलाई अवरुद्ध गरेको छ। सनातन परम्पराको यो लामो इतिहासमा उचित शिक्षा र शास्त्रीय अध्ययनको अभावका कारण धेरै मानिसहरूले चार वर्णको अवधारणालाई जन्मआधारित र स्थायी सामाजिक संरचनाको रूपमा बुझ्दै आएका छन्। तर वैदिक तथा दार्शनिक ग्रन्थहरूको अध्ययनले यस्तो निष्कर्ष निस्कँदैन।
सनातन परम्परामा आस्था राख्ने विशेष गरी ग्रामीण क्षेत्रमा बसोवास गर्ने लाखौं सर्वसाधारणहरूले चार वर्णको विषयलाई शास्त्रमा वर्णित सत्यको रूपमा स्वीकार गरेका छन्। तर वैदिक र वेदान्त दर्शनको अध्ययन गर्ने विद्वानहरूको मत अनुसार यस्तो बुझाइ शास्त्रीय अवधारणाको अपव्याख्याबाट जन्मिएको हो भन्ने रहेको छ । सयौं वर्षअघि गरिएको गलत व्याख्या क्रमशः सामाजिक परम्पराको रूपमा स्थापित हुँदै गयो र पछि आएर त्यसलाई धार्मिक सत्यकै रूपमा स्वीकार गरियो।
चार वर्णको चर्चा हुँदा प्रायः “ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र” भन्ने शब्दहरूलाई आजको जन्मआधारित जात प्रणालीसँग सिधै जोडेर बुझिन्छ। तर वैदिक ग्रन्थहरूमा यी शब्दहरूलाई मानिसको जन्मसँग भन्दा पनि उसको गुण, प्रवृत्ति र कर्मसँग सम्बन्धित रूपमा व्याख्या गरिएको पाइन्छ। उदाहरणका रूपमा श्रीमद्भगवद्गीताको प्रसिद्ध श्लोक “चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः” (४:१३) मा वर्ण विभाजन गुण र कर्मका आधारमा गरिएको उल्लेख छ। यसले वर्ण व्यवस्था सामाजिक कर्तव्य, प्रवृत्ति र व्यक्तिगत क्षमतासँग सम्बन्धित अवधारणा हुनसक्ने संकेत दिन्छ। शास्त्रले वर्णलाई जन्मसँग अनिवार्य रूपमा बाँधिएको स्थायी संरचनाका रूपमा व्याख्या गरेको कतै पनि पाइँदैन।
प्रारम्भिक वैदिक समाजको स्वरूपबारे ऋग्वेदले पनि यसबारे प्रष्ट शिक्षा दिएको छ । विशेष गरी ऋग्वेद ९.११२.३ मा एउटै परिवारका सदस्यहरू विभिन्न पेशामा संलग्न रहेको उल्लेख छ:
कारुरहं ततो भिषग् उपलप्रक्षिणी नना ।
नानाधियो वसूयवो अनु गा इव तस्थिम ॥
यस श्लोकको सामान्य अर्थ: “म कवि वा ऋषि हुँ, मेरा बुबा वैद्य हुनुहुन्छ र मेरी आमा अन्न पिस्ने काम गर्नुहुन्छ।” एउटै परिवारभित्र विभिन्न पेशा भएको यो चित्रणले प्रारम्भिक वैदिक समाजमा पेशागत लचकता रहेको संकेत गर्दछ। यस सन्धर्भले त्यस समय समाजमा जन्मआधारित जातीय संरचना भन्दा पनि पेशागत विविधता र सामाजिक गतिशीलता विद्यमान थियो भन्ने पुष्टि गर्दछ ।
प्रारम्भिक वैदिक कालमा आजको जस्तो जात व्यवस्था थिएन भन्ने कुरा धेरै विद्वानहरूले स्वीकार गरेका छन्। त्यस समय वर्ग विभाजनभन्दा पनि वर्ग विशिष्टीकरण थियो। समाजमा ऋषि वा पुरोहित, राजा वा योद्धा, व्यापारी वा किसान र सेवक वा श्रमिकजस्ता विभिन्न भूमिकाहरू थिए, तर ती स्थायी जन्मआधारित सीमाहरूमा बाँधिएका थिएनन्। ऋग्वेदको उक्त उदाहरणले एउटै परिवारभित्र पनि फरक–फरक पेशा र सामाजिक भूमिका हुन सक्ने अवस्था रहेको देखाउँछ।
महाभारत, रामायण जस्ता प्राचीन ग्रन्थहरूमा पाइने कथाहरूले पनि यही लचकतालाई पुष्टि गर्ने संकेत दिन्छन्। महाभारतमा स्पष्ट रूपमा भनिएको छ कि मानिस जन्मले होइन, कर्मले ब्राह्मण वा शूद्र हुन्छ। वेदव्यास, जसले महाभारतको रचना गरे र वेदहरूको विभाजन गरे, उनी एक मत्स्यगन्धा अर्थात् माझीकी छोरीबाट जन्मिएका थिए। तर ज्ञान, तपस्या र विद्वत्ताका कारण उनी इतिहासका महान् ऋषिहरूमध्ये एक मानिन्छन्।
त्यस्तै विश्वामित्र जन्मले क्षत्रिय अर्थात् राजा थिए। तर कठोर तपस्या, साधना र आध्यात्मिक उन्नतिका कारण उनी ब्रह्मर्षि अर्थात् ब्राह्मणको सर्वोच्च पदमा पुगे। वाल्मीकि पनि प्रारम्भमा रत्नाकर नामक एक डाकु थिए भन्ने कथा पाइन्छ, तर साधना र आत्मपरिवर्तनको माध्यमबाट उनी रामायणका रचयिता ‘आदिकवि’ बने।
छान्दोग्य उपनिषदमा एउटा ‘सत्यकाम जाबाल’को प्रसंग उल्लेखनीय छ। प्राचीन कालमा सत्यकाम नामका एक युवकमा ब्रह्मविद्या प्राप्त गर्ने तीव्र अभिलाषा थियो। तत्कालीन परम्परा अनुसार गुरुको आश्रममा दीक्षा लिनुअघि आफ्नो गोत्र (वंश) खुलाउनु अनिवार्य हुन्थ्यो। उनले आफ्नी माता जबालासँग सोधे, ‘हे आमा! मेरो गोत्र के हो? म कुन वंशको हुँ?’
माता जबालाले सत्य ओकल्दै भनिन्, ‘छोरा ! म जवानीमा परिचारिकाको रूपमा विभिन्न स्थानमा कार्यरत रहेकाले तिम्रो गोत्रका बारेमा मलाई ज्ञात भएन। म जबाला हुँ र तिमी सत्यकाम हौ; त्यसैले तिमीले आफूलाई ‘सत्यकाम जाबाल’ भनेर चिनाउनु।’
सत्यकाम महर्षि गौतमको आश्रममा पुगेर शिष्य बन्ने इच्छा प्रकट गरे। जब ऋषिले उनको गोत्र सोधे, सत्यकामले आमाबाट सुनेको यथार्थ विवरण निःसंकोच व्यक्त गरे। उनको यो अद्भुत स्पष्टवादिता र सत्यनिष्ठाबाट प्रभावित हुँदै महर्षि गौतमले भने, “एतादृशं कठोरं सत्यं कश्चित् अब्राह्मणः वक्तुं न शक्नोति। त्वं सत्यमार्गं न त्यक्तवान्। मया तव इच्छाशक्तिः, विनम्रता, सत्यपालनं, सत्कर्मणः अभिलाषा च पूर्णरूपेण दृष्टा। त्वं कस्मिन् कुले जातः इति न मुख्यम्, अपितु तव गुणाः एव मुख्याः। अतः त्वमेव वास्तविकः ब्राह्मणः असि।” अर्थात्: ‘यस्तो कठोर सत्य एउटा अब्राह्मणले पनि बोल्न सक्दैन। तिमीले सत्यको मार्ग त्यागेनौ,तिमीमा देखिएको इच्छा शक्ति, विनम्रता, सत्यको अनुसरण र सत्कर्मको अभिलासा पुर्णरुपमा मैले देखें । तिमी कुन कुलमा जन्मियौं भन्दा पनि तिमीमा के गुण छ भन्ने प्रमुख्ता हो, त्यसैले तिमी नै वास्तविक ब्राह्मण हौ।’ ऋषिले उनलाई सहर्ष शिष्यका रूपमा स्वीकार गरे। यी महर्षि गौतम तिनै ऋषि हुन् जसले न्याय दर्शनको प्रथम शास्त्र रचना गरेका थिए।
समयसँगै समाज जटिल बन्दै गयो। जनसंख्या बढ्दै गयो, राज्य संरचना विकसित भयो, कृषि विस्तार भयो र पेशागत विशेषज्ञता बढ्न थाल्यो। मानिसहरू विभिन्न भूभागमा फैलिन थालेपछि सामाजिक संरचनामा पनि परिवर्तन आयो। मानिसहरूले आफ्नो आर्थिक अवस्था, पेशा वा सामाजिक सम्बन्धका आधारमा छुट्टाछुट्टै समूह बनाउँदै गए। यसै क्रममा “फलानो मानिस यस समूहमा जन्मिएको” वा “फलानो मानिस यस जातमा जन्मिएको” भन्ने धारणा विस्तारै विकसित हुन थाल्यो।
विवाह, पेशा र सामाजिक सम्बन्धहरू क्रमशः जातका आधारमा निर्धारण हुन थाले। केही शक्तिशाली वा प्रभावशाली समूहहरूले आफूलाई अरूभन्दा माथिल्लो स्तरमा राख्ने प्रवृत्ति विकास गरे। यसै क्रममा वर्ण प्रणालीलाई जन्मआधारित जात प्रणालीका रूपमा व्याख्या गर्न थालियो। समयक्रममा केही प्रभावशाली समूहहरूले आफ्ना सामाजिक हित सुरक्षित गर्न वर्ण अवधारणालाई स्थायी सामाजिक वर्गका रूपमा प्रस्तुत गर्न थाले।
यस्तो परिवर्तन कहिले, कसरी र कसको प्रभावमा भयो भन्ने विषय अझै अनुसन्धानको क्षेत्रमै छ। तर समाजशास्त्रीय दृष्टिले हेर्दा कुनै अवधारणालाई निरन्तर दोहोर्याएर सामाजिक सत्यको रूपमा स्थापित गरिने प्रक्रिया संसारका धेरै समाजमा देखिन्छ। आधुनिक मनोविज्ञानमा यसलाई “फायरहोज अफ फल्सहुड” (Firehose of Falsehood) भन्ने प्रचार रणनीतिसँग तुलना गरिन्छ। जब कुनै विचारलाई बारम्बार र विभिन्न स्रोतबाट दोहोर्याइन्छ, तब मानिसहरूले त्यसलाई प्रश्न नगरी सत्यका रूपमा स्वीकार गर्न थाल्छन्।
सनातन परम्परामा पनि वर्ण व्यवस्थालाई जन्मजात श्रेष्ठताको सिद्धान्तका रूपमा प्रस्तुत गर्न यस्तै प्रकारको निरन्तर अपव्याख्या गरिएको हुन सक्ने अनुमान गर्न सकिन्छ । शास्त्रको अर्थलाई अपव्याख्या गरेर समाजमा बारम्बार दोहोर्याइँदा त्यसले क्रमशः स्थायी सामाजिक संरचनाको रूप लियो। परिणामस्वरूप जातीय विभेद दक्षिण एसियाली समाजमा गहिरो रूपमा जरा गाड्दै गयो।
नेपाल र भारतको इतिहासमा मध्यकालीन समयमा यो व्यवस्था झन् कठोर भएको देखिन्छ। नेपालको सन्दर्भमा चौधौँ शताब्दीमा जयस्थिति मल्लको शासनकालमा गरिएको सामाजिक वर्गीकरणले धेरै पेशाहरूलाई स्थायी जातीय संरचनामा बाँध्ने काम गर्यो। यसले समाजमा मानिसको गतिशीलता सीमित बनायो।
भारतमा पनि औपनिवेशिक कालमा गरिएको ब्रिटिस जनगणनाले मानिसहरूलाई निश्चित जातीय कोटिहरूमा वर्गीकृत गर्यो। यस प्रक्रियाले पहिले लचिलो रूपमा अस्तित्वमा रहेका सामाजिक पहिचानहरूलाई कठोर जातीय संरचनामा परिणत गर्न सहयोग पुर्यायो।
आधुनिक समयमा भने दक्षिण एसियाली देशहरूले समानताको सिद्धान्तलाई कानुनी रूपमा स्वीकार गरेका छन्। नेपालको संविधान २०७२ र भारतको संविधान १९५० ले समानताको अधिकारलाई मौलिक अधिकारका रूपमा स्थापित गरेका छन्। हालै नेपाल सरकारले समेत जातीय विभेदको अन्त्यका बारे उत्घोष गरेको विषयले केही सचेतना आएको हो कि भन्ने पनि देखिन्छ । रोचक कुरा के छ भने आधुनिक कानुनले दिएको समानताको सन्देश वास्तवमा वैदिक तथा उपनिषदिक दर्शनको मूल मर्मसँग धेरै हदसम्म मेल खान्छ।
आजको लोकतान्त्रिक समाजमा एउटा किसानको छोरा डाक्टर, वैज्ञानिक वा पाइलट बन्न सक्छ। यो सामाजिक गतिशीलता वास्तवमा गीता द्वारा प्रतिपादित गुण र कर्मको सिद्धान्तसँग मिल्दोजुल्दो देखिन्छ। प्राचीन दर्शनले मानिसलाई उसको क्षमता, रुचि र योग्यता अनुसारको कर्तव्य निर्वाह गर्ने स्वतन्त्रता दिएको थियो। आधुनिक लोकतन्त्रले पनि यही स्वतन्त्रतालाई कानुनी आधार दिएको छ।
यसैले सनातन परम्पराको सही मर्म बुझ्न केवल नाराबाजी पर्याप्त हुँदैन। मूल शास्त्रहरूको गहिरो अध्ययन, तार्किक विश्लेषण र सामाजिक चेतना आवश्यक छ। जातीय विभेदको समस्या समाधान गर्न तीनवटा पक्ष विशेष रूपमा महत्वपूर्ण देखिन्छन्।
पहिलो, शास्त्रीय साक्षरता। मानिसहरूले बुझ्नुपर्छ कि जातीय उच–निचका धेरै अवधारणाहरू सुरुमा कुनै स्वार्थ पूर्तिका लागि एकाद समुहका मानिसहरुले गरिएको व्याख्या वा सामाजिक स्वार्थका परिणाम हुन्।
दोस्रो, मानसिक रूपान्तरण। ऋग्वेदमा वर्णित पेशागत लचकता र सामाजिक खुलापनलाई आधुनिक समाजमा पुनर्स्थापित गर्नुपर्छ। यसका लागि सनातन समाजले उच्च मान्यता प्रदान गरेका आचार्य, पण्डितहरुले खुलारुपमा श्रीमद्भगवद्गीता, ऋग्वेद र महाभारतमा वर्णित विषयलाई समाजमा मुखरित गर्न सक्नु पर्दछ ।
तेस्रो, श्रीमद्भगवद्गीताको ४:१३ को ‘गुण-कर्म’ सिद्धान्तको बोध: जबसम्म एउटा मानिस ‘देह-बुद्धि’ (म शरीर हुँ भन्ने भाव) मा रहन्छ, ऊ शूद्र अवस्थामा हुन्छ। यहाँ उसको कर्म केवल सेवा र अस्तित्व रक्षामा सीमित हुन्छ। तर, जब उसले “म को हुँ?” र “मेरो समाजप्रतिको उत्तरदायित्व के हो?” भन्ने चिन्तन सुरु गर्छ, उसको चेतनाको स्तर उठ्छ। स्व-अस्तित्वको यो बोधले उसलाई वैश्य बनाउँछ, जहाँ उसले अर्थ, कर्म र दायित्वको सन्तुलन मिलाउन थाल्छ।
साधकले जब आफ्ना इन्द्रियहरूको प्रभाव र तिनले पैदा गर्ने विकारहरू बुझ्न थाल्छ, तब ऊ वास्तविक क्षत्रिय बन्दछ। शास्त्र अनुसार क्षत्रिय त्यो हो, जसले बाह्य शत्रुलाई मात्र होइन, आफ्ना आन्तरिक विकार (काम, क्रोध, लोभ) र प्रकृतिका तीन गुणहरू सत्, रज र तम सँग जुध्न सक्छ। यो अवस्था भनेको ‘प्रवृत्ति’ लाई ‘निवृत्ति’ तर्फ मोड्ने वीरताको अवस्था हो।
अन्त्यमा, जब साधकले प्रकृतिका तीनै गुणहरूलाई छेदन गरेर आफूलाई पूर्ण रूपमा परमात्मामा समर्पित गर्दछ, ऊ ब्राह्मण बन्दछ। यो केवल अध्ययन होइन, ‘अनुभूति’ को अवस्था हो। यहाँ कर्म ‘योग’ मा परिणत हुन्छ र साधक ‘स्थितप्रज्ञ’ बन्दछ।
अन्त्यमा, सनातन परम्परामा देखिएको जातीय वर्गीकरण कुनै दैवी विधान नभएर मानवीय त्रुटि, आदिकालदेखि केही निश्चित वर्गको स्वार्थ र शास्त्रको अपव्याख्याको उपज हो। नेपाल, भारत र भुटानको सामाजिक संरचनामा यसले पारेको नकारात्मक प्रभावलाई चिर्न अब ‘शास्त्रको मर्म र आधुनिक विज्ञानको तर्क’ दुवैलाई सँगै लिएर अघि बढ्नुपर्छ। शास्त्रले मानिसलाई मुक्त गर्न सिकाउँछ, बाँध्न होइन। जबसम्म हामी ‘ कुन घरनामा जन्म भएको हो’ भन्दा माथि उठेर ‘कर्म’ र ‘गुण’ लाई सम्मान गर्न सिक्दैनौँ, तबसम्म हाम्रो समाजमा व्याप्त यो अभेद्य भ्रमको पर्खाल ढल्ने छैन। वास्तविक सनातन धर्म त त्यो हो, जसले हरेक मानवमा ईश्वरको अंश देख्छ र सबैलाई आफ्नो क्षमता अनुसार फुल्ने र फल्ने अवसर प्रदान गर्दछ। यस धर्तीमा जन्मेका सबै व्यक्ति एक अवस्थामा शुद्र हुन्छन र कर्मका आधारमा वैश्य, क्षत्रिय हुँदै ब्राह्मण बन्दछन् ।
“सबै बाहुन ब्राह्मण हुँदैनन् र सबै ब्राह्मण बाहुन हुँदैनन्”

