गरिबको दशैं
दिपक थापा अमेरिका नयाँ लुगा लगाउन पाइने खुसीमा उफ्रिंदै थिए केटाकेटीहरु कसैलाई भ्याई नभ्याई थियो फुर्ति लाउनुमा “मेरो त जिनको प्यान्ट ल्याई दिनु हुन्छ रे ड्याडीले”, ” मेरो त घरमा ठूलो खसी ल्याउने रे “, “हाम्रो घरमा पिंग हाल्ने रे” साथीहरुको पालै पिलोसंग आउने आवाजलाई कुनै वास्ता नगरी बस्यो डल्ले त्यो बखत । छेवैबाट पिंगको झड्कासंगै “दसैँ आयो हो हो दसैँ आयो” भन्ने बोलको गीतलाई ठूलो जमात सुरमा सुर मिलाइरहेथे । बिल्कुलै रमाइलो दिन आकाशमा चरा चुरुंगी खुसी साथ उडिरहेथे मानौ दसैँ उनीहरुको मात्र पेवा हो अनि त भुइँबाट उडाइएका काइटसंगसंगै प्रतिष्पर्धा गरिरहेथे सकीनसकी उडेर । रातो माटोमा सजिएका घर अनि सुनौलो वातावारण संगै हर्ष र उल्लास सबैका अनुहारमा प्रष्टसंग झल्किएको देखिन्थ्यो उदास छ त केवल डल्लेको बा खै किन हो उसलाई आज दिन पनि रातझैँ, हाँसु हाँसु र रमाइरहौँ जस्तो लाग्ने संसार एकाएक स्मशानघाटझैं निश्पट्ट र सुनसान भएको छ अनि त पुर्पुरोमा हात राखी आफैंभित्र हराको छ आज ऊ । जीवनमा फेरि एक पटक ठूलो चोटको भारीले थिचेको छ र प्राए जसो वर्षेनी थिचिरहने गरेकोछ उसलाई । लामो खुइ तान्दै टोपी फुकाली निधार र गालाबाट गन्तव्यविहिन भएर बगेका पसिना पुस्छ उसले । हिजो सम्मका ती घरका रमाइला एक – एक खुसीहरु औंसीको रातमा देखिने कालो बादलको साथमा हानिएर अकल्पनीय ठाउँमा होमिंदै छन् उसका लागि । फेरि निक्कै बेर टोलाउदै सोच्छ – रात कहिले नाबितोस अनि भोलि कहिले
नआओस् डल्लेका बाका लागि । एकछिन टोलाएपछि आकाशमा देखिदै गरेको घाम हेर्छ -३ बज्न आँटेछ । काँधमा एउटा गरिबी झल्काउने पुरानो गाम्चा वा टावल राख्छ र लाग्छ ऊ उकालो देसिको बाटो । पहिला जति गम्भीर देखिन्थ्यो त्यसभन्दा पनि सयौ गुना बडी गम्भीर भएको थियो उ त्यसैले त चर्को घाम अनि प्रचण्ड गर्मि नभनी उकालो बाटोलाई चिरेर कर्नेल राहुतको घरको आँगनमा उभिएको थियो ऊ । गरिबीको च्यादर ओडेर पनि उसले आफ्नो उदाङ्गो वक्षस्थल कहिले पनि लुकाएर लुकाउन सकेको थिएन न त करोडौ कोसिसमा बदल्न नै । त्यसैले त एउटा भोको भिखारी सरह ऊ त्यहाँ उपस्थित भएको थियो केही पाउने आशामा तर त्यो आभागीको पिरमार्का कसैले पनि बुझेनन् न त बुझेझैँ गर्न नै आए उसको सामिप्य । कर्नेल राहुतको पुजीवादी हाँक र डल्लेको बाको गरिबी एउटा खोलाको दुई किनाराका रुपमा देखा परे । ती न त चाहेर मिल्न सक्छन् नत मिल्ने नै छन् कालान्तरसम्म । डल्लेका बाको प्यारो खुल्ला आकाश अनि पुरै धर्तिबाहेक उसको हुँदै नभएको जमिन र गरगहनाको फाइदा अनि कमि कमजोरी उठाएर कर्नेल ठूलो धनको घमण्डको सागरमा पौडी खेलिरहे नि…..कै….बे….र… आफ्नो भाग्यलाई एउटा बेवारिशे बाटाको कालो बिनाकामे ढुंगासंग तुलना गर्यो । त्यही ढुंगालाई कर्नेलको रिस पोख्न एक लात बल गरेर बजार्यो र गन्गनाउदै ओह्रालो झर्यो ऊ । बाटामा देखिने उसैका खाली खुट्टाका पाइलाहरुले पनि गरिबी कै या भनौं त उसकै खिसी गरेको पायो उसले । बाटामा बजार भरेर आउने मानिसहरुको लामबाट सक्दो बच्ने प्रयास गर्दै उ आफ्नै धुनमा लुक्दै र छेलिदै घर नजिकै पुगेथ्यो मात्र उसले आँगनबाटै घरभित्र एक मात्र छोरा डल्लेको आवाज सुन्यो- “आमा – आमा मलाई नयाँ लुगा र एउटा कालो अनि ठूलो खसी चाहियो ……काले …….हरि …….अनि श्यामहरुको जस्तै ।” पछि भित्रैबाट उसकी स्वास्नी खै के भनेर डल्लेलाई सम्झाइरहेकी थिई । त्यतापट्टि उसले कुनै ध्यानै दिएन किनकि आफ्नो एकमात्र छोराको मार्मिक शब्दहरु सुनिसकेपछि एक्कासी संसार भासिदै गयो उसकालागि अनि सम्झ्यो आफू सानो छदा दसैँ मेलामा एउटा पटका र झिरझिरे किनिमाग्दा आमाले भनेका कुराहरु “बाबु पैसा छैन । तँ आफैं थाहा पाइहल्छस् नि ठूलो भएपछि । जिद्दी नगर् न ।” उसका जिउने आधारका धर्का मेटिदै गएझै लाग्छ उसलाई कारण ऊ फेरि अब कसैलाई केही पाउने आशामा प्रकृतिले दिएको परिचय “गरिबी ” आफ्नो नाङ्गो छाती चिरेर देखाउनु पर्ने छ आफ्नो र घरपरिवारको खुसी लागि पनि । उसले चाहेर पनि एउटा छोराको इच्छा पुरा गर्न सकिरहेको थिएन । त्यसैले त उ झन् गहिरो खाडलभित्र पसेको जीवझैँ आतिदै खोज्न थाल्छ । “अब आज एकै दिनमा के गर्ने ? कहाँबाट आशाको बत्ति बाल्ने हो ? उफ ! उसै त म गरिब ।”

