गुनासो

झगेन धिमाल
मेलवर्न, अस्ट्रेलिया 

जति हार गुहार गर्नुहोस्
जति आँसुका खोला बगाउनुहोस्
अझै चिच्याउनुहोस्, अझै कराउनुहोस्
गुनासो शब्द नै काफी छ,
तपाईं सुनाउनुहोस्, म नसुने झैँ गर्छु
अझै पीडा देखाउनुहोस्, म नदेखेझैँ गर्छु।
मलाई तपाईंको गुनासो सुन्ने र पीडा हेर्ने फुर्सद छैन।

ती काखहरूमा पौडिने मेरा ती रहर
ती अँगालोहरूमा बेरिने मेरा ती चाहना
सँगै हिँड्ने, सँगै खाने, सँगै खेल्ने मेरा ती सपना
त्यो बेलाका ती सपना, त्यही बेला बिपना भइदिएको भए
म कति भाग्यमानी हुन्थेँ होला
तर, तर ती मेरा अधुरा सपनाहरू
कसरी म आज पूरा गर्न सकूँ?

ती छातीमा धड्किने धुनहरूमा निदाएझैँ गर्ने बहाना
काँधमा बसेर टाउकोमा ठुँग हान्ने मेरा चाहना
घुर्क्याउने, दंग्याउने, जिस्काउने मेरो ती सपना

त्यो बेलाका ती सपना, त्यही बेला बिपना भइदिएको भए
म कति भाग्यमानी हुन्थेँ होला
तर, तर ती मेरा अधुरा सपनाहरू
कसरी म आज पूरा गर्न सकूँ?

हो, हो त्यो बालक पनमा यी सब सोच्न सकिन
मन त च्वास्स घोचेकोथ्यो, तर देखाउन सकिन
त्यो माया पाउनबाट ठगिएको मान्छे म
जबरजस्त सम्बन्ध टुटाइएको मान्छे म
तर, तर सक्दैन यो मन त्यही काण्ड दोहोर्‍याउन
म जस्तै मेरा सन्ततिलाई रुवाउन।

सम्बन्ध के हो तपाईंले छुट्ट्याउन सक्नु भएन
भगवान्को हो तपाईँले चिन्न सक्नु भएन
तर मलाई यति गर्व छ कि
म कहिल्यै ‘तपाई’ बन्न सकिन
किनकि.. किनकि मेरा निर्दोष सन्ततिलाई
मेरै पीडाको खोल ओढाउन म चाहन्न।

मलाई, मलाई एक दिन यी सब सुनाउनु थियो
दिन सबको आउँछ भन्ने महसुस गराउनु थियो
तपाईंले हिँडेको बाटो म हिँड्न सक्दिन
साँच्चै हो, म कहिल्यै ‘तपाई’ बन्नै सक्दिन
त्यसैले, त्यसैले म सधैँ तपाईंको सेवा गर्छु
विश्वास गर्नुहोस् म सधैँ तपाईंको पूजा गर्छु।

थाहा छैन तपाईंलाई कतिको याद आउँछ
तर बाबा! मलाई हजुरबाको साह्रै याद आउँछ।
जब हजुरबाले मलाई देख्न परैबाट चियाउनु पर्थ्यो
म वहाँको आँखा भित्र मेरो तस्बिर प्रस्ट देख्थेँ
वहाँका हातहरूले मलाई सुमसुम्याइरहेको भेट्थेँ
अनि वहाँको आत्माले मलाई बोलाइरहेको सुन्थेँ।

हो बाबा, तपाईंकै कारण म वहाँ नजिक हुन सकिनँ
मैले त्यो क्षण वहाँसँग बिताउन सकिनँ
सबैका नाति(नी)हरू आफ्ना हजुरबासँग रमाउँदा
मैले त्यो पल वहाँसँग बिताउन सकिनँ
अनि जब यी सबको बाधक तपाईं भन्ने बुझेँ
मैले म जतिको अभागी कसैलाई सम्झनै सकिनँ ।

त्यसैले बाबा… मलाई माफ गरिदिनुहोस्
तपाईंले देखाएको बाटो म हिँड्न सक्दिनँ
आवेगमा केही गल्ती बोले माफ गर्नुहोला
चित्त सबैको दुख्छ, सायद दुख्यो होला
पोखियो शब्दहरू मनमा थाम्न सकिनँ
फुट्यो भकानो आँसु रोक्न सकिनँ ।

त्यसैले जानुहोस् बाबा… जानुहोस्
नाति तपाईंलाई पर्खिरहेको छ।
हो बाबा ऊ तपाईं कै प्रतीक्षामा छ
ऊ बाटो हेरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *