जरिङ्गाको अचार
डोना आचार्य
पेन्सेल्भिनिया
भालेको डाकसँगै,
नजिकैको थुम्की
हक रक चढ्न –
हस्याँङ्ग फस्याँङ्ग गर्दै
पुग्दा नपुग्दै –
मेरो समाजको
सङ्घर्ष र निरीहताको
याद आयो ।
यादमा,
दु:ख आयो
पीडा आयो
दया आयो
क्षमा आयो
रोदन आयो
स्वाद आयो ।
स्वादमा,
गुन्द्रुक आयो –
गन्हाए पनि
मिठो लाग्ने,
सिन्की आयो –
बयिल्येपछि
छुन नसकिने ।
छुनमा,
मेरो मित्रले छोएको
खान नहुने
उसले सिलाएको
धड्न हुने
मिठो मसिनोमा
छुइछितो नहुने
मेरो गाउँको
मेरो ठाउँको
गन्हाउने
परम्परा याद आयो ।
आउँदामा,
आउँदा –
जरिङ्गाको बुटो आयो
बुटो देखेँ
सुकेको फल देखेँ
बिउ देखेँ
वसन्तमा-
उम्रन पाउँदा नपाउँदै,
दु:खमा,
मिठो बनाएर खाइने
जरिङ्गाको अचार देखेँ ।
जरिङ्गाको अचारमा,
मेरो समाजको निरीहता देखेँ ।
मलाई,
जरिङ्गालाई
खान योग्य
बनाउन
उमालेको देखेँ ।
उमालेर
बनाएर
खाएको मिठो अचार –
उमाल्दै गर्दा
चलाउनु भने
विषाक्त हुने सम्झेर
बिस र ओखती
छुट्याउने बानी परे नि
मनलाई मारेर –
अर्काको सम्झँदै
उम्लिँदै गरेको
जरिङ्गो
नचलाएर
नमार्ने
निधो गरेँ
मेरो निधो
अर्काको निधो
बनिरहला ?
जरिङ्गाको अचार
कहिले सम्म
चलिरहला
अचार –
बिस फालेर बनाउँदा
मिठै हुन्छ
मेरो समाजका
कर्णधारहरूले
कति ध्यान देलान्
परम्पराको-
हत्तार हत्तार अचार
बनाउने भएर
पखाला मात्र लाग्ला कि
कतै मरिजालान्
बिस फालुन्जेल पर्खने
धैर्य
मेरा बाउ बाजेमा – थियो
ममा पनि छ
मलाई पखाला पनि लागेको छैन
के मैले
छोरोलाई
छोरीलाई
यो बिसबाट
बिसमा
खाना खोज्न
सिकाउँला?
अभावमा
सङ्घर्ष गर्दै
बाँच्नुको आनन्द
खै!
अभावमा
दु:खमा
स्वभावमा
सुखमा
यो अचार खाने चलन
उस्तो कि
हाम्रो
चोरी छली खाने
मानसिकता ?
थुम्कीमा बसेर
पारि डाँडामा
देखिएको सूर्योदय हेरेँ –
सँगै हिँडेका साथीहरू
फोटो खिच्नमा
मग्न थिए –
मलाई
जरिङ्गाको चटारो !