काचिन

चीनको दक्षिणतिर
चारैतिर पहाडले छेकिएको गाउँ
वन जङ्गलले घेरिएको ठाउँ
जनावरहरुको चरन भूमि
चराहरूको रनवन चर्ने ठाउँ
प्रकृतिले सजिएको त्यो गाउँ
मेरो गाउँ “काचिन ”
जसको आँगनमा म जन्मेँ
चप्लेटी ढुङ्गामा भाँडाकुटी खेलेँ
गाई-भैँसी, भेडा – बाख्रा चराएँ
दुधेरोमा दूध बोकी
गोठदेखि घर आउथेँ
खेतीपाती गरी पौरख देखाएँ
त्यो भूमि हो
त्यो कर्म भूमि
दोहोरी र संगिनी गीत गाउँदै
तन मनले सिर्जिएको
बाटेर आफ़्नो पन
बाँचेको त्यो गाउँ
मेरो “काचिन ” गाउँ !
अहिले झैँ लाग्छ
२२ सौँ वर्ष बितेछ
त्यो सुन्दर गाउँमा
कसैको आँखा लागेको
त्यो कर्म भूमिमा
सरकारी भूकम्प आएको
सुन्दर सृष्टिमा विनाशकाल छाएको
घरहरू जलेर खरानी भएको
बाटा बाटामा लुटिएको
अहिले झैँ लाग्छ
तेंडू , बिन्दु हुँदै
जीवन बँचाउन गाउँ छाडेको
राजनीतिबाट अचेत गाउँ
बाहिरी संसारले नदेखेको ठाउँ
पौरखी हातहरुले बनेको
मेरो प्यारो गाउँ
आफैँबाट खोसिएको
भक्खर जस्तो लाग्छ
२२ वर्षा बितेछ।
कसको लडाई कोसँग थियो
मलाई थाहा भएन
सोझा सिधा गाउँले
कहाँ के हुँदै थियो
अझैसम्म जान्दैन
केवल जान्दछ त्यो गाउँ
जहाँ आफनो रगत र पसिना बगेको छ
जहाँ मेहेनतको डोराले कोरिएको छ
गाई भैँसी भेडाबाख्रा
खेतीपाती अनि हलो कोदालो !
चप्पल खोली गाडी चढेको
उत्रँदा चप्पल खोजेको अाजै जस्तो लाग्छ
बिन्दु देखि सिलिगुरी
सिलिगुरीदेखि काँकडभिट्टा
भए भारको बोकेको सामान बोकी
मेची पुल तरेको
सामान र नाम दर्ता गरेको
खैनीको बट्टामा रासन थापेको
भोक र शोकमा ब्याकुल
अहिले जस्तो लाग्छ
शिविरमा बसी सिबिरे भइएको
अन्तत: ….
खुदुनाबारी क्याम्प छोडेको
झिनो आशामा आमेरिकासम्म आएको
फर्केर हेर्छु दिन बिग्रिएका दिनहरू
बिना कारण लुटिएका दिनहरू
मार्ने धम्की र त्रास सहेर
रातारात गाउँ छाडी – ज्यान जोगाउन
यहाँसम्म आएको
सम्झी हेर्छु
अहिले जस्तो लाग्छ
२२ वर्ष बितिसकेछ
म सानो बालक थिएँ
गन्ति गर्दा २७ वर्ष पुगेँछु
लाग्छ आधा उमेर यस्तै बितेछ
गाउँ घरको याद र सम्झनाले
समय बितेछ
ठ्येर ! चाल पाइएनछ !
लाग्छ अझै
म त्यहीँ छु
त्यहीँ सुन्दर वन जङ्गलमा
गोफ्ला , इन्द्रेणी टिपी
ठोट्ने नुनमा चोपी खाएको
भक्खर जस्तो ….
केवल जिउँदो सपना बनेको
मेरो गाउँ – प्यारो गाउँ
काचिन !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *