खुट्किलो
खुट्किलो

शिवलाल दाहाल
केन्टकी, अमेरिका
म एक खुट्किलो
सिँढी चढ्नेहरू आऊ
रूख चढ्नेहरू आऊ
उकालो काट्नेहरू आऊ
म त केवल एक खुट्किलो
म माथि टेक र हिँड
म अनगिन्ती पाइलाहरूको
चोट सहिदिन सक्छु
तिमी आयौ, त के भयो?
म त बानी परिसकेको छु
पाइतालाको डाम सहन
सहिदिन्छु
चुपचाप, एकबारेको जुनीमा !
टेकेर जानेहरू
कुल्चेर जानेहरू
मलाई सम्झिरहनु पर्दैन
तर कतै धेरै टाढा पुगेपछि
फेरि पनि खुट्किलाको आवश्यक पर्याे भने सम्झनु
म त्यहाँ पनि आउँला
म त केवल एक खुट्किलो !
