मेरो गाउँ ……..

बी.पी शर्मा
नेदरल्यान्ड्स

झर ए आकाशका ताराहरू !
तिम्रा उज्याला ज्योतिहरू मुस्कुराउँदै
मेरा आँगनमा झुल्क
म घुमाउँछु मैले खोजिरहेको मेरो सुन्दर
गाउँ
जहाँ फूलका अत्तरहरू पग्लिएर
सौन्दर्यका नदी बग्छन्
जहाँ हरिया पहाड र कन्दराहरू
पाखा र भीरहरू
शीतल मन्द हावाको श्वास फेर्दै
गाउँ गरिमाको गीत गाउँछन् ।
ए ताराहरू
मेरा गाउँका सडक र गल्लीभरि हिउँदे याममा
झर्ने पातहरूको मधुर सङ्गीत गाउँछन्
गाउँलेहरू,
वसन्तमा ढकमक्क फुलिरहेका फूलहरूसँग
हातेमालो गर्दै निलो आकाशमुनि उभिरहेका
अचल हरिया वनको प्रार्थना गर्छन्
हाँगा हाँगामा उफ्री उड्ने चराहरूको
भजन गाउँछन्
त्यसैले त –
मेरो गाउँमा मन्दिर छैनन्, मस्जिद छैनन्
चर्च र गुम्बाहरूका ध्वनिहरू छैनन्
स्वर्ग र नर्क जाने ‘गेट’-हरू
जाडोले कठ्याङ्ग्रिएर सहरका किनार – किनारमा
चरिरहेका भोका र नाङ्गा नरनारीको
झुटा आश्वासनबाट अपहरित मनमस्तिष्कको
भक्ति र अन्धविश्वासबाट बनेका
महल र ‘भिल्ला’-हरू पनि छैनन्!
तिम्रा उज्ज्वल किरणका हातहरूले
मेरो गाउँको छाती छाम्नु
जहाँ आफ्नो ढुकढुकीको परिचय छ, अस्तित्व छ
‘बाँच्नु’-को स्वाभिमान छ, जीवनको गर्व छ ।
मेरा गाउँमा
साँझदेखि आधारातसम्म
मान्छेको तातो रगत पिउने
खुकुरी र बारुदका पैशाचिक
गफहरू हुँदैनन्,
न त यहाँ मान्छे मार्ने कल-कारखानाहरू छन्
न त विष उमार्ने गोप्य फूलबारीहरू नै छन्
ईश्वरको हुकुम पुजारी शक्तिहरूले खनेका
मनुष्यका चिहान पनि छैनन् यहाँ
भत्किन लागेका पश्चिमी भयवह सडकहरू जस्तो
रातभर, दिनभर
जीवनको आत्मविश्वास, पवित्र विचार र संस्कारका
ढिकाहरू
खस्दैनन्, मिसिँदैनन् रगतका नदीहरूमा ।
ए ताराहरू हो
आओ, रातमा आउँछौ भने
मेरो गाउँमा
आँगनभरि घामका ज्योतिहरू लिएर आओ,
दिनमा आउँछौ भने
काल्पनिक दन्त्यकथाका कथाहरू होइन
ब्रह्माण्डको सत्य श्लोक गाउँदै आओ !
नडराऊ
रातारात विदेशी ‘आत्मा‘ दउराभित्र लुकाएर
मैले नाचेका आँगनहरू फोहोरका डङ्गुर हुन्
मैले बोल्ने अमूल्य भाषा अमाजन वनका
स्वरहरू हुन्-को उपमा दिँदै
मेरो गाउँले बोल्ने शब्दमाथि धावा बोल्ने
विदेशी बजारमा आफ्नो भाषाको तौलहरू
घटाई हिंड्ने महामानवहरू
हाम्रो घरको बन्द ढोकाहरू ढक्ढक्याउँदैनन् ।
आत्तिनु पर्दैन
ए ताराहरू !
मैले त
त्यो पल्लो सात डाँडा पारीका
दाजुहरूले मेरो चुल्होमा बलिरहेका भाषिक अगुल्टाहरू ताप्दै
एउटा हलीले बोल्ने भाषाको हत्या नगरून् भनेको पो त !
च्याबरूङ र सनाहीका सुमधुर माधुर्यहरू
एक गिलास कफीसँग नसाटून् भनेको पो त !
तिमीहरू निलो आकाशमा रमाउँदै हाँस्छौ भने
मेरो गाउँका अदम्य खुसीहरू बाँड्दै हाँस !
ए आकाशका पाहुनाहरू
मैले रोजेको गाउँ यस्तै छ
आउँछौ भने तिमीहरूको भाषा
हावालाई नसुनाई आउनु
ठूलो स्वर नगरी
जूनलाई पनि नसुनाउनु
मेरो गाउँमा
हामी तिम्रो पनि बोली बोल्छौँ
तिम्रा इतिहासहरू बोल्छौँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *