छोरी तिमी छोरी जस्तै बन्नू

दुर्गाप्रसाद रिमाल
अल्बेरी अस्ट्रेलिया
छोरी तिमी ‘छोरी हौ’
छोरी नै बन्नू, छोरो नबन्नू
अरूले परिभाषित गरे झैँ
छोरो जस्तो पनि नबन्नू
तिमी छोरी हौँ र छोरी जस्तै बन्नू ।
मलाई छोरी चाहिएपछि
भगवानसँग छोरीको पुकार गरेको हुँ
तिम्रो ममीसँग छोरी मागेको हुँ
मभित्रको जिम्मेवारीमा भरोसा रोपेर
तिम्रो ममीले तिमीलाई उपहार दिएकी हुन् ।
मैले छोरी माग्नुमा
म हुर्केको समाजभित्र
सासूहरूले बुहारीहरूलाई
आमाहरूले छोरीहरूलाई गरेको
अत्याचार र विभेदको अफसोस छ मसँग ।
बाबाहरूले छोरीहरूलाई
दिने हिम्मत र गर्ने भरोसा
पुरुषहरूले महिलाहरूप्रति
हेर्न दृष्टिकोण र गर्ने व्यवहार
छोरीभित्र ‘म’ भएर बुझाउने लक्ष्य छ मसँग ।
अझै पनि छोरीको ‘सामर्थ्य’ बुझाउनु छ
अझ पनि छोरीको ‘ क्षमता’ बुझाउनु छ
अझै पनि छोरीभित्र ‘विश्वास’ भरिदिनु छ ।
मलाई थाहा छ- तिमी कोही जस्तो बन्नै पर्दैन
तिमी छोरी हौँ र छोरी जस्तै बन्नू  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *