नलेखिएको एउटा कविता
बाँधेर
कठोर साङ्लाले
लिन आइपुग्छ अतीत
प्रेमको आदिम चौतारीमा
जहाँबाट लगभग अन्तिम पटक छुट्टिएका थियौँ हामी
उस्तै छुइनँ आज म
भिजेको छ जीवनको किताब
ओसिएका छन् हावामा तिम्रा हरेक खबरकागजहरू
न त छन् हिजोका झैँ दिग्गज दिवसहरू ।
धमिलिइरहन्छ स्मृतिको गङ्गा
कुनै मन पर्ने खेलौना हराएपछि
खेल्दाखेल्दै टोलाएको बालकझैँ
बेसुर खोजिहिँड्दो रहेछु
सडकमा खसाइगएका पाइलाहरू ।
टिपेर भुईँको धुलो
जहाँबाट हिँडेका थियौँ हामी
थापेर अँजुलीमा पानी
जुन पँधेरो पिएथ्यौँ हामीले
ओढेर बरपिपलको तप्केनी
जहाँसँगै भिजेथ्यौँ हामी
सुनाएर प्रेमका गीतहरू
जो एउटै भाकामा गाएथ्यौँ हामीले
चढाएर ढुङ्गा
चढाएर पाती
बनाएथ्यौँ आफ्नै मनमा देउराली हामीले ।
समयले अनेकौँ परीक्षा लियो हामीसँग
हातमा कलम बोकेर हिँडिरह्यौँ हामी परीक्षार्थी भई
कहिले प्रश्नोत्तर
कहिले व्याकरण, व्याख्या, विवेचना
कहिले चित्र बनायौँ
कहिले चित्रमा आफै बनियौँ हामी ।
अन्तमा लेख्नु थियो एउटा सग्लो चित्र
भर्नु थियो उजाड पहाडको सिउँदो
छामेर पुर्नु थियो मधेसका भासहरू
समावेशी रङ्गहरूले रँगाउनु थियो यो देशको अनुहार
लेख्नु थियो त्यही पिँढीमा बसेर
नलेखिएको एउटा कविता ।
उल्कापिण्डसरि खसिगयो जून
निभाएर आफ्नैआँखाको उज्यालो
न तिमीले लेख्न पायौ
न मैले लेख्न पाएँ
मेरो देशको अखण्डित कविता ।

