नेपाली भाषा विरासत दिवस : एक अवधारणा
नेपाली भाषा विरासत दिवस : एक अवधारणा

शिवलाल दाहाल
(साहित्य परिषद्, भूटानले नमेम्बर ८, २०२५ का दिन अमेरिकाको ह्यारिसवर्गमा आयोजना गरेको एघारौँ सम्मेलनमा प्रस्तुत गरेको नेपाली भाषा विरासत दिवस सम्बन्धी अवधारणा पत्रको पूर्णपाठ)
आदरणीय कार्यक्रममा उपस्थित महानुभावहरु,
साहित्य परिषद् भुटानद्वारा आयोजित यो परिषद् ह्यारीस्वर्ग सम्मेलन, २०२५ मा म व्यक्तिगत तथा परिषद्को तर्फबाट यहाँहरू सबैमा हार्दिक अभिवादन गर्दछु । आजको यस सभामा म नेपाली भाषासँग सम्बन्धित एक महत्त्वपूर्ण अवधारणा पत्र पेश गर्ने अनुमति चाहन्छु ।
भाषा सञ्चारको माध्यम हो र कुनै जाति वा समुदायको पहिचान तथा अस्तित्वको प्रतीक हो । यो संस्कृति, परम्परा र इतिहाससँग गहिरो रूपमा गाँसिएको हुन्छ, जसले मानिसहरूमा गर्व र सम्मानको भावना जागृत गराउँछ । परिवार, समाज र राष्ट्रलाई जोड्ने एउटा बलियो माध्यम हो भाषा । यसकै माध्यमबाट हामी सम्बन्धहरू निर्माण गर्छौं, एकता मजबुत पार्छौं, र सामाजिक मूल्य र परम्पराहरूलाई अंगीकार गर्छौं । भाषाको यही सर्वोपरी महत्त्वलाई आत्मसात गर्दै नेपाली भाषा कसरी हाम्रो वर्तमान र इतिहाससँग जोडिएको छ र यो भाषिक परम्परालाई हामीले कसरी जीवन्त राख्न सक्छौ भन्ने सन्दर्भमा यो अवधारणा प्रस्तुत गर्दछु ।
आज म ह्यारीस्वर्गको सम्मेलनमा उपस्थित रहँदा, इतिहास र भविताको दोभानमा उभिएको महसुस गरिरहेको छु । सायद यो केवल संयोग होइन, एउटा अर्थपूर्ण सङ्गम हो—अतीत र वर्तमानको । इतिहासतर्फ फर्किने मेरो चाहना त छँदैछ, तर आउनुहोस्, तपाईंहरु सामु खडा भएको वर्तमानलाई हेरौं । यो त्यही ह्यारीस्वर्ग हो जहाँ पुनर्वासित भूटानी समूदायको सबभन्दा ठूलो जनसंख्या बसोबास गर्दछ । जहाँ भाषा, संस्कृति र सामाजिक उत्थानका निम्ति अनेक कर्म र क्रियाशिलताहरु दिखाइन्छन् । जहाँ नेपाली भाषाका कक्षाहरू सञ्चालन हुन्छन् र नेपाली साहित्यका सभा र सम्मेलनहरु आयोजना गरिन्छ । जहाँका मानिसहरू आफ्ना सन्तान, दर-सन्तानले मातृभाषा नबिर्सिऊन् भनेर चिन्ता र सरोकार राख्दछन् । जहाँ इतिहासका ठेलीहरू पल्टाएर अतीत गौरवका दिनहरुको स्मरण गरिन्छ । हो त्यही भूमि, त्यही शहर र माटोमा टेकेर म इतिहास र भविश्यका बारेमा केही कुरा गर्न उभिएको छु ।
वर्तमान त समयको एक विन्दु न हो । एक कल्प । त्यसको जग त इतिहासमा छिपेर रहेको हुन्छ । त्यो इतिहास बिर्सियो भने, छोडेर गइयो भने हाम्रो पुर्खाहरुसँगको नाता टुटेर जानेछ, अतीत गौरव मेटिएर जानेछ । त्यसैले म अब अलिकति अघिको यात्रातर्फ फर्किन चाहन्छु- त्यो समयतर्फ, जब हाम्रा पुर्खाहरू भूटान पुगेका थिए, र उनीहरूसँगै हाम्रो नेपाली भाषा, संस्कृति र सभ्यता पनि त्यहाँ पुगेका थियो । त्यो समय जब न आजको आधुनिक नेपाल थियो न आजको आधुनिक भूटान ।
भूटानबारे भूटान सरकारको पहलमा जुन इतिहास लेखिएको छ, त्यहाँ नेपाली भाषीहरूको इतिहासबारे कतै पनि उल्लेख गरिएको पाइँदैन । तर केही स्वतन्त्र अनुसन्धानकर्ताहरूले नेपाली भाषीहरू भूटान प्रवेशबारे धेरै ठाउँमा उल्लेख गरेका छन् । त्यसमध्ये विपिन देव ढुंगेल (१९७६) का अनुसार नेपाली भाषीहरूको पहिलो समूह सन् १६२४ मा भूटान प्रवेश गरेको थियो । सन् १६२४ मा तत्कालीन भूटानका धर्मराजा साब्ड्रुङ् नावाङ् नाम्ग्याल र गोर्खाका राजा रामशाहबीच औपचारिक सम्झौता भई जाने ६० घर रैतीहरूको नेतृत्व विशुन थापा मगर (वा विष्णु थापा पनि हुन सक्छ) ले गरेका थिए । यही कुरा भूटानको सूचना विभागबाट प्रकाशित ‘ड्रुक लोसेल’ (१९८२) पत्रिकामा पनि छापिएको छ ।
अनुसन्धानकर्ता माइकल हट (२००३) ले भने सन् १६२४ मा साब्ड्रुङ्ले गोर्खा भ्रमण गरेको कुरा ऐतिहासिक रूपमा प्रमाणित गर्न नसकिने बताएका छन् । सिलगढीबाट प्रकाशित बाडुली पत्रिकामा “भूटानमा नेपाली प्रवेशका पुराना पाना” भन्ने शीर्षकमा प्रकाशित (पछि १९९३ मा हरिप्रसाद अधिकारीको सम्पादनमा अमर भूटानमा पुनः प्रकाशित) लेखमा गोर्खाबाट गएका विशुन थापा मगर (कतै बुधिन थापा पनि भनिएको छ) लाई ‘राजा’ पदवी दिएर पूर्वी भूटानको ह्लासा जाने बाटोमा तिब्बतबाट हुने आक्रमण सामना गर्न पठाइएको उल्लेख छ । त्यसैगरी, उनीसँगै भूटान गएका सेतु पाध्याय गुरु गोस्वामी, पिर्थु आले र बिर्जु गुरुङ क्रमशः काजी र ‘सिम्फोन’ (सचिव) पदमा रहेका थिए भन्ने पनि उल्लेख छ । यसरी भूटान पुगेको पहिलो टोलीले भूटानको सार्वभौम सत्ता रक्षा गर्नुका साथै महत्त्वपूर्ण प्रशासनिक जिम्मेवारी पनि सम्हालेको देखिन्छ । सोही टोलीसँगै नेपाली भाषा र संस्कृति पनि भूटानमा प्रवेश गरेको थियो ।
भूटानका पूर्व प्रधानमन्त्री जिग्मे वाई ठिन्लेले प्रशासकीय राजा देव मिन्जुर तेन्पा (१६६७–१६८०) को शासनकालमा नेपालबाट धातुका सामान बनाउन प्रसिद्ध नेवार कालीगढहरूलाई भूटानमा मूर्ति कुँद्न लगिएको प्रमाण भए पनि तिनीहरूको दक्षिण भूटानी नेपालीहरूसँग कुनै ऐतिहासिक सम्बन्ध नरहेको बताएका छन् (हट, २००३) ।
नेपालले भूटानको धर्मतन्त्रसँग सुमधुर सम्बन्ध राख्न विभिन्न समयमा जमिन, गाउँ र मठ–मन्दिर उपहारस्वरूप प्रदान गरेको तथ्यसँग भने अधिकांश इतिहासकारहरू (जस्तै: मेक्डोनल १९९३, ढुंगेल १९७६, पन्त १९८६, मानन्धर १९९०) सहमत छन् । यी तथ्यहरूले भूटानमा नेपाली भाषीहरू वैधानिक उपस्थितिको प्रारम्भिक प्रमाण प्रस्तुत गर्दछन् ।
त्यो समयमा भूटान गएका पूर्खाका सन्तान (नातेदार)हरू आज कहाँ छन्, को हुन् भन्ने प्रश्नको उत्तर यकिन छैन । त्यतिबेला गएकाहरू कालान्तरमा उतैको समाजमा मिसिए कि पुनः भारत वा नेपाल फर्किए – त्यो विषयमा अझै अनुसन्धान हुन बाँकी नै छ ।
भूटानमा बसोबास गर्नेहरूमध्ये भूटानसँग औपचारिक सम्झौता गरेर जानेहरू नेपाली भाषी मात्र हुन्; अन्य विभिन्न समयमा अवैध रूपमा भूटान प्रवेश गरेका हुन् । भूटानका जन्मदाता र महान् सुधारकका रूपमा चिनिने साब्ड्रुङ् नावाङ् नाम्ग्याल स्वयं पनि सन् १६१६ मा तिब्बतको रालुङबाट भागेर आएका थिए । भूटानका मूल धर्मगुरुका रूपमा लिइने पद्मसम्भव (गुरू रिन्पोछे) पनि हालको पाकिस्तानबाट सन् ८१० मा भूटानको बुम्थाङस्थित सिन्धु राजाको निमन्त्रणामा पुगेका थिए । सिन्धु राजा स्वयं भारतबाट भागेर भूटान पसेका थिए । तर जुन जाति वैधानिक सम्झौता गरेर एउटा राष्ट्रको जन्मदातासँगै राष्ट्र निर्माण, प्रशासन सञ्चालन र सर्वभौमसत्ता रक्षार्थ खटियो, त्यसैको इतिहासमा नाम कतै अंकित छैन ।
भूटानमा पहिलो चरणको नेपाली भाषीहरूको प्रवेश पछि विभिन्न समयमा नेपालबाट मानिसहरू भूटान जानेक्रम चिलिरह्यो । भूटान र नेपालबीच सांस्कृतिक आदानप्रदानहरू भइरहे । यद्यपि भूटानमा ठूलो संख्यामा नेपालीभाषीहरू बसाइँ सरेर गएको सन् १८६५ को आसपासदेखि मात्र हो । अनुसन्धानकर्ता माइकल हटले पनि नेपालीभाषीहरू उल्लेख्य संख्यामा भूटानमा सन् १८६५ पछि मात्र पुगेको कुरा उल्लेख गरेका छन् । ब्रिटिस भारत र भूटानबीच सन् १८६५ मा सिन्चुला सन्धि भएपछि, पहिलेदेखि नेपालीहरू बसोबास गरेका भूटानका भूभागहरू भारतमा अन्तर्भुक्त भए । जसले गर्दा पहिलेदेखि त्यहाँ बसेबास गरेका नेपाली भाषीहरू भारतीय हुन पुगे ।
सन् १९०४ मा चाल्स वेलले पश्चिम बङ्गालका मुख्य सचिवलाई बुझाएको गोप्य पत्रमा तुर्सा पश्चिममा रहेका नेपालीहरूको संख्या करिब १४,००० जति भएको अनुमान गरेका छन् । साथै, त्यस भूभागको पूर्व र तराई क्षेत्रमा पनि पहिले नै नेपालीहरूको बसोबास फैलिसकेको सङ्केत गरेका थिए (हट, २००३, पृ. ४३)।
यस सन्दर्भमा सन् १८८७ मा दालचन गुरुङ र गर्जमान गुरुङले पारो पेन्लप (राजा) रिन्पुसँग सम्झौता गरेर दक्षिणका भूभागहरूमा मानिसहरूलाई बसोबास गराउने सम्झौता गरेका थिए ।
उक्त सम्झौता नेपाली र छोके भाषामा गरिएको थियो । यो सम्झौता माइकल हटको कृति Unbecoming Citizens (अनबिकमिङ सिटिजन्स) को परिशिष्टमा पढ्न सकिन्छ । उक्त सम्झौता सन् १८८७ को भदौ महिनामा गरिएको थियो, र यही सम्झौता नै नेपाली भाषामा उपलब्ध सरकारी प्रमाणिक अभिलेख हो ।
यही बिन्दुबाट नेपाली भाषा भूटानको सरकारी कामकाजको हिस्सा बन्न पुग्यो र त्यसपछिका सय वर्षसम्म दक्षिण भूटानमा सरकारी कामकाजको भाषाको रूपमा व्यवहारमा रह्यो ।
माथि उल्लेख गरिएको सन् १६२४ को बसाइँ सराइ प्रमाणित गर्न कठिनाइ होला, तर सन् १८८७ को सम्झौता अनुसार पनि भूटानमा वैधानिक रूपमा नेपालीभाषीहरूको बसोबास भएको कुरा वर्तमान वाङ्छुक वंशीय राजपरम्परा स्थापना (सन् १९०७) भन्दा बीस वर्षअघि नै भएको थियो भन्न कुनै कठिनाइ छैन ।
दालचन र गर्जमान गुरुङ बाबु छारा बाहेक धनवीर बुढा र कीर्तिमान बुडाथोकीलाई ‘कासो’ (अनुमतिपत्र) प्रदान गरी दक्षिण भूटानका साम्ची, चिराङ, सर्भाङ, दागाना आदि ठाउँमा मानिसहरू बसाउने जिम्मा दिइएको थियो ।
मुख्य रूपमा नेपाली भाषीहरुको बसोबास दक्षिण भुटानका छ जिल्लामा फैलिएको छ । नेपालीभाषीहरूको ठूलो संख्या बसोबास गर्न थालेपछि भाषाको प्रभाव भुटानका उत्तर, पूर्व र मध्यभागतिर पनि फैलियो र समयक्रममा नेपाली भाषा अन्तरजातिबीचको सम्पर्क भाषा बन्यो, अर्थात्, सबैको साझा भाषाका रूपमा रूपान्तरित भयो ।
मानिस जहाँ–जहाँ बसाइँ सर्छ, ऊसँगै उसको रहनसहन, संस्कृति र परम्परा पनि सर्दै जान्छ । मलत :मूल थलो नेपालका पूर्वी पहाडबाट नेपालीहरू भूटान पुगे । नयाँ भूगोल र परिवेशका बीचमा रहँदा पनि उनीहरूले आफ्नो मौलिक पहिचान, परम्परा र सांस्कृतिक अभ्यासलाई बिर्सिएनन् । त्यहाँको निर्जन भूमिमा उनीहरूले घर उभ्याए, खेतबारी बनाए, बगैँचा लगाए, बस्तुभाउ जोडे । बाटो–घाटो निर्माण गरे । वर–पिपल रोपे । उकालो चढेर बिसाउने ठाउँमा ढुङ्गाको रास ठड्याएर देउराली बनाए र फूलपाती चढाए । सामाजिक–धार्मिक आस्थाका प्रतीकस्वरूप वर–पिपल रोपेर पूजा गर्न थाले । त्यहीँ मठमन्दिर र पाठशाला बनाए । त्यहीका डाँडाकाँडा, खोला–खोल्सा, सिमेभूमि, देवी–देउरालीलाई पुकार्न थाले । मादल, टुङ्ना, बिनायो र नौमती बाजाका धुनले डाँडापाखा घन्किए । असारे भाका र लोकलयहरूले भञ्ज्याङ चौतारीहरू झन्कृत भए ।
नेपाली भाषाको प्रयोग र प्रभाव केवल बोलीचालीमा मात्र सीमित छैन । त्यहाँका स्थान, खोलानाला, गाउँघर, डाँडाकाँडा, खेतबारी, पाखा–भञ्ज्याङ, हाटबजार लगायत धेरै ठाउँका नाम नेपाली भाषामा अंकित छन्, थिए । जमिनको भू–बनोटका आधारमा बनेका लामीडाँडा, साँघुरी, फेदी, गैरीगाउँ, डाँडागाउँ, म्याटार, नैनताल आदि रुखविरुवाका आधारमा बनेका स्थानविशेषका नाम जस्तै बरबोटे, बोरीबोटे, सुन्तले, पानबारी, फलेदे, मालिङेनी, तोरीबारी आदि । त्यस्तै जनावर तथा वस्तुका नामबाट बनेका भालुखोला, माउखोला, चुनद्वार, बान्द्रे, तीनदेभाने, बुदुने, वाग्लेटार, पुलटार, खरबन्धी, सुकेटीमुरे, खोलाखर्क, सौरेनी, बीचगाउँ, दोकानदार्डा, सिमानाडाँडा आदि । यस्ता अनेकौँ मौलिक नामहरू नेपाली भाषाबाटै बनेका छन् । यसरी स्थान, खोला–नाला र गाउँबस्तीहरूले हाम्रो भाषा र सभ्यतालाई स्थायित्व र अमरत्व प्रदान गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सन् १९९० पछि भने यी नामहरू हटाएर भोटे भाषाका नाम (जस्तै: सङ्गेछोलिङ, दोफुछिन, नाम्खा, छोर्जम, जिडोखा आदि) ले प्रतिस्थापन गरेका छन् । देशबाट मानिसहरू विस्थापित गरेर मात्र शासकहरूले चित्त बुझाएनन् । जातीय र भाषिक पचिहान जनाउने स्थानका नाम शासकका निशानमा परेका छन् ।
दक्षिण भूटानमा सरकारी निकायले प्रदान गरेका जमीन सम्बन्धी कागजात, तिरो तिरेको रसिद, मुद्दा–मामिला छिनोफानो गरेका कागजात, निवेदन, सरकारी सूचना आदि सबै नेपाली भाषामै लेखिने गर्थे । त्यस्तै धार्मिक प्रयोजनका लागि बनेका टिप–चिना, व्यक्तिगत चिठीपत्र, आर्थिक लेनदेनका सम्झौताहरू पनि नेपाली भाषामै लेखिने गर्थे । त्यसका अतिरिक्त कर्मकाण्ड सिकाउने र साक्षरता अभियानहरूमा पनि नेपाली भाषा नै प्रयोग गरिन्थ्यो । अलिकति मात्र अक्षर चिनेका मानिसहरूले रामायण, महाभारत, देवीभागवत जस्ता धार्मिक ग्रन्थहरू आफैं पढ्थे, र अक्षर नचिनेका मानिसहरूले त ती कथाहरू सुनेरै कण्ठस्थ गर्थे । के घर, के गोठ—जताततै श्लोकहरू गुञ्जयमान हुन्थ्ये । औपचारिक शिक्षाको सुविधा नपुगेका दुर्गम बस्तीहरूमा यिनै धार्मिक ग्रन्थहरूले नेपाली भाषाको विस्तार र संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए ।
सन् १९५० पछि भने विद्यालयहरूमा नेपाली भाषा औपचारिक रूपमा पढाउन थालियो । आरम्भमा दार्जीलिङ र कालिम्पोङतिर पढाइने नेपाली किताब नै भूटानमा पढाइने गरिए तापनि सन् १९७० पछि भूटानका लागि नेपाली विषयको पाठ्यक्रम निर्माण भयो, जसको तयार गर्ने कार्यमा भारतीय साहित्यकार पारसमणि प्रधानले योगदान गरेका थिए । यससँगै भूटानमा शिक्षामन्त्रालयमा नेपाली पाठ्यक्रम हेर्ने निर्देशक राखी नेपाली विषयका शिक्षकहरू विद्यालयहरूमा नियुक्त गरियो । भूटानी नागरिक नै नेपाली विषय शिक्षक नियुक्त गर्नु भन्दा पहिला भारत तथा नेपालीबाट उक्त विषयका गुरूहरू नियुक्त गरिने गरिएको थियो ।
सन् १९६३ मा सरकारी राजपत्र (गोमेन्ट बुलेटिन)का रूपमा स्थापित भई सन् १९८६ मा पूर्ण समाचारपत्र बनेको क्युन्सेलमा पनि जोङ्खा र अंग्रेजीसँगै नेपाली भाषाले पनि स्थान पाएको थियो । सन् १९८० मा राप्ट्रिय सामाजिक एवं सांस्कृतिक परिषद्को स्वीकृति तथा फादर लेकलेयरको संरक्षणमा सेरब्चे कलेजमा नेपाली साहित्य संस्था स्थापना भयो । यो सरकारी मान्यताप्राप्त एकमात्र जातीय साहित्यिक संस्था थियो, र यही संस्थाको तर्फबाट शिवराज भट्टराईको सम्पादनमा ‘सेरब्चे कलेज वार्षिकी अथवा बिरुवा पत्रिका सन् १९८० देखि सन् १९८३ सम्म वार्षिक रूपमा प्रकाशित भयो । त्यसैगरी सन् १९७९ मा ‘ड्रुक लोसेल’ पत्रिकाको प्रकाशन सुरु भयो, जुन सन् १९८३ सम्म त्रैमासिक रूपमा १९ अंकसम्म प्रकाशित भई बन्द भएको थियो । सन् १९७३ मा स्थापना भई, सन् १९७९ मा सरकारले स्वमीत्व गहण गरेपछि भूटान प्रसारण सेवा (रेडियो)ले पनि नेपाली कार्यक्रमलाई स्थान दिएको थियो ।
त्यस्तै सन् १९८० र १९८१ मा भूटानका केही कानुनहरू – विवाह अधिनियम, भू-अधिनियम आदि नेपाली भाषामा अनुवाद गरिए । केही नेपाली भाषाका काव्यकृतिहरू पनि प्रकाशित भए । यसरी नेपाली विषय पाठ्यक्रममा समावेश हुनु, नेपाली भाषामा पत्रपत्रिका तथा कृतिहरू प्रकाशित हुनु र देशका मूल कानुनहरू नेपालीमा अनुवाद हुनुजस्ता कार्यहरूले नेपाली भाषाको विस्तार मात्र होइन, यसको प्रयोग र उपयोगिता पनि बढाएको देखिन्छ । क्रमिक रूपमा नेपाली भाषा देशका विभिन्न क्षेत्रमा फैलियो र जनताको साझा सम्पर्क भाषाका रूपमा विकसित भयो । तर यो कुरा शासकहरूलाई मन परेन । त्यसैले जोङ्खा भाषालाई अघि सार्न नेपाली भाषामाथि प्रहार गर्न थालियो र पाठ्यक्रमबाट हटाइयो ।
सन् १९८५ मा नागरिकता ऐनको संशोधन भएपछि सन् १९८७ मा दक्षिण भूटानमा गरिएको जनगणनाले त्यहाँको जनजीवनलाई अस्तव्यस्त बनायो । जनगणनासँगै बहुसंस्कृतिकतालाई मेट्ने ‘एक राष्ट्र, एक जनता (One People, One Nation)’ र ‘चावासुम’ को अवधारणा सरकारले अघि सारेपछि दक्षिण भूटान आन्दोलनमा उत्रियो । मानव अधिकार र प्रजातन्त्रका निम्ति गरिएको आन्दोलनलाई सरकारले दमन गरेपछि एक लाखभन्दा बढी मानिसहरू देशबाट विस्थापित भए । यससँगै नेपाली भाषा र संस्कृतिमाथि सरकारले कडा नियन्त्रण गर्न थाल्यो ।
सन् १९९० पछि दक्षिण भूटानका धेरै विद्यालयहरू बन्द गरिए, विद्यालयमा नेपाली भाषा बोल्न प्रतिबन्ध लगाइयो । सरकारी कामकाजमा नेपाली भाषाको प्रयोग रोकियो । गाउँघरमा जोङ्खा भाषा सिकाउन प्रौढ शिक्षाका कक्षाहरू सञ्चालन गरियो । दशैं, तिहार जस्ता नेपालीभाषीहरूले मनाउने चाडपर्वहरूलाई सरकारी विदाबाट हटाइयो । क्युन्सेलको नेपाली संस्करण र भूटान रेडियो प्रसारणका कार्यक्रम पनि हटाइयो । यसरी भूटानले नागरिकता, वाक स्वतन्त्रता र सांस्कृतिक पहिचानमाथि दमनको युद्ध छेड्यो ।
सन् १९९० को आन्दोलन भूटानको इतिहासमा एक अभूतपूर्व घटना हो । यसपछि दक्षिण भूटानका नेपाली भाषीहरू दुई भिन्न धारामा विभक्त भए—एक, भूटानभित्र रहेका; अर्को, देशबाट विस्थापित भई बाहिर रहेका । नेपाली भाषाको प्रयोग, लेखन र प्रकाशनको सन्दर्भमा पनि यस घटनाले नयाँ परिस्थिति निर्माण गर्यो । भूटानभित्र नेपाली भाषा र संस्कृतिमाथि कडा प्रतिबन्ध रह्यो भने देशबाहिर पुगेकाहरूले नेपाली भाषा अध्ययन र अभिव्यक्तिको नयाँ अवसर प्राप्त गरे ।
सन् १९९० को दशकमा भूटानमा नेपाली भाषा सरकारी दमनले थिलथियो । दक्षिण भूटानको आन्दोलन निस्तेज भएपछि क्युन्सेलको नेपाली संस्करण केही समय निस्क्यो भने भूटान प्रसारण सेवामा नेपाली भाषामा समाचार पनि प्रसारण गर्न थालियो । सन् २००७ मा भूटानमा भएको पहिलो चुनावसँगै नेपाली भाषामा केही खुकुलोपना देखियो । चुनावसँग सम्बन्धित केही सामग्रीहरू पनि नेपाली भाषामा छापिए । चाडपर्वहरू मनाउनका लागि केही खुकुलोपना छायो । छत्रपति फुएलको नेपाली भाषा शिक्षक (२०१०)भन्ने कृति भूटानभित्रैबाट प्रकाशित भयो । दोस्रो, तेस्रो चुनाव प्रचारप्रसार गर्ने क्रममा उमेदवारहरूले चुनावी सभाहरूमा नेपाली भाषाको प्रयोग गरे । २०१९ को अन्त्यदेखि सुरु भएको कोभिड महामारीका समयमा त्यहाँका प्रधानमन्त्री र अन्य सरकारी कर्मचारीहरूले रेडियोमा गएर नेपाली भाषामै सन्देश जारी गरे । त्यसी नै सन् २०२३ मा भूटानका उच्च शिक्षालयहरुमा लामो समयसम्म प्राध्यापन गरेका डा. शिवराज भट्टराईको राँको बालेर भन्ने संस्मरणात्मक निबन्ध पनि प्रकाशित छ ।
सरकारको दमन र प्रतिबन्धका बाबजुद पनि भूटानमा नेपाली भाषाको विलय भएन । एक पटक जनताको मनमुटुमा बसेको भाषा त्यसै मासिँदैन भन्ने कुरा यसले प्रमाणित गरेको छ । अहिले सामाजिक सञ्जालमा भूटानमा भएका गतिविधि हेरियो भने त्यहाँ नेपाली भाषाको अवस्था कस्तो छ भन्ने बुझ्न सकिन्छ । त्यहाँका धेरै सांसद, मन्त्री र प्रधानमन्त्री समेतले नेपाली भाषा राम्रैसँग बोलेको सुन्न र देख्न पाइन्छ । त्यस्तै प्रशस्तै नेपाली गीतहरू गाइएका, छायांकन गरिएका छन् । भूटान प्रसारण सेवामा पनि समाचार प्रसारण गर्नेदेखि अन्तर्वार्तासम्म कार्यक्रम गरेको देख्न सकिन्छ । धार्मिक उत्सव र चाडपर्वमा नाचगान गरेका अनेक दृश्यहरूले मौलिक नेपाली संस्कृतिको झल्को दिन्छ । लेख्य भाषा नभए पनि मौलिक भाषाका रूपमा नेपाली भाषा भूटानमा रहिरहेकै छ ।
विस्थापनमा पुगेकाहरूको कथा अर्कै छ । देशबाट लखेटिएपछि भूटानीहरूलाई नेपालका शरणार्थी शिविरहरूमा बसोबास गर्ने क्रममा नेपाली भाषा औपचारिक र अनौपचारिक दुवै तरिकाले अध्ययन गर्ने अवसर प्राप्त भयो । भाषा–साहित्यसँग सम्बन्धित संघ–संस्थाहरू जन्मिए, साक्षरता अभियान सञ्चालन भए, उच्च शिक्षाको पहुँच विस्तार भयो । परिणामस्वरूप नेपाली भाषाको ज्ञानमा अभिवृद्धि हुनुका साथै परिमाणात्मक र गुणात्मक रूपमा लेखन अभ्यासको विकास र विस्तार भयो । त्यतिबेला प्रकाशित पत्रपत्रिका र साहित्यिक कृतिहरूबाट भूटानी समाजको अभिव्यक्तिगत, वैचारिक र भाषिक प्रयोगमा आएको परिवर्तनको पुष्टि हुन्छ ।
नेपालसँगको सामाजिक सम्पर्क, औपचारिक शिक्षाको अनुभव र सञ्चारमाध्यमको प्रभावसँगै विस्थापित भूटानी समाजको नेपाली भाषिक प्रयोग र लवजमा परिवर्तन आउनुका साथै नेपाली भाषाको स्तरीकरण र मानकीकरण प्रक्रियामा उल्लेखनीय प्रभाव पर्यो । उता भूटानमा हुँदा खलेगरो भन्ने, यता आएपछि ‘खमार’, कुलोलाई ‘पैनी’, पुलिसलाई ‘प्रहरी’, दोमालाई ‘पान’ आदि भन्न थाले । भूटानमा हुनेहरूको बोलीमा भोटे भाषीहरूको लवज झल्किन्छ । अघिल्लो पुस्तामा भन्दा विद्यालय गएका नयाँ पुस्तामा यस्तो लवजगत ठिमाहपन देखिन्छ । भूटानमा ‘तिमी’ सम्मानजनक आदरार्थी शब्द हो भने नेपालमा त्यसका ठाउँमा ‘तपाईं’, ‘हजुर’ जस्ता उच्च आदरार्थी शब्द सम्बोधनका लागि प्रयोग गरिन्छ ।
सन् २००७ पछि विस्थापित भूटानीहरूको गन्तव्य बदलियो । भूटानमा प्रजातन्त्र र मानव अधिकार स्थापनाको संघर्षमा लागेका अनेकौँको आस्था र विश्वासले घुँडा टेक्यो । फलस्वरूप, पश्चिमी मुलुकहरूले प्रस्ताव गरेको तेस्रो देश पुनर्स्थापनाको कार्यक्रम स्वीकार गर्दै उनीहरूले जीविकाको खोजीमा जन्मभूमि त्यागेर नयाँ यात्रामा निस्किए ।
आतिथ्य भूमिमा पुगेपछि उनीहरूले राष्ट्रियता, रोजगारीका अवसर, सुविधायुक्त बसोबास, वैयक्तिक स्वतन्त्रता र सम्पन्नताका अपेक्षाकृत आधारहरू पाए । तर नयाँ मुलुकमा पुगेपछि त्यहाँको ठूलो समुदायको सांस्कृतिक प्रभुत्वले उनीहरूको आफ्नै सांस्कृतिक तथा भाषिक पहिचानमा चुनौती सिर्जना गरिदियो । अंग्रेजी वा स्थानीय भाषाका माध्यमबाट शिक्षित हुने नयाँ पुस्तामा मातृभाषा प्रयोगमा कठिनाइहरू देखिन थाले ।
यसरी, यो पुस्ताले बोलेकै नेपाली भाषा र भाषिक सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रक्रियामा धेरै बाधा देखा परेका छन् । तुलनात्मक रूपमा अहिले भूटानमा नेपाली भाषा बोल्न सहज होला तर पुनर्स्थापित मुलुकहरूमा त्यो सहजता र सुविधा छैन ।
पेन्सिलभेनियाको ह्यारिसबर्गमा आज म यो सम्भाषणका निम्ति उभिरहँदा भूटानसँगको हाम्रो पुर्ख्यौली नाता ठ्याक्कै ४०० वर्ष पुरानो भएछ । एकातिर ४०० वर्ष हाम्रो उपस्थिति भएको मुलुक र अर्कातिर केवल दुई दशक बिताएको मुलुक छ हामीसँग । ४०० वर्षले पनि हामीलाई भूमि पुत्र बनाउन सकेन, यो माटोले बनाउन सक्छ कि सक्दैन, त्यो सुदूर भविष्यले बताउने छ । तर यतिका लामो समयसम्म पनि हाम्रो भाषा र संस्कृतिले हामीलाई पछ्याइरहेको छ, त्यो नै हाम्रो पहिचान हो, त्यो नै हाम्रो शक्ति र गौरव हो । पहाडका कन्दराबाट उत्पन्न भएको नेपाली भाषा आज मेची र महाकालीमा सीमित छैन, सीमित छैन त्यो ब्रह्मपुत्र र इरावदीमा, सीमित छैन त्यो तुर्सा र मानसमा, बरु त्यो मिसिसिपी र डेट्रॉइटहरू समाहित हुँदै अनन्त भू-मण्डलमा विस्तार खोज्दैछ । यिनै तथ्यहरूको सापेक्षतामा हामी सबैको साझा इतिहास, साझा चिनारी र साझा भावनाको सेतुका रूपमा नेपाली भाषा हामीमाझ रहेको छ ।
आज मैले इतिहासदेखि वर्तमानसम्मको भुटानीहरूको साँस्कृतिक र भाषिक संघर्ष, बसाइँसराइ र त्यसले ल्याएको प्रभाव र अहिले देखापरेका चुनौतिहरूका बारेमा लामो बेलीबिस्तार लगाएँ । भाषा–संस्कृतिको रक्षाले नै आफ्नो पहिचानको रक्षा हुन सक्छ, र त्यही अभियन्तामा हामी क्रियाशील छौँ । पूर्वजहरूले खडा गरेको मूल्यको जगमा नै हाम्रो अस्तित्व र आत्मसम्मान अडिएको छ । त्यसैले, इतिहासप्रति सम्मान, पुर्खाहरूको बलिदानप्रति कृतज्ञता र भविष्यप्रति उत्तरदायित्व बोध गर्दै अब हामीले आफ्नो मातृभाषा, संस्कृति र पहिचानलाई व्यवस्थित रूपमा संरक्षण र संवर्धन गर्ने स्पष्ट संकल्प लिनुपर्ने समय आएको छ ।
यसै सन्दर्भमा साहित्य परिषद् भूटान, भूटानी नेपाली पहिचानको ऐतिहासिक धरोहरका रूपमा, सेप्टेम्बर महिनालाई “नेपाली भाषा विरासत महिना” को रूपमा मनाउने घोषणा गर्दछ । र त्यसै महिना कुनै एक दिनलाई नेपाली भाषा विरासत दिवसका रूपमा मनाइने छ । स्मरण रहोस्— सन् १८८७ को भाद्र महिनामा दालचन गुरुङ र पारोका राजा (पेन्लप) रिन्पु बीच भएको ऐतिहासिक सम्झौताले भूटानमा नेपाली भाषा र समुदायको वैधानिक उपस्थिति स्थापित गरेको थियो । त्यसै ऐतिहासिक क्षणलाई आधार बनाई, हरेक वर्ष यस महिनामा विभिन्न भाषा–साहित्यिक कार्यक्रम, अध्ययन, चर्चा–परिचर्चा गरेर उत्सवका रूपमा मनाइने छ । यसले हाम्रा पुस्तामा मातृभाषाप्रतिको आत्मगौरव र पहिचान बोधलाई अझ सुदृढ बनाउने र भाषाप्रतिको सचेतना बढाउने छ ।
अन्ततः भाषा सञ्चारको माध्यमभन्दा बढ्ता हो; त्यो हाम्रो इतिहास हो, सभ्यता हो, स्मृति, पहिचान र अस्तित्वको आत्मा हो । भाषा र संस्कृतिका माध्यमबाट नै आगामी पुस्ताले आफू हुनुको आत्म-गौरव गर्ने छ भन्ने कुरा यहाँ राख्तै विदा हुन चाहन्छु । धन्यवाद ।
सन्दर्भ–सामग्री
अधिकारी, हरिप्रसाद. अमर भूटान. बिर्तामोड: बी.एन.डी.पी, १९९३.
ढुङ्गेल, विपिनदेव. ‘नेपाल र भोटाङ्का मित्रताको माध्यम’. ज्ञान विज्ञानको दिशा, सं. डिल्लीराम तिम्सिना, पृष्ठ १३१–१४०. वारणासी: श्रीमती दुर्गा तिम्सिना.
प्रधान, लेन्पो ओम. भूटान द रोर अफ द थन्डर ड्रेगन. मोतिथाङ: के मिडिया, २०१२.
वाइट, जे. क्लाउड. सिक्किम एण्ड भूटान. अमेरिका: केसिङ्गर लिग्यासी रिप्रिन्टसर््, २०१०.
हट, माइकल. अनविकमिङ सिटिजन. दिल्ली: अक्फड यूनिभर्सिटी, २००३.
सूचना प्रसारण विभाग. ‘प्राचीन–अर्वाचीन भूटान–नेपाल मैत्री सम्बन्ध’. ड्रूक लोसेल अङ्क २–३, १९८२.
