साहित्य परिषद्, भूटानद्वारा नयाँ कार्यसमिति (बोर्ड) चयन

Press release

 

प्रेस विज्ञप्ति

साहित्य परिषद्, भूटान

मिति: ०५/०९/२०२६

भूटानी नेपाली साहित्यको संरक्षण, प्रवर्द्धन र विश्वव्यापी विस्तारको अभियानमा समर्पित संस्था साहित्य परिषद्, भूटान ले आफ्नो नयाँ कार्यसमिति (बोर्ड) गठन गरेको जानकारी यस प्रेस विज्ञप्तिमार्फत सम्पूर्ण साहित्यप्रेमी समुदायमा हार्दिकतापूर्वक गराउँदछ।

शनिबार बिहान सम्पन्न परिषद्को भर्चुअल बैठकमा निर्वाचन समितिका संयोजक आदरणीय श्री रूपनारायण पोख्रेलले परिषद्को नयाँ कार्यकारी समितिको घोषणा गर्दै अध्यक्ष पदमा साहित्यसेवी तथा सक्रिय अभियन्ता खेम रिजाल निर्विरोध चयन हुनुभएको जानकारी गराउनुभयो। त्यसैगरी उपाध्यक्ष पदमा तिलारूपा आचार्य (अधिकारी), महासचिव पदमा निल अधिकारी, कोषाध्यक्ष पदमा ग्रेन्द्र भण्डारी (जन्तरे) तथा सदस्य पदमा भीम अधिकारी चयन हुनुभएको छ।

परिषद्को आगामी कार्यकाललाई सशक्त, उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ कार्यसमितिको निष्पक्ष तथा पारदर्शी गठनका लागि त्रिसदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। उक्त समितिमा रूपनारायण पोख्रेल, मनोज राई तथा प्रतिमान सिवा रहनुभएको थियो। त्रससदस्यीय उक्त समितिले परिषद्का वर्तमान ६३ जना सदस्यहरूलाई विभिन्न पदका लागि आवेदन दिन आह्वान गरेको थियो। यद्यपि प्रारम्भिक चरणमा पाँच जना सदस्यहरूले मात्र आफ्नो उम्मेदवारी तथा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। अझ व्यापक सहभागिताको अपेक्षासहित समितिले थप १५ दिनको समयावधि विस्तार गरेको भए तापनि अन्य सदस्यहरूबाट आवेदन प्राप्त हुन सकेन। अन्ततः साहित्यप्रतिको समर्पण, जिम्मेवारीबोध र सक्रिय इच्छाशक्तिलाई सम्मान गर्दै आवेदन दिने सदस्यहरूलाई नै नयाँ कार्यसमितिमा चयन गरिएको हो।

 

यो ऐतिहासिक घोषणा भुट्नीलिट्रेचर डटकम पाक्षिक प्रकाशनको १७औँ स्थापना दिवसको विशेष अवसरमा गरिएको हो, जसले कार्यक्रमलाई अझ अर्थपूर्ण र भावनात्मक बनाएको छ। पुनर्वासपछिको यो परिषद्को चौथो कार्यसमिति हो। परिषद्को पहिलो कार्यसमिति सन् २०१० देखि २०१६ सम्म, दोस्रो कार्यसमिति २०१६ देखि २०१८ सम्म र तेस्रो कार्यसमिति २०१८ देखि २०२६ सम्म क्रियाशील रहेको थियो। अब नवगठित चौथो कार्यसमितिले प्रवासमा फैलिएको भूटानी नेपाली साहित्यिक यात्रालाई नयाँ ऊर्जा, दृष्टि र समर्पणका साथ अघि बढाउने विश्वास लिइएको छ।

यसैबीच परिषद्ले आफ्नो गतिविधिलाई विश्वव्यापी रूपमा अझ सुदृढ बनाउन विभिन्न देश तथा क्षेत्रहरूमा निर्देशालयको व्यवस्था गरेको छ। अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, युरोप तथा दक्षिण एसियामा निर्देशालय स्थापना गरिने निर्णय परिषद्को अन्तर्राष्ट्रिय साहित्यिक सञ्जाल विस्तारतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। परिषद् अमेरिकामा दर्ता भएको संस्था भएकाले कार्यसमितिमा अमेरिकामा नै रहेका सदस्यहरूले संस्थाको सञ्चालन गर्ने प्रावधान कायम गरिएको जानकारी पनि बैठकमा गराइएको थियो।

नयाँ कार्यसमितिको घोषणा कार्यक्रममा निवर्तमान कार्यसमितिका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै एसिया निर्देशनालयका तर्फबाट दिल भूटानी, क्यानडाबाट भानु ढुङ्गाना तथा नर्वेबाट रमेश गौतम सहभागी हुनुभएको थियो। कार्यक्रममा पर्यवेक्षकका रूपमा विष्णु लुइँटेल, भीम कोइराला, भुट्नीलिट्रेचर डटकम पाक्षिकका प्रमुख सम्पादक शिवलाल दाहाल, ठाकुर मिश्र तथा मनोज राईको उपस्थिति रहेको थियो।

साहित्य परिषद्, भूटानले नयाँ कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनहरूमा भूटानी नेपाली भाषा, साहित्य, संस्कृति र पहिचानको जगेर्ना तथा प्रवर्द्धनमा अझ समर्पित भएर कार्य गर्ने विश्वास व्यक्त गरेको छ। प्रवासको पीडा, इतिहासको स्मृति र पहिचानको संवेदनालाई साहित्यमार्फत जीवन्त राख्ने यस साझा यात्रामा सम्पूर्ण साहित्यप्रेमी समुदायको निरन्तर साथ, सहयोग र शुभेच्छा रहने अपेक्षा परिषद्ले गरेको छ।

निल अधिकारी

सचिव

साहित्य परिषद्,भूटान

परिषद्,को साहित्यक यात्रा

नेपाली भाषा, साहित्य र सांस्कृतिक पहिचानको संरक्षण तथा संवर्द्धन गर्ने महान उद्देश्यका साथ १९९३ मार्च १७ का दिन झापाको बेलडाँगी–२ शरणार्थी शिविरमा भाषा परिषद्, भुटान को विधिवत् स्थापना गरिएको थियो। विस्थापनको पीडा, अनिश्चित भविष्य र अस्थायी जीवनको कठिन परिस्थितिका बीच पनि आफ्नो भाषा, संस्कृति र पहिचान जोगाइराख्ने अठोट बोकेका ५० भन्दा बढी भाषा–प्रेमीहरूको ऐतिहासिक उपस्थितिमा यस संस्थाको जन्म भएको थियो। त्यो केवल एउटा संस्थाको स्थापना मात्र थिएन, त्यो विस्थापित समुदायको आत्मा जोगाउने एउटा सांस्कृतिक संकल्प थियो।

समयसँगै परिषद्ले आफ्नो कार्यक्षेत्रलाई अझ व्यापक र साहित्यकेन्द्रित बनाउँदै २००३ सालदेखि नेपाली साहित्य परिषद्, भुटान को नाम ग्रहण गर्‍यो। पुनर्वासपछिको नयाँ परिस्थितिमा पनि भाषा र साहित्यको दीप निभ्न नदिन परिषद्ले आफ्नो यात्रालाई निरन्तरता दियो। सन् २०१६ मा साहित्य परिषद्, भुटान (LCOB) अमेरिकामा गैर–नाफामुखी संस्थाका रूपमा दर्ता भयो। यसले परिषद्लाई अन्तर्राष्ट्रिय स्तरमा संगठित रूपमा अघि बढ्ने थप आधार प्रदान गर्‍यो।

परिषद्ले आफ्नो स्थापनाको ३३ वर्ष पूरा गरेर ३४औँ वर्षमा प्रवेश गरेको छ। लगभग तीन दशक लामो यो यात्रामा परिषद्ले के गर्‍यो, के गर्न सक्यो र के गर्न सकेन,त्यसको निष्पक्ष मूल्याङ्कन इतिहास र समाजले अवश्य गर्नेछ। तर एउटा सत्यलाई कसैले अस्वीकार गर्न सक्दैन।विस्थापनको कठोर अँध्यारोमा नेपाली भाषा र साहित्यको ज्योति निभ्न नदिन परिषद्ले निभाएको भूमिका अविस्मरणीय छ।

त्यतिबेला झापाका सातवटै शरणार्थी शिविरहरूमा परिषद्ले आफ्ना शाखा–प्रशाखाहरू विस्तार गर्दै नेपाली भाषा तथा साहित्यको पठन–पाठनलाई व्यापक रूपमा अघि बढायो। साहित्य प्रचार समिति, सिलिगुडी र साहित्य परिषद्को संयुक्त पहलमा १९९३ देखि सुरु भएको साहित्यिक तथा शैक्षिक अभियान २००८ सम्म निरन्तर सञ्चालन भयो। १७ वर्ष लामो यस अभियानले लगभग १० हजारभन्दा बढी भुटानी नेपालीहरूलाई साक्षर र शिक्षित बन्ने अवसर प्रदान गर्‍यो। यो केवल शिक्षा दिने कार्यक्रम थिएन, यो विस्थापित समुदायलाई आत्मविश्वास, चेतना र भविष्यप्रतिको आशा दिने अभियान थियो।

यस अभियानको सबैभन्दा प्रेरणादायी पक्ष भनेको महिलाहरूको उल्लेखनीय सहभागिता थियो। घरभित्र सीमित हुन बाध्य महिलाहरू शिक्षा र चेतनाको मूलधारमा जोडिए। उनीहरूले भाषा सिके, साहित्य पढे, समाज बुझ्ने अवसर पाए र आफ्ना अनुभवहरूलाई अभिव्यक्त गर्न थाले। यही शैक्षिक अभियानबाट उत्पादित सयौँ विद्यार्थीहरू पछि स्नातक बनेर क्याम्पका विद्यालयहरूमा शिक्षक–शिक्षिकाका रूपमा स्थापित भए। भाषा प्रभाकरदेखि साहित्य अलङ्कार (स्नातक सरह) दोस्रो वर्षसम्मको अध्ययन क्याम्पभित्रै सञ्चालन गर्नु त्यो समयको अत्यन्त ऐतिहासिक र साहसी कदम थियो।

शिक्षासँगै परिषद्ले साहित्यिक चेतनाको विकासमा पनि उत्तिकै महत्त्वपूर्ण योगदान पुर्‍यायो। भूटान कोपिला (वार्षिक) र भूटान जागरण (पाक्षिक) जस्ता पत्रपत्रिकाहरू प्रकाशन गरेर परिषद्ले उदाउँदा लेखक, कवि र स्रष्टाहरूलाई आफ्ना भावना, विचार र सिर्जनाहरू अभिव्यक्त गर्ने खुला मञ्च प्रदान गर्‍यो। ती पत्रिकाहरू केवल कागजमा छापिएका शब्दहरू थिएनन्; ती विस्थापनको वेदना, संघर्षको कथा, आशाको उज्यालो र पहिचानको आवाज थिए।

शरणार्थी शिविरहरूमा नेपाली भाषा पढाउने अधिकांश शिक्षकहरू परिषद्कै उत्पादन थिए। आज भुटानी नेपाली समाजमा देखिएका थुप्रै साहित्यिक संस्था, लेखक, कवि, पत्रकार र उदाउँदा स्रष्टाहरूको मूल स्रोत पनि यही परिषद् हो। यस अर्थमा परिषद् केवल एउटा संस्था होइन—यो सम्पूर्ण भुटानी नेपाली साहित्यिक चेतनाको जननी हो।

संसारभरि छरिएर बसेका भुटानी नेपालीहरूलाई जोड्ने, भावनात्मक रूपमा नजिक राख्ने र पुस्तौँसम्म हाम्रो पहिचानलाई जीवित राख्ने सबैभन्दा शक्तिशाली माध्यम भनेकै नेपाली भाषा र यसको पठन–पाठन हो। बच्चाहरूको पहिलो विद्यालय भनेको आमा–बुबाको काख हो। घरभित्र नेपाली बोलिएन भने बालबालिकाले भाषा कहाँबाट सिक्ने? यदि हामी आफ्ना सन्तानलाई हाम्रो भाषा, संस्कृति र मूल्यहरूसँग जोड्न चाहन्छौँ भने घरमै नेपाली बोल्ने वातावरण सिर्जना गर्नुपर्छ।

यदि व्यस्तता वा परिस्थितिका कारण घरमा पर्याप्त रूपमा सिकाउन सम्भव छैन भने अहिले सञ्चालन भइरहेका अनलाइन नेपाली कक्षाहरू, साहित्यिक मञ्चहरू र सांस्कृतिक कार्यक्रमहरूसँग बालबालिकालाई जोड्न सकिन्छ। सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। भाषा संरक्षण कुनै एक संस्था वा केही व्यक्तिको मात्र जिम्मेवारी होइन; यो सम्पूर्ण समुदायको साझा दायित्व हो।

हामीले सम्झनुपर्छ—भाषा बाँचे मात्र इतिहास बाँच्छ, संस्कृति बाँच्छ, पहिचान बाँच्छ र भविष्य बाँच्छ। त्यसैले नेपाली भाषा केवल बोल्ने माध्यम होइन; यो हाम्रो आत्मा हो, हाम्रो स्वाभिमान हो र पुस्तौँसम्म जीवित रहने हाम्रो अस्तित्वको आधार हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *