धरातल
अंकित सापकोटा
पेन्सिलभेनिया, अमेरिका
घाम चर्किएपछि
पग्लेर खोलो बनेको हिउँलाई सोधियो—
तिमीलाई उकालो लैजाने त्यो काँध कुन हो?
ऊ बगेर गयो, बोल्दै बोलेन।
कतै एउटा वृक्ष थियो
जसले आफ्नै जरा खियाएर पातमा हरियो भर्यो।
तर नयाँ मौसमको बैँस चढेपछि
हाँगाहरूले जरालाई ‘अँध्यारोको बन्दि’ घोषणा गरिदिए।
धारिलो बन्चरो समात्ने हत्केलाहरू
अहिले आफ्नै छाया ऐनामा हेरेर अचम्म मान्छन्।
नदी तरेपछि
पैतालामुनिको ओसिलो माटो एकाएक ढुङ्गा बनिदिन्छ।
शिखरको टाकुराबाट तल हेर्दा,
फेदीका डोबहरू कुइरोले ढाकिएका हुन्छन्
कुइरो— जो आफैँमा एउटा अस्थाई अहंकार हो।
यहाँ हरेक उत्सवपछि
निभ्नै लागेका कोइलाहरू प्रश्न गर्छन् —
“हिजो आगो फुक्ने ओठहरूको रङ कस्तो थियो?”
उत्तरमा केवल एउटा चिसो सुस्केरा आउँछ
र बैठक कोठाको भित्तामा झुण्डिएको तस्बिरले
आफ्नो अनुहार अर्कोतिर फर्काउँछ।
यात्रा जारी छ
तर गोरेटोको आखिरी मोडमा पुगेपछि
जब तिर्खाले ओठहरू फुट्न थाल्छन्
त्यतिबेला हत्केलाहरूले पानी होइन
त्यही पुरानो बगरको नाम अनुस्मरण गर्न थाल्छन्।
तर, हिउँ बगिसकेको हुन्छ
र बगर केवल ढुङ्गाहरूको मौन जुलुस बनेर उभिरहन्छ।

