रेखा कविता-१: अतिक्रमण विरुद्ध
साम्राज्यवादी चीलहरूले
देशमा हिजोआज अतिक्रमण गरिरहेछन्
च्यातिएका छन् सन्धिहरु
देश र जनता असह्य वेदनाले
छटपटिएका छनन् भुटान, सिक्किम, दार्जिलिङ्ग, नेपाल
होडबाजी गर्दै दिल्लीको पाउमा
आफूलाई अर्पिरहेका छन् लेन्डुप दोर्जेजस्तै
स्वाभिमान र स्वतन्तताको खातिर
आवाज बुलन्द गरेर
सर्पको मुखमा परेका
ती पीडित मान्छे
नेपालीपनको हातेमालो गर्दै
आ—आफ्नो छातीमा दशगजा उठाएर
खडा भएका छन् किलामा
स्वाभिमानको दशगजामाथि
निरन्तर अतिक्रमण भइरहेकोछ
आफू आफूमा आक्रमण गर्ने
रानोबिनाको मौरी
युद्धरत छन् आफै
यी अश्वस्थामाको
घाउ बोकेर पनि
स्वाभिमानको झण्डामा
गोर्खाली र हिमालको
नक्सा बोकेर
धावनमार्गमा नेपालीहरू
आदिमकालदेखि
निरन्तर दौडिरहेछन्
आफ्नो गन्तव्यको लागि
आफ्नो माटोको लागि

