सङ्कट हस्तक्षेपको गलत परिणाम

Albury, Australia

दुर्गाप्रसाद रिमाल
अल्बेरी, अस्ट्रेलिया
उता देश ओगट्नेले देशको निसाना कोर्‍यो
सीमारेखाभित्रको माटो मेरो हो मात्र भनिरह्यो
र, आफ्नै हैकम जमाइरह्यो ।
माटो कोट्यायो तर माटोको स्वाद बुझेन
स्रोत देख्यो तर परिश्रम देखेन
अवसर पायो तर महत्त्व बुझेन
यता देश लुटाउनेले
मुठ्ठीमा देशको माटो बोक्यो
जतनका साथ बाचुन्जेल सिरानीमा राखेर निदाइरह्यो ।
देश बोकेर संसार डुल्यो, देश पाएन
माटो ओढेर निदाइरह्यो , आमा पाएन
यसरी – देश, माटो र आमा उसले कहिल्यै पाएन ।
सङ्कटमा देश हडप्नेले देश लथालिङ्ग पारिरह्यो
सङ्कटमा देश लुटाउनेले, देशको अभाव महसुस गरिरह्यो
यसरी, मेरो देशलाई कसैले देशको इज्जत दिएनन् ।
देश अतिक्रमण गर्नेहरूले
यति बुझ्नु पर्थ्यो
माटो कसैको पेवा हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *