सबै घाउहरूबाट खून बग्दैन
टिकाराम राई “आँसु”
केही घाउहरू छालामुनि हुँदैनन्—
देशको नक्साभित्र हुन्छन्,
जहाँबाट निकालिँदा
मानिसको शरीर मात्र होइन,
उसको इतिहास पनि
सीमापारि फ्याँकिन्छ ।
सबै घाउहरूबाट खून बग्दैन,
केही घाउहरूबाट
घरको आँगन बग्छ,
आमाको आवाज बग्छ,
बुबाको छाया बग्छ,
भाइबहिनीको बाल्यकाल बग्छ—
र अन्ततः मानिस आफैँभित्रबाट
आफैँसँग टाढिँदै जान्छ ।
शरणार्थी शिविरमा
हामीले आफ्नो नामभन्दा पहिले
आफ्नो कथा बोकेर हिँड्यौँ;
तर संसारले
हाम्रो कथाभन्दा पहिले
हाम्रो परिचय सोध्यो ।
कहिले उपहासले घोच्यो,
कहिले दयाले—
दुवैले एउटै कुरा गरे: हामीलाई
हामीभन्दा सानो बनाइदिए ।
नयाँ देशमा नयाँ भाषा सिक्यौँ,
नयाँ बाटो सिक्यौँ,
नयाँ काम सिक्यौँ—
तर एउटा कुरा
कहिल्यै सिक्न सकेनौँ:
आफ्नै हराएको घरलाई
पराइको घरजस्तो
कसरी सम्झने?
यहाँ बाँचेँ भनेको हरेक बिहान
आफ्नो अस्तित्व प्रमाणित गर्नु हो,
हरेक साँझ थकित आत्मालाई
भोलिको लागि
फेरि उठाउनु हो ।
कहिलेकाहीँ लाग्छ—
मानिस मर्दा मात्र मर्दैन रहेछ;
ऊ बिस्तारै मर्दोरहेछ
जब उसको विगत
उसलाई विश्वास गर्न छोड्छ,
जब वर्तमान
उसलाई स्वीकार्न हिच्किचाउँछ,
र भविष्य उसको लागि
केवल अर्को संघर्षको नाम बन्छ ।
हामी बाँचिरहेका छौँ—
तर के यही जीवन हो?
कि जीवन भन्नु
हराएको घरको ढोकामा
वर्षौँपछि पनि आफ्नो हातले
अझै ढकढकाइरहनु हो?
कसैले देख्दैन
छातीभित्रको त्यो रक्तस्राव,
जसको कुनै पट्टी हुँदैन,
कुनै अस्पताल हुँदैन,
कुनै औषधि हुँदैन ।
त्यसैले,
सबै घाउहरूबाट खून बग्दैन ।
केही घाउहरू आँसु बनेर
आँखाबाट पनि बग्दैनन्।
बरु घाउ नै रगत बनेर
जीवनभरि बगिरहन्छ ।
केही घाउहरू
मानिस भएर बाँचिरहनुपर्ने
बाध्यताभित्र चुपचाप
सास फेरिरहन्छन् ।

