किनारामा उभिएर
तिलक राई
बेलडाँगी नेपाल
हिजो हामी एकै चोटि एउटै बाटोमा
जीवनको गन्तव्य खोज्दै खोज्दै
कोसौँ टाढा क्षितिजमाथि टिलपिलाई रहेको
मधुरो घामको किरणलाई भेट्न
हस्याङफस्याङ देउराली हुँदै
साँघुरो खोल्सामा आइपुग्दा
हामीलाई लाग्थ्यो—समयमा पुगिँदैन कि क्या हो !
तीखा तीखा काँडा र चोकेहरूले
घोचेर रक्ताम्मे पारेको पैतालाहरूलाई
जोगाएर सहजसँग टेक्नुभन्दा
अझै धारिलो गिट्टीहरूमाथि टेक्न
बेप्रवाह पाइलाहरू आतुर हुन्थे
मानौँ तुफान आएको छ
समुन्द्रको तटबाट उठाएर मोतीका कणहरू
चुचुराको ताज बनाउन
सेताम्मे टल्कने हँसिलो दन्त लहरसँगै ।
अनकन्टार जङ्गल पार गरेपछि
हजारौँ माइल मरुभूमिको यात्रा तय गर्न
कटिबद्ध हाम्रा मुठ्ठीहरू
सधैँ जुरमुराएर पूर्वको यात्रामा हुन्थे
र
आफैलाई सुमसुम्याउँदै साेधिन्थ्यो
तैँले लक्ष्य भुलिनस् ?
कतै तेरो सपनाले कोल्टे फेरेन ?
आफैले आफूलाई प्रश्न तेर्साएपछि
खहरे झैँ बौलाएर लम्किँदा लम्किँदै
समयले पत्तै नदिई यति दूर पुर्याए छ ।
हो किनारामा पुगे पछि समुन्द्रको
सबको दृष्टि पर्यो समुन्द्रबिच
एउटा मृगतृष्णा लक्ष्यको
तर मैले सावधान ! भने,
एकाएक बहिरा बने अनि
आफै लादिन व्यस्त हुन थाले
शान्त भएर तैरिरहेको पानी जहाजको यात्री बन्यौ
घाउ भएका पैतालाहरूलाई आराम दिने सोच्यौ
खैर, केही छैन
तिमीलाई पानी जहाजले कहाँ पुरायो थाहा छैन
राक्षसी कालो बादल आएर
सधैँको लागि छोप्न खोज्छ घरीघरी
तर
मैले निरन्तर देख्न छोडेको छैन
सुन्दर अस्तित्वको प्रकाश
एक्लै किनारामा उभिएर ।