हामीले बोकेर ल्याएको भाषा, उनीहरूले बोकेर लैजाने विरासत
𝕴𝖓𝖛𝖎𝖙𝖊𝖉 𝕮𝖔𝖓𝖙𝖗𝖎𝖇𝖚𝖙𝖎𝖔𝖓
अंकित सापकोटा
पेन्सेल्भेनिया
गत वर्ष पाँच कक्षामा अध्ययन गर्ने हाम्री छोरी विद्यालयबाट एउटा गृहकार्य लिएर आइन्। गृहकार्य सामान्य थियो—आफ्नो परिवारको वंशवृक्ष तयार गर्ने र जीवित हजुरबा वा हजुरआमामध्ये एक जनासँग अन्तर्वार्ता लिने।
छोरीले मेरो बुबालाई रोजिन्।
विद्यालयले केही प्रश्न पनि दिएको थियो। ती प्रश्न अंग्रेजीमा थिए। मैले हेरेँ, केही थप प्रश्न पनि राखिदिएँ र भनें, “हजुरबालाई तिमी आफैं नेपालीमा सोध है।”
उनी हजुरबाको अगाडि बसेर नेपालीमा प्रश्न सोध्न थालिन्। बुबाले ध्यान दिएर सुन्नुभयो। तर उहाँले केही प्रश्नहरू बुझ्नुभएन। छोरीले दोहोर्याएर सोधिन् । उनको नेपाली नराम्रो थिएन तर अंग्रेजी जस्तो सहज र स्पष्ट पनि थिएन। कतै उच्चारणमा अड्किन्थिन्, कतै ठीक नेपाली शब्द भेट्दिनथिन्। उता बुबालाई अंग्रेजी आउँदैन। अन्ततः म उनीहरूका बीचमा बसेँ। छोरीले नेपालीमा सोधेको कुरा आवश्यक पर्दा मैले बुबालाई अझ स्पष्ट पारिदिएँ। बुबाले नेपालीमा दिएको उत्तर छोरीलाई बुझ्न मद्दत गरेँ। उनले ती उत्तर अंग्रेजीमा टिप्दै गइन्। केही समयपछि उनको गृहकार्य पूरा भयो।
तर त्यो साँझ मेरो आफ्नै मनमा एउटा प्रश्न जन्मियो — आज मैंले उनीहरूका बीचमा बसेर अनुवाद गरिदिएँ; सधैं यसरी कोही बीचमा बस्नुपर्ने हो त?
मेरो बुबासँग नातिनीलाई सुनाउन एउटा गृहकार्यमा अटाउनेभन्दा धेरै कथा छन्। उहाँसँग भुटानका कथा छन्, आफ्ना आमाबुबाका सम्झना छन्, खेतीपाती र गाउँका कथा छन्, देश छोड्नुपरेको पीडा छ, नेपालका शरणार्थी शिविरमा बिताएको समयका स्मृतिहरू छन्। ती सबै अनुभव कुनै दिन हाम्री छोरीले आफ्नै हजुरबाको मुखबाट सुन्न चाहेकी बेला बाबु दोभाषे भएर छेउमा बस्नैपर्ने अवस्था किन रहोस्?
त्यो सामान्य गृहकार्यले मलाई एउटा असामान्य सत्यसँग एकाकार गरायो—पुस्ताबीचको दूरी सधैं उमेरले मात्र बन्दो रहेनछ; कहिलेकाहीँ भाषा कमजोर हुँदै जाँदा एउटै परिवारभित्र पनि दूरी बढ्न थाल्दो रहेछ।
त्यो दिनपछि मेरो प्रश्न केवल छोरीले कति नेपाली बोल्छिन् भन्ने मात्र रहेन। प्रश्न थियो—उनले यो भाषा भोलिसम्म पनि आफ्नै ठानेर बोकी रहून् भन्नका लागि आज हामीले के गर्न सक्छौँ? त्यसको उत्तर खोज्ने क्रममा हामीले घरको बोलचालभन्दा अलि अगाडि बढेर सोच्न थाल्यौँ।
हाल उनी नेपाली भाषा र संगीतका कक्षाहरू लिँदै छिन्। मेरा लागि यी कक्षाहरू अरू अतिरिक्त कक्षाहरू जस्ता मात्र होइनन्; यी कक्षाहरू उनी र नेपाली भाषाबीचको सम्बन्ध अझ बलियो बनाउने यात्राका हिस्सा हुन्। उनी अमेरिकामै जन्मिएकी हुन्। उनी जन्मेको पहिलो तीन वर्षसम्म हाम्रो घरको प्रमुख भाषा नेपाली थियो। उनी नेपालीमै बोल्थिन्। विद्यालय सुरु भएपछि साथी, पढाइ, पुस्तक र बाहिरी संसार अंग्रेजीमा विस्तार हुँदै गयो। अंग्रेजी उनको स्वाभाविक भाषा बन्दै जाँदा नेपाली बिस्तारै पछाडि पर्न थाल्यो । हामीसँग नेपाली बोल्दा अंग्रेजी मिसिन थाल्यो, पहिले सहजै आउने शब्द खोज्न थालिन् उनी ।
यो उनको गल्ती थिएन। फरक भाषिक परिवेश भएको ठाउँमा हुर्किरहेको बच्चाको जीवनमा यस्तो हुनु अस्वाभाविक पनि होइन। बरु मैले आफैंलाई सोध्न थालेँ—उनले नेपाली बिर्सँदै गइरहेकी छन् भने मैले उनलाई नेपाली सम्झिरहने पर्याप्त अवसर दिएको छु त? त्यही सोचले एउटा मित्रमार्फत नेपालमै बसेर विदेशका बालबालिकालाई अनलाइन नेपाली पढाउने शिक्षकहरूसँग हाम्रो सम्पर्क गरायो। सुरुमा केही समय हेरौँ भन्ने थियो; अहिले कम्तीमा केही वर्ष निरन्तर नेपाली पढाउने सोच बनेको छ।
त्यसैबीच उनको संगीतप्रतिको रुचिले यो यात्रामा अर्को बाटो खोलिदियो। दुई वर्षअघि पियानोको आधारभूत पाठ सिकिसकेकी उनले नेपाली कक्षा सुरु भएको केही समयपछि आफैं भोकल सिक्ने इच्छा देखाइन्। हरेक सप्ताहान्त भोकल कक्षा सुरु भयो। अझ रमाइलो कुरा उनले नेपाली गीत नै सिक्ने इच्छा देखाइन्।
अहिले उनी पुराना नेपाली गीत, भजन, लोकगीत र अन्य नेपाली रचनाहरू सिक्दैछिन्। कतिपय गीतका शब्द सजिला छैनन्; पुराना गीत र गजलको नेपाली हामी वयस्कले समेत कहिलेकाहीँ अर्थ खोज्नुपर्ने गरी काव्यात्मक हुन्छ। यहीँबाट उनका दुई कक्षाबीचको सम्बन्ध पनि खुल्दै गयो।
नेपाली कक्षाले गीतका शब्द र अर्थ बुझ्न मद्दत गर्छ; गायनले उच्चारणमा ध्यान दिन सिकाउँछ। शब्दको अर्थ बुझेपछि गीत केवल धुन रहँदैन र गीत मन पर्न थालेपछि नेपाली बाध्यतामा सिक्नु पर्ने अर्को भाषा मात्र रहिरहँदैन। एउटाले उनलाई भाषा बुझ्न सघाइरहेको छ, अर्कोले त्यही भाषासँग भावनात्मक सम्बन्ध जोडिरहेको छ।
छोरीलाई यसरी नेपाली भाषा र संगीतसँग जोडिँदै गएको देख्दा म कहिलेकाहीँ आफ्नै बाल्यकालतर्फ फर्किन्छु। आज मेरी एघार वर्षीया छोरी अमेरिकामा बसेर स्वेच्छाले नेपाली पढिरहेकी छिन्। म भने नौ वर्षको हुँदा भुटानमा नेपाली भाषाको स्थान विद्यालय र सार्वजनिक जीवनमा साँघुरिँदै गएको समय अनुभव गर्न बाध्य थिएँ। त्यसपछिको राजनीतिक तनावबीच मेरो बुबा पक्राउ पर्नुभयो, कठोर यातना सहनुभयो र अन्ततः हाम्रो परिवारले देश छोड्नुपर्यो।
बुबाआमा, हजुरबा–हजुरआमा र हामी सात दाजुभाइ-दिदीबहिनी जन्मभूमिबाट निस्कियौँ। अनिश्चित यात्रापछि नेपाल पुग्यौँ र झापाको गोलधाप शरणार्थी शिविरमा नयाँ जीवन सुरु गर्यौँ। सुरुका दिनहरू सहज थिएनन् । तर त्यही अनिश्चितताबीच विद्यालय बन्न थाले। आफैं शरणार्थी बनेका शिक्षित अग्रजहरूले बच्चाहरूको पढाइ रोकिन दिनुभएन; पछि विभिन्न संस्थाको सहयोग थपियो। मैले फेरि पढ्न पाएँ—नेपाली, अंग्रेजी, साहित्य र अरू विषय। त्यही शिक्षाको बाटो हुँदै उच्च शिक्षासम्म पुगेँ र झन्डै सत्र वर्षको शरणार्थी जीवनपछि सन् २००९ मा तेस्रो-देश पुनर्वासमार्फत अमेरिका आएँ।
फर्केर हेर्दा मेरो जीवनमा नेपाली भाषाले पनि भूगोलसँगै यात्रा गरेको महसुस गर्छु । भुटानमा त्यसको स्थान साँघुरिँदै गएको देखेँ, नेपालमा विस्थापित भएर बस्दा त्यही भाषासँग अझ गहिरो सम्बन्ध बन्यो र आज अमेरिकामा आफ्नी छोरीलाई त्यही भाषा हस्तान्तरण गर्ने प्रयास गरिरहेको छु।
हाम्री छोरीलाई आज कसैले नेपाली नबोल भनेको छैन। उनको विद्यालयले उनको भाषा प्रतिबन्ध लगाएको छैन। मेरो चिन्ता अर्कै छ— दैनिक जीवनको स्वाभाविक बहावमै त्यो भाषा उनका लागि बिस्तारै पराई नबनोस्।
हाम्रा बुबाआमालाई अमेरिका आउँदा अंग्रेजी आउँदैनथ्यो। उहाँहरूको एउटा भरोसा थियो—छोराछोरी छन्, उनीहरूले नेपाली पनि बुझ्छन्, अंग्रेजी पनि; नयाँ देशमा बाटो देखाइदिन्छन्। हाम्रो पुस्ता दुई भाषाबीचको पुल बन्यो; दुई पुस्ताबीचको आशा बन्यो।
‘फ्यामिली ट्री’को त्यो गृहकार्यले मलाई सोध्न बाध्य बनाएको प्रश्न यही थियो—यदि हाम्रा बच्चाको पुस्तासम्म पुग्दा त्यो पुल कमजोर भयो भने?
त्यसैले अहिले हाम्री छोरीले कुनै नयाँ नेपाली शब्द प्रयोग गरेर हामीलाई जिस्काउँदा मलाई रमाइलो लाग्छ। घरमा आफैं नेपाली गीत गुनगुनाउँदा ध्यान दिएर सुन्छु। सुरुमा हामीले सम्झाउनुपर्ने कक्षाहरू अहिले उनले सहज रूपमा स्वीकारेकी छिन्। अझै उनको नेपालीले लामो यात्रा गर्न बाँकी छ। उनको जीवनमा यो कस कुनै चमत्कार भएको होइन तर उनको सिकाइको दिशा ठीक छ जस्तो लागेको छ।
त्यसको सानो प्रभाव हाम्री पाँच वर्षीया छोरीमा पनि देखिन थालेको छ। दिदीले नेपाली गीत गुनगुनाउँदा वा अभ्यास गर्दा उनी पनि सँगसँगै गाउन खोज्छिन्। दिदीले सिकेका कुरा बहिनीले हेरेर र सुनेर सिक्ने सम्भावना देखिँदैछ। घरमा भाषा जोगाउने वातावरण अभिभावकले मात्र बनाउने होइन रहेछ; एउटा बच्चाले सिक्न थालेपछि उसले अर्कोका लागि पनि बाटो खोल्न सक्दो रहेछ। कहिलेकाहीँ सिकाउनेभन्दा देखेर, सुनेर र सँगै गरेर सिक्ने प्रभाव अझ स्वाभाविक हुँदो रहेछ।
यस अनुभवले मलाई एउटा कुरा सिकाउँदैछ—विदेशमा हुर्किएका बच्चालाई “नेपाली बोल” भनेर बारम्बार सम्झाउनु मात्र शायद पर्याप्त हुँदैन। उनीहरूलाई नेपाली बोल्न मन लाग्ने कारण पनि दिनुपर्छ; अवसर सिर्जना गर्नु पर्छ ।
कसैका लागि त्यो हजुरआमाको कथा हुन सक्छ, कसैका लागि दशैंको गीत, कविता, लोककथा, भजन वा नेपाली चलचित्र। हाम्री छोरीका लागि अहिले भाषा र संगीत एकअर्काका सहयात्री बनेका छन्।
यो प्रश्न भुटानबाट विस्थापित भएर आएका हामी नेपालीभाषी परिवारको मात्र होइन। नेपालबाट सीधै अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत वा संसारका अन्य देशमा पुगेर बच्चा हुर्काइरहेका परिवारको प्रश्न पनि हो।
हाम्रा बच्चाले आफू जन्मेको देशको भाषा सिकून्, त्यहाँको समाजमा आत्मविश्वासका साथ अघि बढून्। नेपाली सिकाउनु भनेको उनीहरू हुर्कंदै गरेको समाज वा भाषालाई कम्जोर ठान्नु होइन । उनीहरूले मातृभाषा जान्नु उनीहरूको नयाँ पहिचानबाट केही घटाउनु होइन; उनीहरूको जीवनमा अर्को संसार थप्नु हो।
म आफ्नी छोरीलाई नेपाली सिकाउन सक्छु, उनलाई नेपाली संगीतसँग जोड्न सक्छु, हजुरबासँग नेपालीमा बोल्न प्रेरित गर्न सक्छु। तर कुनै दिन उनले आफ्ना सन्तानलाई यो भाषा दिन्छिन् कि दिँदिनन्—त्यो निर्णय उनको हुनेछ।
सायद हाम्रो भूमिका त्यो निर्णय आजै उनका लागि गर्नु होइन। हाम्रो काम यति हो कि जब त्यो दिन आउँछ, उनीसँग हस्तान्तरण गर्न लायक केही बाँकी रहोस्।
किनकि भाषा केवल शब्दको संग्रह होइन। त्यसमा परिवारको स्मृति हुन्छ, हजुरबाको कथा हुन्छ, आमाको लोरी हुन्छ, गीतको अर्थ हुन्छ, साहित्य र कला हुन्छ, पुर्खाले भोगेको इतिहास हुन्छ ।
र मेरो आफ्नै इतिहासको अर्को अर्थ पनि छ। जुन पुस्ताले भुटानमा आफ्नै भाषा र सांस्कृतिक पहिचानमाथि दबाब परेको देख्यो, विद्यालयबाट नेपाली भाषा हटाइएको देख्यो र अन्ततः विस्थापन भोग्यो, त्यही पुस्ताका सन्तान आज संसारका विभिन्न देशमा हुर्किरहेका छन्। अब उनीहरूले नेपाली भाषा, गीत, साहित्य र संस्कृति बुझ्दै त्यसलाई अर्को पुस्तासम्म पुर्याउन सके भने त्यो केवल भाषा जोगाउनु मात्र हुनेछैन—इतिहासलाई दिइएको एउटा शान्त तर शक्तिशाली जवाफ पनि हुनेछ।
कुनै समय एउटा राज्यको नीतिले नेपाली भाषालाई विद्यालयबाट हटाउन सक्यो; तर एउटा पुस्ताको स्मृतिबाट मेटाउन सकेन। हामी देशबाट विस्थापित भयौँ, संसारभर छरियौँ, तर नेपाली भाषाले पनि हामीसँगै यात्रा गरिरह्यो। अब त्यसको भविष्य कुनै सरकारको हातमा होइन, धेरै हदसम्म हाम्रै हातमा छ।
त्यसैले कुनै दिन हाम्री ठूली छोरी आफ्ना हजुरबासँग म बीचमा नबसी लामो संवाद गर्न सकिन्, अनि आज उनीसँगै नेपाली गीत गुनगुनाउने हाम्री पाँच वर्षीया छोरीले पनि त्यो भाषा र संगीतलाई आफ्नै ठानेर अगाडि बढाइन् भने—मेरा लागि त्यो कुनै एउटा नेपाली कक्षाको सफलता मात्र हुनेछैन। त्यो प्रमाण हुनेछ कि पुस्ता फेरिन सक्छन्, देश फेरिन सक्छन्, भूगोल फेरिन सक्छ; तर हामीले सचेत भएर अर्को पुस्तालाई सुम्पिरह्यौँ भने भाषा, स्मृति र पहिचानको यात्रा रोकिनु पर्दैन।

