मतदान 

डोना आचार्य 
पेन्सेल्भिनिया

आजकल
मेरो सेरोफेरोमा
राजनीति चढेको छ –
खासै देशको
चिन्ता नगर्नेहरू पनि
आआफ्नो सत्यतालाई
अघि सर्न आतुर छन्

मलाई
किन किन
धरातल
महत्त्वपूर्ण लाग्छ

पन्ध्र वर्ष अघि
आत्मा बेचेर
भाडा तिर्नेहरू
फेरि –
आफ्नोपन
बिर्सँदै छन्

दुई पैसा
कम कर तिर्ने रहरमा
त्यही करको छत्रछायामा
पुच्छरबाट
टुप्पोसम्म पुगेको
कति सजिलै
बिर्सिएको!

तिम्रो
हिजोको मार्क्सवादी सोच पनि
देखेकै हो
भोगेकै हो

आज
लोक कल्याणकारी
कार्यक्रमका आडमा
दुई पैसा
आफ्ना नाममा
सार्न पाउँदा नपाउँदै
निकै त्यसै विरुद्ध
नाराबाजीमा
व्यस्त छौ रे!

परिश्रम गर्नुहुन्छ
मानिस र व्यवस्थालाई
मुर्गा बनाउन –
समाज हितमा हो कि
व्यापार विस्तारमा –
परोपकारको धज्जी पनि
बढिरहेको सुन्छु

हो
औँला नबङ्गाई
घ्यू निकाल्न गारो हुन्छ
तर
फोहोर औँलाले
घ्यू झिक्दा
बेरामी परिन्छ

म त
मतदान सम्झँदा
हाम्रो परिचयको
हाम्रो अस्तित्वको
हाम्रो पौरखी
संस्कृतिको
आन्दोलन सम्झन्छु

मेरो मतले
भोलि हामी जस्ताहरूलाई
टिक्नै नदिने
उठ्नै नदिने
नीति अवलम्बन हुँदा
धुरुधुरु
बनिएला कि
त्रास भरिएको छ

एकपल्ट
नचाहेरै सही
सोच्नु –
ढाँटिकुटी बटुलेको सम्पत्ति
ढुकुटी
फर्कँदैमा
तिम्रो ढुकुटी रित्तिँदैन
बिचारेर
दान गरौँ मतको।

तिमीलाई
अन्तरात्मामा
थाहा छ
यो बाटो
निराधार छ

सम्पत्ति शुद्धीकरण हेतु
अन्यत्र लगानी
खोज्दै जाँदा
आफ्नो
कथित सङ्घर्ष सोच

म त
तिम्रा बाउआमाले
काका-मामाले
तानाशाहमा
मताधिकार खोज्दा
खोला बगरमा
रुखा पहाडमा
दुःख गरेर
बचाएको सोच
भगाएको सोच

एउटा प्रहरमा
कुरामा कुरा
मिलाउन खोज्दा
मिलाउन नसक्दा
हो त नि भन्दै
म त
होहोरेमा-
तानासाह बन्छु भन्नेलाई
मतदान
पटक्कै गर्दिन।

 

One Reply to “मतदान ”

  1. Shiva Adhikari

    सुन्दर विचारको ॲभिव्यक्ति, ज्ञानप्रद् एवं सल्लाहजन्य रचना! चित्त बुझ्दो कलम कर्म!!✌️🪷

Leave a Reply

Your email address will not be published. Required fields are marked *