बाटो बिराउनेहरू प्रति

राम फुयाल

पेन्सिल्भेनिया, अमेरिका

के भो दूर गयौ भयौ अझ परै त्यो नर्तकी हाश्यमा।
पाऊँछौ कति सत्य शाश्वत अझै तिम्रा नयाँ भाष्यमा॥
सारा जीवनका वशन्त र खुशी बॅाडेर आफन्तमा।
बस्ने दर्शन लुप्त आज किन भो तिम्रा वृथा कार्यमा॥

तिम्रो हास्यकला गला र मनका उत्शाह फुल्थे यहाँ।
के हाँस्छौ कि भुल्यौ सबै ति अघिका रच्दै कहानी नयाँ॥
माया भाव विभोरमा लटपटी गर्ने गरेका क्षण।
न्यानो स्निग्ध अपार प्रेम कि भुल्यौ भ्रात्तित्वको चुम्बन॥

आमाको प्रिय काख उर्वर छटा मौलाउने फाँटमा।
पायौ के मृदुहास्यका कमल ती त्यस्तो मरूद्यानमा??
आफ्नो उर्वर जिन्दगी कति फुल्यो फैल्यो कति प्रेममा?
छोडी ब्यर्थ गयौ शताब्धी अघिको न्यानो छहारी यहाँ॥

छोडी कम्बल भावको नियतिले थाङ्नो समेट्ने भयौ ।
आत्मामान प्रमोदको मखमली च्याती उजाडी गयौ॥
आफ्नो भन्नु सबै भुल्यौ बिगतको खोज्ने निहूँमा नयाँ।
के नौलो प्रतिबिम्ब मै सब मिल्यो तिम्रो नयाँ सिर्जना??

हाम्रो प्यार परागको सुनखरी कुल्ची हिडेका थियौ।
कस्तो फूल वशन्तले रचिदियो जस्मा तिमी मग्न छौ॥
थियो सूर्य समान ओजस अघि ऐले बनी जुन्किरी।
आफ्नै देह पनि प्रकाश नहुने बल्दै हिड्यौ धिप्धिपी॥

एकान्तस्थलमा बसेर कहिले गर्ने गरे चिन्तन।
जो हो शास्वत त्यो लिएर मनमा गर्दा नयाँ मन्थन॥
मिल्ने केही अजम्बरी बुटी भए आत्मीयताको अब।
गर्दा सिन्चन फुल्छ कि नवलता हार्र्दीकमा उत्सव॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *