अन्योल

बी.पी शर्मा
नेदरल्यान्ड्स

अन्तःकरणको अनन्त आकाशभित्र
विस्फोटनका ज्वालाहरू
तापिरहेको छु निस्तब्ध
म भित्र भित्रै, अनि
दन्कँदै फैलिरहेका मान्छेका ती वैचारिक
नसाहरूबाट
सृजित रापहरू
सेकाउँदै छु म मेरा
पग्लिरहेका मनोभाव अनि यर्थथताहरू
खालि मनको गहिराइ सम्म विलोपित
झिल्काहरू उकेल्दै छु
तप्त ती आगोका झोक्काले
रक्ताम्य छु
स्मृति विस्मृत अज्ञात -ज्ञात घाउहरूले
पोखिएको छु,म भित्रको आकाशभरि
एउटा लक्ष्‌यविहीन यात्री झैँ
मानिस‌को भीड वरिपरि
उच्छ्वास र संवेगहरू
मग्न सुस्ताउँदै छु
आच्छादित मूर्त-अमूर्त मेरा
उकुसमुकुसहरू
त्यही ज्वालामुखीको विकराल आवाजसँगै
मानव मनवस्तीका गल्लीगल्लीमा
सेताम्मे खरानी बर्सिरहेको छु ।
युद्ध भूमिमा जिउन खोजिरहेको छ
मानिस यहाँ
जीवन‌को श्वास-प्रश्वासहरू बटुलिरहेको छ
जीवन अस्तित्वहरू स्वार्थको अग्नि कुण्डमा
होमिरहेकोको छ मानिस यहाँ
अमानवीय कृत्यका तक्षण दाह्राहरूले
चिथोरिरहेको छ बाँच्नुका अर्थहरू ।
त्यसैले
यो एकाइसौं शताब्दीको सुरुवातको बाटोमा
नि:सार उभिरहेको छु आज म
कोठा कोठाभित्र रुमल्लिइरहेका बारुदका धुवाँ
श्वास लिँदै
धर्तीको कुन कुनामा धरमराउँदै
जीवनको मूल्य खोजूँ म ।

सायद
आकाशको कालो बादलमनि
छटपटाइरहेको मानव बस्ती जस्तै
एउटा कालो भविष्य
मेरो काँधमा अनायासै थामिरहेको छु
सायद मेरा सपनाहरूले देखेका
बल्दा सपनाहरू
मान्छेका इतिहाससँगै जलाइरहेको छु !
अन्योल र उदासीनताबाट चर्याइरहेको
यी अदृश्य घाउहरू
म स्वयं दुखिरहेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *