विह्वलता

भरत तिम्सिना
पेन्सिलभेनिया, अमेरिका

 

कविता ?
नवीन ठाउँको नवप्रचलन, नयाँ लोक-व्यवहार
अनि यही नौलोपनमा मौलाएका नूतन विचार
जसले समयसापेक्ष नरहेका चाल-चलनलाई
रीतिथिति र पद्धतिलाई चुनौती दिन्छ, प्रतिरोध गर्छ
र, म यही रहनसहनको एउटा नव-आगन्तुक
बिलकुलै विभ्रान्त, दोधारे र अलमल्ल-
मलाई पनि अरूलाई झैँ, आजका धेरै समस्याहरू
सबै हिजोका कारणले भन्न कुनै आनाकानी छैन-
भनेको खण्डमा गलत हुन्छु होला जस्तो पनि लाग्दैन !
तर हिजोका मान्छेलाई पनि आफू सही नै लाग्थ्यो
के तिनीहरूको समाज समस्याविहीन थियो र?
मलाई थाहा छ मेरो नयाँ रहनसहनले
नयाँ समस्याहरू जन्माएको छ, भित्र्याएको छ
यी समस्याहरूको निराकरण, समाधान
न मसँग छ, न मभन्दा अघिल्लो समयको मान्छेसँग नै !
शायद यी समस्याहरूको हल खोज्ने जिम्मेवारी
हिजोका मान्छेहरूले झैँ नजाने जस्तो गरेर
म पनि पक्कै भविष्यलाई नै सुम्पिन्छु होला
अनि पुनः,
नयाँ प्रचलन, लोक-व्यवहार र विचारहरू आउलान्
मलाई विशिष्ट र महत्त्वपूर्ण लागेका मेरा अहिलेका
परम्परा र चलनहरू सबै खराब छैनन्-
यसको पूर्ण रूपमा विनाश गर्नुहुन्न भन्न मन लाग्ला
सर्वदा यस्तै कुराहरूको चिन्तन मनन गर्छु-
लाग्छ हामी कुरुक्षेत्रमा उपस्थित छौँ
मलाई म अर्जुन हुँ वा दुर्योधन थाहा छैन
मलाई मेरा साथमा श्री कृष्ण छन् कि शकुनी थाहा छैन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *