ऊ किन उभियो ?
दिल भूटानी
बेलडाँगी
ऊ एक्लै उभिइरहेछ
ऊ जस्तै जीर्ण एउटा छाप्रो नजिकै
जहाँ छाप्रो नम्बर १० लेखिएको छ
र उसको छातीमा लेखिएको छ असङ्ख्य देश प्रेम ।
उसका पैतालाहरूमा टाँसिबसेको छ
जन्मभूमिको असीम सुगन्ध
उसका यादका पोका पन्तेराहरुमा बसेको छ
गाउँघरका उकाली ओराली र देउराली भन्ज्यङ्गहरु ।
पुतली भिरको डढेलामा जीवनको बाजी लगाएर
जसले अविराम बाटोको दर्बिलो नक्सा बनायो
उसले नै त्यहाँ हिँड्न पाएन
त्यतिखेर उसको मनमा कस्ता चट्यङहरु बज्रियो होला
कुनै दिन यसरी
उसको पिडाको गहिराइ नाप्ने कोसिस गरेका छौ ?
पसिनाको फोछु मोछु बगाएर
जसले देश, देश जस्तो बनायो
उसैले बस्न पाउँदैन त्यहाँ
त्यतिखेर उसको आँसुको बाडी कत्रो गयो होला
त्यतिखेर उसको पीडाको पहाड कत्रो भयो होला
कुनै दिन यसरी
उसको पीडाको गहिराइ नाप्ने कोसिस गरेका छौ ?
जब गहिराइ भेटाउने छौ
थाहा हुने छ
ऊ किन उभियो ।
जतिखेर बाँच्न भनेर उसले देश छोड्यो
उसले बाचेर फेरि देश फर्कन्छु पनि सोचेको थियो ।
त्यतिखेर ऊ एक्लै थिएन
ऊ सँगसँगै उसका छोराछोरी पनि
डोर्याउदै हिँडेको थियो ।
यसरी हिँड्दा हिँड्दै ऊ यहाँ आइपुगेको थियो ।
एक दिन अचानक हावा चल्यो
त्यो हावाको झोक्कामा उनीहरू उभिइरहन सकेनन्
जसलाई उसले डोर्याउदै ल्याएको थियो
त्यो हावाले उडायो
र लग्यो कतै दुर दुर
तर
ऊ भने देश छुटेको त्यो क्षितिजतिर हेर्दै एक्लै उभिरहयो ।
हावाले दिशा बद्ले पनि
उसको देशभक्तिले दिशा बदलेन
ऊ उभिरहयो ।