योग, ध्यान र आरोग्यको सम्बन्ध

डा. लक्ष्मीनारायण ढकाल
केन्टकी, अमेरिका
आरोग्य
आरोग्य शब्द सामान्य रूपमा निरोगवाचक हो । तर यसको अर्थ यतिनै मात्र होइन । निरोग शब्दले शारीरिक स्वास्थ्य मात्र बुझाउँछ, तर आरोग्य शब्दले समग्र जीवनको स्वास्थ्यका साथै बाह्य अवयवहरूलाई पनि बुझाउँछ । वास्तवमा आरोग्य शब्दले शारीरिक, मानसिक, भावनात्मक र चेतनात्मक सन्तुलन तथा स्वास्थ्यलाई बुझाउँछ ।
यूनाइटेड नेशनले यसपटक 15 अप्रिललाई विश्व आरोग्य दिवस घोषित गरेको छ । यो दिवस नेपालको प्रमुख पहलमा भएको हो । यसरी नै भारतको पहलमा सन् 2014 मा 21 जूनलाई विश्व योग दिवस घोषणा गरिएको थियो भने गत वर्ष 2025 मा डिसेम्बर 21 लाई विश्व ध्यान दिवस घोषित गरिएको थियो । यस दिवसलाई न्यूयोर्कस्थित यूनाइटेड नेशनको मुख्यालयमा मनाइएको थियो, जसमा मैले पनि सहभागी हुने अवसर पाएको थिएँ ।
यसरी यूनाइटेड नेशनले एकपछि अर्को गर्दै योग, ध्यान र आरोग्यलाई विश्वस्तरमा मान्यता दिनु र प्रचारमा ल्याउनुको उद्देश्य संसारभरिका मानवलाई समग्र रूपमा स्वस्थ रहन प्रेरित गर्नु हो ।
यद्यपि पूर्वमा योग–ध्यानजस्ता विषयहरू हजारौं वर्षदेखि प्रयोग हुँदै आएका हुन्, तर कालान्तरमा प्रयोग कम हुँदै गएपछि यो विधा ओझेलमा परेको देखिन्छ । पछिल्ला तीन दशकयता भारतमा स्वामी रामदेवले विश्वस्तरमा योगको प्रचार गरेको पाइन्छ, तर उनको योगमा ध्यानको प्रयोग पाइँदैन । योगको पूर्ण लाभ यसको तीनवटै अंग—आसन, प्राणायाम र ध्यान—को समानान्तर प्रयोगले मात्र प्राप्त गर्न सकिन्छ ।
त्यसैगरी यी सबै विधाहरूलाई समय–समयमा पतञ्जलि, बुद्ध, महावीर, ओशो आदि महापुरुषहरूले प्रयोग गर्दै आएका हुन् भने वर्तमानमा नेपाली भूभागमा ‘जीवन विज्ञान’ ले प्रयोग गर्दै अब विश्वस्तरमा काम गर्न थालेको पाइन्छ । विश्व ध्यान दिवस र विश्व आरोग्य दिवस घोषित हुनुमा अन्य संस्थाहरूका साथै जीवन विज्ञानको ठूलो पहल रहेको कुरा खुल्न आएको छ ।
यसरी अध्यात्मका योग, ध्यान र आरोग्य विषयहरूलाई विश्वस्तरमा प्रतिष्ठापित हुनुमा संसारमा बढ्दै गएको स्वास्थ्य समस्या तथा स्वास्थ्य बीमा र उपचारमा लाग्ने अकल्पनीय खर्च पनि प्रमुख कारण हुन् । स्वास्थ्य विज्ञानका लागि शरीरको स्वास्थ्य नै चुनौतीपूर्ण बन्दै गएको अवस्थामा मानसिक स्वास्थ्य, भावनात्मक शुद्धीकरण र चेतनाको शुद्धिमा यसको भूमिका सीमित छ । समग्र स्वास्थ्य योग–ध्यानले मात्र दिन सक्छ र सबैका लागि सहज तथा सस्तो पनि हुन सक्छ भन्ने निष्कर्षका कारण विश्व समुदाय यसतर्फ आकर्षित हुनु स्वाभाविक नै हो ।
आरोग्य दिवस घोषणा हुनुमा योग, ध्यान र अध्यात्मको गहिरो अभ्यासबाट प्राप्त हुने समग्र स्वास्थ्यलाभको महत्त्वका कारण ‘आरोग्य’ शब्दले विशेष स्थान पाएको हो ।
आरोग्यका घटकहरू
आरोग्य रहन योग र ध्यान मात्र पर्याप्त हुँदैनन् । यसका लागि सरसफाइ, स्वस्थकर भोजन, सन्तुलित आहार–विहार र व्यवस्थित दिनचर्याको पनि उत्तिकै महत्त्व हुन्छ । पूर्ण रूपमा स्वस्थ रहन योग–ध्यानका साथै यी सबै घटकहरूको पालना गर्न आवश्यक छ ।
आरोग्यको सामान्य अर्थ हो—समग्र स्वास्थ्य ।
आरोग्य = शरीर + मन + ऊर्जा + जीवनशैलीको समन्वय
अर्थात्, केवल रोग नहुनु मात्र आरोग्य होइन । आरोग्य भनेको जीवनलाई सहज, हल्का, स्थिर र आनन्दपूर्ण बनाउने अवस्था हो । आरोग्यलाई जीवनमा उतार्न निम्न सन्तुलन अनिवार्य हुन्छन्—
• शारीरिक सन्तुलन — पाचन, निद्रा, श्वास, रक्तसञ्चार, चलायमानता
• मानसिक सन्तुलन — तनाव व्यवस्थापन, स्पष्टता, शान्ति, सकारात्मकता
• ऊर्जा सन्तुलन — प्राणशक्ति, श्वासको लय, ध्यानबाट आउने स्थिरता
• जीवनशैली सन्तुलन — आहार, दिनचर्या, व्यवहार, सम्बन्ध, वातावरण
किन आरोग्य महत्वपूर्ण छ ?
आरोग्यले—
• जीवनमा हल्कापन ल्याउँछ
• निर्णय क्षमता स्पष्ट बनाउँछ
• शरीर–मन दुवै सुदृढ बनाउँछ
• ध्यान, योग, प्राणायामजस्ता अभ्यासहरूलाई गहिरो बनाउँछ
योगासनका लाभहरू
• शरीर लचिलो, हल्का र चुस्त हुन्छ
• मांसपेशी र हड्डी बलियो हुन्छन्
• रक्तसञ्चारमा सुधार आउँछ
• श्वासप्रश्वासको क्षमता बढ्छ
• थकान हट्छ, टाउको दुखाइ र माइग्रेन कम हुन्छ
• पाचन सुधार हुन्छ र प्रतिरक्षा प्रणाली बलियो हुन्छ
ध्यानका लाभहरू
१) मानसिक लाभ
• तनाव, चिन्ता र डर घट्छ
• मन शान्त, स्थिर र स्पष्ट हुन्छ
• निर्णय क्षमता तीव्र हुन्छ
• नकारात्मक विचार घट्छन्
• स्मरणशक्ति र एकाग्रता बढ्छ
• जीवनप्रति सकारात्मक भावना बढ्छ
• झगडा, युद्ध र आत्महत्याजस्ता समस्याबाट बच्न मद्दत गर्छ
• जीवन उत्सवमय बन्छ
२) शारीरिक लाभ
• रक्तचाप सन्तुलित हुन्छ
• निद्रामा सुधार आउँछ
• प्रतिरक्षा प्रणाली बलियो हुन्छ
• टाउको दुखाइ, माइग्रेन र थकान कम हुन्छ
• शरीर हल्का र ऊर्जावान हुन्छ
३) ऊर्जागत लाभ
• श्वासको लय स्थिर हुन्छ
• प्राणशक्ति सन्तुलित हुन्छ
• चक्रहरू सक्रिय र शुद्ध हुन्छन्
• शरीर–मन–ऊर्जा बीच समन्वय हुन्छ
• आन्तरिक हल्कापन र उज्यालोपन आउँछ
४) भावनात्मक लाभ
• क्रोध, ईर्ष्या र असन्तुलन घट्छ
• धैर्य, करुणा, प्रेम र सहनशीलता बढ्छ
• भावनात्मक चोटहरू निको हुन थाल्छन्
• सम्बन्धहरूमा मधुरता आउँछ
५) आध्यात्मिक लाभ
• ध्यानमा सहज प्रवेश हुन्छ
• चेतनाको स्तर विस्तार हुन्छ
• मौन, शान्ति र आनन्दको अनुभूति हुन्छ
• मन्त्र साधनामा गुणवत्ता आउँछ
• साधनामा गहिराइ बढ्छ
• भक्तिको उदय हुन्छ
• शास्त्रको वास्तविक बोध हुन्छ
• जीवनप्रति कृतज्ञता भाव जाग्छ
• आत्मबोध हुन्छ
६) जीवनशैलीमा परिवर्तन
• खानपानमा सजगता बढ्छ
• सरलता र अनुशासन आउँछ
• व्यवहारमा कोमलता आउँछ
• समय व्यवस्थापनमा सुधार हुन्छ
• दीर्घकालीन आरोग्य कायम हुन्छ
• समृद्धि र सन्तुलित जीवनतर्फ अग्रसर बनाउँछ
निष्कर्ष
योग र ध्यान सर्वऔषधि समान हुन् । यो त्यस्तो मल जस्तै हो—जहाँ लगाइन्छ, त्यहीँ फल्छ । त्यसैले हाम्रो ध्यान राम्रो विषयमा लगाउने कि नराम्रोमा, त्यो हामीमा निर्भर हुन्छ ।
ध्यान आफैं जीवनमा आउँदैन । प्रारम्भिक चरणमा अनुभवी गुरुबाट सिक्न आवश्यक हुन्छ । ध्यानका विधि र अभ्यास नजानी गहिराइमा जान कठिन हुन्छ, त्यसैले प्रारम्भिक शिक्षा लिएर पछि आफ्नै अभ्यास गर्न सकिन्छ ।
(आउनुहोस्, यो महत्वपूर्ण विधा सिकौं र निरोग हुँदै सहज, सरल र आरोग्य जीवन जिउँ ।)

