पाठक दृश्टिमा ‘युग यात्रा’: कथा, स्मृति र इतिहासको संगम

देवी पोखरेल 
एड्लेड, अष्ट्रलिया 

पुस्तक पढ्नेलाई थाहा हुन्छ कहिलेकाहीँ कुनै पुस्तक पढ्दा नयाँ संसार भेटिन्छ। कहिलेकाहीँ भने पुस्तकले आफ्नै विगत, आफ्नै स्मृति र आफ्नै यात्रासँग पुनः भेट गराउँछ। पदम काफ्लेको युग यात्रा मेरो लागि दोस्रो प्रकारको अनुभव बन्यो।

लेखक जस्तै भूटानमा जन्मिएर, नेपालका शरणार्थी शिविर हुँदै अन्ततः अस्ट्रेलियामा जीवन पुनः निर्माण गरेको एक पूर्व भूटानी शरणार्थीका रूपमा यो पुस्तक पढ्दा मैले कुनै अपरिचित कथा पढिरहेको अनुभव गरिनँ। मैले त हाम्रो पुस्ताले भोगेको इतिहास, पीडा, सङ्घर्ष, आशा र पुनर्निर्माणको अर्को संस्करण पढिरहेको महसुस गरें। यही कारणले युग यात्रा मेरो लागि एउटा उपन्यास मात्र नभई यो हाम्रो समुदायको साझा स्मृतिको साहित्यिक अभिलेख जस्तो लाग्यो।

लेखक पदम काफ्लेले ‘मुक्ति’ नामक पात्रमार्फत एउटा जीवनयात्रा प्रस्तुत गरेका छन्। कथा भूटानको ग्रामीण परिवेशबाट सुरु हुन्छ, नेपालका शरणार्थी शिविर हुँदै अस्ट्रेलियासम्म पुग्छ। यो पहिचान, विस्थापन, संघर्ष, आशा र पुनर्स्थापनाको यात्रा हो। पुस्तकले भूटान, नेपाल र अस्ट्रेलिया तीनवटै देशलाई समेट्छ। तर यसको भावनात्मक केन्द्र भने भूटानमै रहेको महसुस हुन्छ, जहाँबाट एउटा परिवार मात्र होइन, एउटा समुदाय नै उखेलिएको थियो।

भूटानी-नेपाली शरणार्थी इतिहाससँग अपरिचित पाठकका लागि युग यात्रा एक रोचक र सम्भवतः पृष्ठ पल्टाउन बाध्य बनाउने कृति हुन सक्छ। दक्षिण एसियाको कम चर्चित मानवीय तथा राजनीतिक घटनामध्ये एकलाई यसले सरल र भावनात्मक शैलीमा प्रस्तुत गरेको छ। तर हामीजस्ता त्यही यात्राका साक्षी र सहभागी पाठकहरूका लागि यसको अनुभव फरक हुन्छ। यस पुस्तकले कुनै नयाँ इतिहास वा अज्ञात यथार्थ उजागर गर्दैन। यद्यपि यसले हामीमध्ये धेरैले बाँचिसकेको कथा पुनः सुनाउँछ। त्यसैले पुस्तक पढ्दा धेरै ठाउँमा ‘देजा भु’ को अनुभूति हुन्छ। हामीले भोगेका शिविरका दिनहरू, विद्यालयका अनुभवहरू, विस्थापनका पीडाहरू, नयाँ देशमा जीवन पुनः सुरु गर्ने संघर्षहरू र भविष्यप्रतिको आशाहरू पुस्तकका पानाहरूमा पुनः भेटिन्छन्।

यही अर्थमा युग यात्रा को शक्ति रहस्य, रोमाञ्च वा अप्रत्याशित मोडहरूमा भन्दा पनि सामूहिक स्मृतिलाई शब्दमा उतार्ने क्षमतामा रहेको देखिन्छ। यसले एउटा समुदायको अनुभवलाई साहित्यिक रूपमा अभिलेखीकरण गर्ने काम गर्छ। समयसँगै प्रत्यक्ष अनुभव बोकेका पुस्ताहरू घट्दै जानेछन्। त्यसपछि यस्ता पुस्तकहरूले नै भावी पुस्तालाई हामी कहाँबाट आयौँ, के भोग्यौँ र कसरी नयाँ जीवन निर्माण गर्‍यौँ भन्ने कुरा सम्झाइरहनेछन्।

साहित्यिक दृष्टिले हेर्दा युग यात्रा सरल, पठनीय र सहज प्रवाहमा अगाडि बढ्छ। लेखकले भाषिक जटिलताभन्दा अनुभव र घटनालाई प्राथमिकता दिएका छन्। समग्र रूपमा भाषा सशक्त छ। कतिपय ठाउँमा हिज्जे, व्याकरण र वाक्य संरचनासम्बन्धी सामान्य सम्पादकीय परिमार्जनले पुस्तकलाई अझ परिष्कृत बनाउन सक्थ्यो। तर यस्ता कमजोरीहरू पुस्तकको मूल प्रभावमाथि हावी हुँदैनन्। बरु पुस्तकको एउटा उल्लेखनीय विशेषता भनेको स्थानीय भूटानी बोलीचालीका शब्द, उखान, टुक्का, मुहावरा र सांस्कृतिक अभिव्यक्तिहरूको प्रयोग हो। यिनले कथालाई भाषिक स्वाद दिएका छन्। भूटानको सामाजिक र सांस्कृतिक परिवेशलाई पनि जीवन्त बनाएका छन्। विशेषतः भूटानी पाठकहरूका लागि यस्ता शब्दहरूले आत्मीयता र अपनत्वको अनुभूति थप गाढा बनाउँछन्।

पुस्तक विभिन्न अध्यायहरूमा विभक्त छ। अध्यायहरूलाई ‘क’, ‘ख’, ‘ग’ जस्ता अक्षरमार्फत विभाजन गरिएको छ। यो शैली अस्वाभाविक होइन। तर कथाको प्रकृतिलाई हेर्दा अध्यायहरूलाई समय, वर्ष, दशक, ऋतु वा जीवनका चरणहरूका आधारमा व्यवस्थित गरिएको भए पाठकलाई कथाको कालक्रमिक प्रवाह अझ स्पष्ट रूपमा महसुस हुन सक्थ्यो। विशेष गरी भूटान, नेपाल र अस्ट्रेलियामा फैलिएको लामो जीवनयात्रा समेटिएको कथामा समयको परिवर्तनलाई संरचनागत रूपमा पनि झल्काउन सकिएको भए पाठकीय अनुभव अझ प्रभावकारी बन्ने सम्भावना थियो।

पुस्तक पढ्दै जाँदा मैले अर्को एउटा रोचक पक्ष पनि महसुस गरें। कतिपय घटना, स्मृति र प्रसङ्गहरू उपन्यासको कथावस्तुलाई अगाडि बढाउनभन्दा पनि लेखकका व्यक्तिगत अनुभव र सम्झनाहरू अभिलेख गर्ने उद्देश्यले समावेश गरिएका जस्ता लाग्छन्। यस्ता अंशहरू पढ्दा कहिलेकाहीँ म उपन्यासभन्दा यात्रा संस्मरण वा आत्मकथात्मक लेखन पढिरहेको अनुभूति गर्थें। साहित्यिक दृष्टिले हेर्दा ती प्रसङ्गहरू कथाको नाटकीय विकासका लागि अनिवार्य नहुन सक्छन्। तर लेखककै पृष्ठभूमिबाट आएका भूटानी पाठकहरूका लागि तिनको महत्त्व फरक छ। तिनले हामीलाई भूटानका गाउँ, शरणार्थी शिविरका गल्ली, विद्यालयका दिन, सामुदायिक जीवनका साना-साना क्षण र विस्थापनका प्रारम्भिक अनुभवहरूतर्फ फर्काइदिन्छन्। अहिले संसारका विभिन्न कुनामा व्यस्त, स्थापित र पूर्णतः फरक जीवन बाँचिरहेका हामीहरूका लागि यस्ता प्रसङ्गहरूले स्मृतिका ढोकाहरू खोलिदिन्छन्। पुस्तकका यस्ता अंशहरू केवल कथाका भाग मात्र होइनन्, सामूहिक सम्झनाका वाहक पनि हुन्।

यही सन्दर्भमा पुस्तकले अर्को महत्वपूर्ण प्रश्न पनि उठाउँछ—यसका  लक्षित पाठक आखिर को हुन् ? यदि पुस्तक मुख्यतः भूटानी-नेपाली समुदायका लागि लेखिएको हो भने यसका अधिकांश घटनाक्रम, अनुभूति र संघर्षहरू हाम्रो लागि परिचित छन्। ती नयाँ कथा होइनन्। ती हामीमध्ये धेरैले बाँचिसकेको जीवनका फरक संस्करणहरू मात्र हुन्। त्यसैले पुस्तक पढ्दा धेरै ठाउँमा आश्चर्यभन्दा आत्मीयता बढी महसुस हुन्छ। अर्कोतर्फ, यदि लेखकले समुदायबाहिरका पाठकलाई लक्षित गरेका हुन् भने उनीहरूले यसलाई उपन्यासभन्दा लेखकको जीवनी वा आत्मकथात्मक कृतिका रूपमा ग्रहण गर्ने सम्भावना बढी देखिन्छ। कथामा आउने अधिकांश पात्र, स्थान र घटनाहरू यथार्थसँग यति नजिक छन् कि कल्पना र वास्तविकताबीचको दूरी निकै सानो महसुस हुन्छ। यही कारणले पुस्तक पढ्दै जाँदा मलाई बारम्बार लागिरह्यो कि यसमा रहेको सामग्रीको ठूलो अंश संस्मरण, आत्मकथा वा यात्रा-वर्णनका रूपमा पनि उत्तिकै प्रभावकारी हुन सक्थ्यो।

यससँग सम्बन्धित अर्को जिज्ञासा पनि रह्यो। कथाको केन्द्रमा रहेको ‘मुक्ति’ पात्र वास्तवमा लेखक स्वयंको प्रतिनिधि हो भन्ने कुरा भूटानी समुदायका पाठकहरूले सजिलै बुझ्न सक्छन्। पत्नी, सन्तान, अभिभावक, दाजुभाइ, आफन्त र छिमेकीहरू समेत यथार्थ जीवनसँग नजिक देखिँदा मुख्य पात्रलाई मात्र काल्पनिक बनाउनुको साहित्यिक आवश्यकता के थियो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। सम्भवतः लेखकले आफ्नो अनुभवलाई व्यक्तिगत जीवनकथाभन्दा माथि उठाएर एउटा पुस्ताको प्रतिनिधि कथाका रूपमा प्रस्तुत गर्न खोजेका हुन सक्छन्। तर पुस्तक पढिसकेपछि यो प्रश्न पाठकको मनमा रहिरहन्छ।

उपन्यासमा प्रेम र सम्बन्धका प्रसङ्गहरू पनि छन्, तर ती कथाको केन्द्रिय शक्ति बनेका छैनन्। भूटानमा मायासँग सम्बन्धित प्रारम्भिक आकर्षण र भावनात्मक निकटता कथाको एउटा रोचक आयाम हो। लामो समयसम्म अनुपस्थित रहेकी मायाको सम्झना पछि सीमावर्ती क्षेत्र पुगेर फर्किएका एक छिमेकीमार्फत प्राप्त हुने पत्रमा पुनः जीवित हुन्छ। प्रत्यक्ष भेटघाट लगभग असम्भव भइसकेको अवस्थामा पनि त्यो पत्रले दूरीले बाँधिएको, समयले रोकिएको र स्मृतिमा बाँचेको प्रेमको अनुभूति दिन्छ। ‘माया’ नाम आफैंले पनि प्रेम, मोह र भावनात्मक आकर्षणको अर्थ बोकेकोले यो प्रसङ्ग अझ प्रतीकात्मक लाग्छ। कथाको पछिल्लो चरणमा अस्ट्रेलियामा पुगेपछि मायासँग मेसेन्जर कलमार्फत पुनः सम्पर्क स्थापित हुन्छ। तर त्यो पुनर्मिलन कुनै अधुरो प्रेमलाई पुनर्जीवित गर्ने प्रयासभन्दा बढी जीवनका भिन्न यात्राहरूको आत्मीय स्वीकारोक्ति जस्तो देखिन्छ। दुवैले आ-आफ्नो परिवार र जिम्मेवारीसहित नयाँ जीवन सुरु गरिसकेका हुन्छन्। त्यसैले उनीहरूको संवाद रोमान्टिक भावनाभन्दा स्मृति, समय, बिछोड, जीवनका छनोटहरू र मानवीय सम्बन्धहरूको अर्थतर्फ उन्मुख हुन्छ। लामो अन्तरालपछि भएको त्यो संवादमा पुनर्मिलनको भावुकता त छ, तर त्यससँगै जीवनले दिएको जिम्मेवारी र परिपक्वताको बोध पनि उत्तिकै उपस्थित छ।

नेपालको शरणार्थी शिविरमा दमन्ताको प्रवेशसँगै कथाले अर्को मोड लिन्छ। प्रारम्भमा एकतर्फी आकर्षण जस्तो देखिने सम्बन्ध पछि पारिवारिक र सामुदायिक संरचनाभित्र विकसित हुन्छ। विवाहयोग्य उमेर पुगेपछि परिवारमा विवाहको चर्चा सुरु हुन्छ र मुक्तिको भान्जीले मध्यस्थकर्ताको भूमिका खेल्दै मुक्ति र दमन्ताबीच सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छे। यी प्रसङ्गहरूले कथामा मानवीय संवेदना थपेका छन्। तथापि, लेखकले प्रेमलाई कथाको प्रमुख प्रेरक शक्ति बनाउने प्रयास गरेका छैनन्। यस दृष्टिले युग यात्रा प्रेमकथाभन्दा जीवनकथाको नजिक देखिन्छ।

उपन्यासमा महिला पात्रहरूको उपस्थितिबारे पनि चर्चा गर्न आवश्यक छ। भूटानको परिवेशमा मुक्तिकी आमा, भाउजूहरू र माया देखिन्छन्। नेपालमा दमन्ताको प्रवेश हुन्छ। अस्ट्रेलियामा पुगेपछि पत्नी दमन्तासँगै छोरीहरू सम्पदा र साहाराले कथा निरन्तरता दिन्छन्। महिला पात्रहरू कथाभरि उपस्थित छन्। तर अधिकांश अवस्थामा उनीहरू मुख्य पात्रको जीवनयात्रालाई अर्थ दिने वा त्यसलाई अगाडि बढाउने सहायक भूमिकामा सीमित देखिन्छन्। उनीहरूको आफ्नै मनोवैज्ञानिक संसार, संघर्ष, आकांक्षा वा दृष्टिकोणलाई अझ गहिराइमा उतारिएको भए उपन्यास अझ बहुआयामिक बन्न सक्थ्यो।

अस्ट्रेलियाको चित्रण पुस्तकमा सम्भावना, स्थायित्व र उपलब्धिको भूमिका रूपमा प्रस्तुत भएको छ। भूटानको सीमित अवसर, विस्थापनको पीडा र शरणार्थी शिविरको कठिन जीवनपछि अस्ट्रेलिया मुक्तिका लागि अवसरहरूको नयाँ संसार बनेर आउँछ। पुनर्वासको प्रारम्भिक चरणमा परिवारभित्र केही अन्योल, मतभेद र हिचकिचाहट देखिए पनि अन्ततः परिवारले नयाँ देशमा आफूलाई स्थापित गर्न सफल भएको अनुभव पुस्तकमा व्यक्त छ। लेखकले आफू र आफ्नो परिवारलाई पुनर्वास कार्यक्रममार्फत नयाँ जीवनको अवसर प्राप्त गर्ने भाग्यमानीहरूमध्ये एकका रूपमा चित्रित गरेका छन्। यसले पुस्तकलाई निराशाभन्दा आशावादतर्फ उन्मुख बनाएको छ।

यही सन्दर्भमा युग यात्रा को विधागत स्वरूपबारे पनि सोच्न बाध्य बनाउँछ। सामान्यतया उपन्यासले घटनाहरूको श्रृङ्खला मात्र प्रस्तुत गर्दैन। यसले कथावस्तुसँगै लेखकको दार्शनिक दृष्टिकोण, पात्रहरूको मनोवैज्ञानिक जटिलता, सामाजिक अन्तर्दृष्टि र मानवीय सम्बन्धहरूको बहुआयामिक व्याख्या पनि प्रदान गर्दछ। युग यात्रा मा यस्ता तत्वहरू आंशिक रूपमा उपस्थित भए पनि तिनले कथाको प्रमुख शक्ति प्राप्त गर्न सकेका छैनन्। पुस्तकको केन्द्रमा विचारभन्दा अनुभव, विश्लेषणभन्दा स्मृति, र काल्पनिक संरचनाभन्दा जीवनका वास्तविक घटनाहरू बढी देखिन्छन्।

यद्यपि लेखकले भूमिकामा यस कृतिलाई उपन्यासका रूपमा प्रस्तुत गर्नुको औचित्य स्पष्ट पार्ने प्रयास गरेका छन्। त्यो लेखकको साहित्यिक छनोट हो र त्यसलाई सम्मान गर्नुपर्छ। तथापि, एक पाठकका रूपमा मेरो धारणा अलि फरक छ । पुस्तकमा प्रस्तुत अधिकांश घटना, पात्र, परिवेश र अनुभवहरू यथार्थ जीवनसँग अत्यन्त निकट देखिन्छन्। त्यसैले यो सामग्री बुद्धिसागरको उसले दिएको उमेर जस्ता आत्मपरक गैरआख्यानात्मक कृतिहरूको शैलीमा प्रस्तुत गरिएको भए अझ स्वाभाविक र प्रभावकारी हुने सम्भावना पनि थियो। कतिपय पुस्तकहरू कथा बन्न खोज्दा भन्दा अनुभवकै रूपमा प्रस्तुत हुँदा बढी शक्तिशाली हुन्छन्। युग यात्रा त्यस्ता कृतिहरूमध्ये एक हुन सक्थ्यो कि भन्ने  प्रश्न मेरो मनमा रहिरह्यो।

पुस्तक पढिसकेपछि मलाई सबैभन्दा बढी महसुस भएको कुरा एउटा छुटेको सम्भावना थियो। जीवनका तीन भिन्न चरण (भूटान, नेपाल र अस्ट्रेलिया) ले लेखकलाई गहिरा दार्शनिक, सामाजिक र मानवीय प्रश्नहरू सोध्ने अवसर दिएका थिए। विस्थापन भनेको के हो? घर भन्नाले के बुझिन्छ? पहिचान कहाँ बस्छ? स्मृति र वर्तमानबीचको सम्बन्ध के हो? मानिसले गुमाएको र प्राप्त गरेको कुराको मूल्य कसरी निर्धारण गर्छ? यस्ता प्रश्नका झिल्काहरू पुस्तकमा भेटिन्छन्। तर ती प्रायः सतहमै सीमित रहन्छन्। यस्ता प्रश्नहरूलाई अझ गहिराइमा विश्लेषणात्मक रूपमा अन्वेषण गर्न केही अनुसन्धान, व्यापक अध्ययन र सम्बन्धित साहित्यसँगको संवाद आवश्यक पर्थ्यो जस्तो लाग्छ। पुस्तकमा लेखकका अनुभवहरू प्रामाणिक र जीवन्त छन्, तर ती अनुभवहरूबाट निस्कने दार्शनिक वा सामाजिक निष्कर्षहरूलाई अझ सघन बनाउन सक्ने बौद्धिक पृष्ठभूमि र अन्तरपाठीय संलग्नता अपेक्षाकृत कम देखिन्छ।

लेखकको अनुभव, अवलोकन र जीवनयात्राले यस्ता विषयहरूमा अझ गहिरो चिन्तन प्रस्तुत गर्न सक्ने पर्याप्त आधार दिएको थियो। कतिपय ठाउँमा लेखक कथा समाप्तितर्फ अलि हतारिएको जस्तो पनि लाग्छ। परिणामस्वरूप अनुभवहरूको अभिलेखीकरण बलियो बनेको छ। तिनबाट निस्कन सक्ने दार्शनिक, मनोवैज्ञानिक र सामाजिक अन्तर्दृष्टिहरू पूर्ण रूपमा विकसित हुन पाएका छैनन्। सुनमा सुगन्ध र उखुमा फल थपिएजस्तै यस्ता गहिरा विमर्शहरूले युग यात्रा लाई केवल एउटा जीवनकथा होइन, अझ स्मरणीय साहित्यिक कृतिमा रूपान्तरण गर्न सक्ने सम्भावना बोकेको थियो।

यी कमजोरीहरूका बाबजुद युग यात्रा एउटा महत्वपूर्ण साहित्यिक कृति हो। भूटानी-नेपाली समुदायको इतिहास, विस्थापन, संघर्ष र पुनर्स्थापनाको अनुभवलाई साहित्यिक रूपमा अभिव्यक्त गर्ने कृतिहरूको संख्या धेरै छैन। त्यस अर्थमा पदम काफ्लेले आफ्नो पुस्ताको अनुभवलाई शब्दमा बाँध्ने महत्वपूर्ण प्रयास गरेका छन्। यो पुस्तकले इतिहास त लेख्दैन, तर इतिहास बाँचेकाहरूको स्मृतिलाई सुरक्षित राख्छ। यसले कुनै जटिल भुराजनैतिक बहस गर्दैन, तर एउटा समुदायले भोगेको यथार्थलाई मानवीय संवेदनासहित प्रस्तुत गर्छ।

अघि भनेझैँ म व्यक्तिगत रूपमा यस कृतिलाई उपन्यासभन्दा संस्मरणात्मक जीवनकथाको रूपमा अझ प्रभावकारी देख्न सक्थें। तर विधागत बहसभन्दा पर गएर हेर्दा यसको योगदानलाई नकार्न सकिँदैन। युग यात्रा ले भूटानी-नेपाली साहित्यमा आफ्नो छुट्टै स्वाद थपेको छ। यसले विस्थापन, शरणार्थी जीवन र पुनर्स्थापनाको यात्रालाई साहित्यिक अभिव्यक्ति दिएको छ। यही कारणले यो पुस्तक केवल भूटानी पाठकहरूका लागि मात्र होइन, नेपाली भाषा बुझ्ने संसारभरका पाठकहरूले पढ्नुपर्ने कृति बनेको छ।

भूटानी पाठकहरूले यसमा आफ्नै जीवनका पानाहरू, बिर्सन थालेका सम्झनाहरू र आफूले हिँडेको बाटो भेट्टाउनेछन्। समुदायबाहिरका पाठकहरूले भने दुई दशकभन्दा बढी समयसम्म विश्वको ध्यानबाट धेरै हदसम्म ओझेलमा परेको एउटा मानवीय इतिहासलाई नजिकबाट बुझ्ने अवसर पाउनेछन्। अन्ततः, युग यात्रा एउटा व्यक्तिको मात्र यात्रा त हो नै जो कथानकबाटै प्रस्ट हुन्छ, साथै एक सिंगो समुदायको पनि समान्तर युगको यात्रा हो। र त्यस युगलाई कृतिका रुपमा पनि सुरक्षित राख्नु सम्भवतः यस कृतिको सबैभन्दा ठूलो उपलब्धि हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *