अर्को गूगल संसार को खोजी

गणपति दाहाल
न्यूयोर्क

मेरा औँला
माउस नियन्त्रण गर्न
निर्धक्क अघि बढ्छन्
अचानक कर्सर
गूगल संसारमा
धेरै सिमानाहरु पार गर्दै
सफल अवतरण गर्छ
हजारौ फाइलहरु डाउनलोड हुँदै
मेरा अघि तेर्सिन्छन्
देख्छु
भयानक युद्ध तस्वीर
स्वचालित र आत्मघातीका तस्वीर
टोप र गोलाबारुदको मुस्लोले
दिशाहीन भएर रुमल्लिएका
शान्ति सम्झौताहरु
युद्ध विराम हरु
दस्ताभेजहरु
हस्ताक्षरहरु
शान्ति दूतहरु
एक दुई तीन …गर्दै
फाइलहरु पल्टँदै जान्छन्
असंख्य
इराकी चीत्कारहरु
अफगानी पुकारहरु
रोइरहेका प्यालेस्टाइनी बस्तीहरु
लिटल ब्वाई र फ्याट म्यानको अणूले
जलेका जापानी आत्माहरुको हाहाकार
गोला र बमले चकनाचुर तोराबोरा पहाडहरु
भरिएका छन् समाचार शीर्षकहरु
आपसी आगोले सल्किएका
रुवान्डा र हेइटीका अनुहारले
गरिबीले पिल्सिएका अफ्रिकीहरुले
जती फाइलहरु पल्टाउँदै जान्छु
उति आउँछन्
युद्धले पोतिएका सिमानाहरु
युद्धले लेखिएका इतिहासहरु
युद्धले मितेरी लाएका जीवनहरु
युद्धले जन्माएका वस्तीहरु
रगतले बनेका मिसीसीपीहरु
खरानी बनेका सभ्यताका खम्बाहरु
किम्कर्ताव्यबिमुढ
आफ्ना पन्जाबाट
माउसको दिशा बदल्छु
अचानक यस र नोको प्रश्न
“यस”को उत्तर फुत्कन साथ
विन्डो सटडाउन
एक गूगल संसारको अन्त्य
एक युगको समाप्ती
हेदाहेर्दै
आँखा रगतले भरिन्छन्
हात रगतले पुरिन्छन्
कान आवाजले भरिन्छन्
हृदयघृणाले भरिन्छ
हृदय समेदनारिक्त हुन्छ
त्यसैले
हामी मिसिसिपी र आमोजन
भएर बाँडिनुभन्दा
गंगा र नाइल भएर
छुटिनुभन्दा
एशिया र अफ्रिका भएर
टाढिनुभन्दा
पेसिफिक र एटलान्टिक भएर
हराउनुभन्दा
पेन्टागोन् र ताज भएर
भत्किनुभन्दा
मिलाउँ हाम्रा हातहरु
जुधाउँ हाम्रा काँधहरु
टसाउँ तक्मा छातीहरुको
अशान्ति र अविश्वासका रेखा मेटाएर
एउटा नयाँ गूगल संसार खोजौँ
ड,र भय र त्रास मुक्त गूगल संसार
शान्ति र सम्वृद्धिको गूगल संसार
धौ शान्ति पृथिवी शान्ति गूगल संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *