आइन्स्टाइन
रमेश गौतम
नर्वे
आइन्स्टाइन
आज
सापेक्षतावादको भरभराउँदो भुङ्ग्रोमा
पिसोल्टिएको छ।
विगतका
टुक्रा ‘संसार’हरू
आँखाभरि नचाएर
आफ्नो अभिशाप जन्मलाई
आइन्स्टाइन
धिक्कारिरहेछ;
आफ्नै पाइलाहरूको
घोर निन्दा गरेर
तथाकथित आफ्नो बौद्धिकताको
आलोचना गरेर
आइन्स्टाइन
आफ्नै विरुद्ध
स्वघोषित युद्ध लडिरहेछ
आफ्नै गला
निर्दयतापूर्वक निचोरिरहेछ
आफ्नै यथार्थताको
भर्त्सना गरिरहेछ।
हिरोसिमाका आँसुले पखालिएर
नागासाकीका दर्दले खारिएर
इजरायल-प्यालिस्टेन
भ्रमणमा गएको
आइन्स्टाइन
अफगान दर्दको माला भिरेर
भारत-पाक
सीमा युद्ध दृश्यावलोकन गरेर
आहत फर्किएको छ।
खण्डित प्रतिबिम्बभित्र
नोबेल पुरस्कारको शानले
आइन्स्टाइन मुस्कुराउन सकेन !
सबै कोण व्यथित भेटेपछि
आइन्स्टाइन
पीडाग्नीमा होमिएको छ
दीर्घकालीन।
आइन्स्टाइन
आज विश्व सम्मेलनको सभाकक्षमा छ
शान्तिको पक्षमा खुल्ला वकालत गरेर
एउटा जीर्ण विश्व मानव
आज रोइरहेछ
अस्तित्वको सवालले थिचिएर
मानवताको सम्बन्धले खारिएर
एउटा जीर्ण बुढो
आज विश्व नेताहरू समक्ष
अपिल गरिरहेछ
शान्ति स्थापनार्थ
जीवन रक्षार्थ !
आइन्स्टाइन
अस्तित्वको लडाइमा एक्लो छ
मानवताको सवालमा एक्लो छ।
सबै पक्षबाट एक्लिएको
जीर्ण विश्व मानव
निरीह विश्व चिन्तक
प्रिन्सटनको आफ्नो सानो घरबाट
चिठी लेखिरहेछ
वक्तव्य दिइरहेछ
विश्वको सुरक्षाका लागि
संसारको स्थायित्वका लागि !
आज
आइन्स्टाइन
प्रिन्सटन अस्पतालको एउटा विच्छ्यौनामा
नि:प्राण सुतिरहेछ
निरीह वैज्ञानिकको व्यथित हृदय
आज रोइरहेछ,
सपना नाचिरहेछ आँखाभरि-
संसारको सुन्दर फूलबारीको
रमणीयता !
तर विडम्बना !
निर्जीव शरीरसँगै
एउटा कामना सुतिरहेछ
नि:प्राण
अनि अधुरो वक्तव्य बोलिरहेछ-
“कसैलाई खुसी पार्न नसक्ने
खतरा हुँदा-हुँदै पनि
मैले मेरो सानो क्षमताले
सत्य र न्यायको
सेवा गर्न खोजेको हुँ। “
२८ मे २००२
हात्तीसार