आमा…
दुर्गा रिमाल
अस्ट्रेलिया
ती भिर पाखा र पखेराहरूमा
हरेक प्रहर गाई चराउँदै
हा… हा… तारे भन्दै कराउँदै
पिठ्युमा दिदी च्यापेर
थाप्लोमा भारी राखेर
गर्वमा मलाई बोकेर
सन्तानको लागि बच्ने
यो स्वर्थी संसारमा हाँस्ने
यिनै हुन् ती महान् आमा
ढिकी र जाँतो गरेर
ज्यानलाई जोखिममा पारेर
पहरा पोर्दै एक हातले
थामेर पेट अर्कोले
भोलिको खुसी हेर्नलाई
आफ्नो मुहार फेर्नलाई
गर्वमा मलाई बोकेर
सुन्दर संसार देखाउने
यिनै हुन् ती महान् आमा
घाँसको भारी घिसार्दै
निधारमा पसिना चुहाउँदै
त्यो वर्खे झरीको याममा
सुनौलो एक बिहानमा
आफू कति रोएथिन्
आँसुले मुहार धोएथिन्
तर
ओठमा मुस्कान छरेर
पीडाले कति छटपटाई
मर्दै र बाँच्दै वेहोस भई
झुप्रे घरको आँगनमा
त्यही आँगनको एक कुनामा
मलाई पहिलो पाइला टेकाउने
दुनियाँ सारा हसाउने
यिनै हुन् ती महान् आमा
धुलो र मैलो खाएर
दुःख र कष्ट पाएर
सन्तानको खुसीमा रमाउँने
यिनै हुन् ती महान् आमा
आमा नै छिन् सब भन्दा जाति
आमा नै छिन् सब भन्दा माथि