आस्थाका सद्बीजहरु छर्दै
शिवलाल दाहाल
खुदुनाबारी, झापा
आज बालाचतुदर्शी
आस्थाका सद्बीजहरु छर्न रहर लागेको छ
मनको खेत – बारीभरि
कति कति उत्साहित छु आज म
यतिखेर खुब रहर पलाएको छ
बारीभरि मकैका सुइराहरु उमार्न
खेतभरि धानका पिपिराहरु उमार्न
हो त लहलह बाली उम्रेको हेर्नुको उत्साह नै अर्को हुन्छ
अँ, यतिखेर आफ्नै जीवनको वाल्यकालको खुब याद आइरहेछ
सबभन्दा बढ्ता मलाई
खेतका गराहरुमा जोतेको सियासियामा पानी खोलेर पु-याउन रहर लाग्थ्यो
हुन सक्छ त्यहाँ उत्कण्ठा थियो पानी भएर बग्नुको
हुन सक्छ त्यहाँ रहर थियो पानी भएर बाटो खोज्नुको
सात वर्षको उमेर हुदाँ स्कुलमा भर्न भएँ थिएँ
तर मलाई खेतबारीकै बढ्ता माया हुन्थ्यो
आली काटेर चिल्लो पार्नु
अँचिला काट्नु
हिलोमा खेल्नु
दाँदेमा चडेर दौडनु
आली लगाउनु र छेउभित्ता गर्नु
यसरी म माटोसँग गाँसिन पुगेँछु
तब किन मन नलागोस्
धान, मकै, गहुँ …..आदि आस्थाका सद्बीजहरु छर्न
दुईचार पटक त नजिकैको तीर्थस्थल अर्जुनधारा पुगेको थिएँ
यस पालि त मन भएर पनि पुग्नै सकिएन
जीवनको आधाबाटो नकाट्तै अनेक रोगहरुले अठ्याउन थालेका छन्
खै कति नै बाँच्न सकिएला र आस्थाका सद्बीजहरु छरेर
ए हे ! बाला चर्तुरदशीका बारमा कुरा गर्दा–गर्दै म कता भौँतारिएछु
आजको दिन पितृहरुको नाम लिनु पर्ने
सबभन्दा बढ्ता म मेरी हजुरआमालाई सम्झन्छु
उनी उदारता, नम्रता र करुणाकी खानी थिइन्
हाम्रो र उनीहरुको घर खोला वारि र पारि थियो
प्रत्येक बिहान म स्कुल जाँदा उनलाई भेट्थेँ
उनी सोध्ने गर्थिन् सञ्चो बिसञ्चो कुरा
उनी सोध्ने गर्थिन् खेतबारीका कुरा
उनी सोध्ने गर्थिन् घरको मेलापातका कुरा
दिउँसो स्कुलबाट घर फिर्दा त्यहीबाटो भएर जानु पर्थ्यो
अलिकति बासीभात हुन्थ्यो मेरा लागि
गोठबाट आउने पालो भए टन्न दूध र दही भटिन्थ्यो
अरु भन्दा पनि चुरुमचुरुम पारेर भुटेको करेला साह्रै रामो हुन्थ्यो
सायद जीवनको तिक्तताभित्र पनि मिठास खोज्ने कुरा त्यहीँबाट मैंले सिकेँ हुँ
लाग्छ अब त यी तिक्तताहरु सहँदै
कति नै जीवनमा आस्थाका सद्बीजहरु छर्न सकिएला ?
हजुर–आमा ! तिम्रो नातिले के नै गर्न सक्यो र यतिका दिनसम्म ?
तर हजुरआमा छर्दै जानेछु सकेसम्म त सद्बीजहरु
हजुरआमा ! तिम्रो मृत्यु छैन
मात्र तिमी अनन्तमा लीन छ्यौ
तिमीप्रति मेरो सधैँ श्रद्धा छ
हजुरआमा ! मेरो पनि तिमी हिँडेकै बाटो होला
भेटमा मलाई नसोधेस् है
आली काटेर कहाँ पुगेको थियो ठूलो खेतमा ?
खेत गोडेर कहाँ पुग्यो चम्लोखामा ?
म त धेरै धेरै टाडा पुगि सकेँ, ती खेत र बारीहरुबाट
मनका खेतबारीहरुमा आस्थाका सद्बीजहरु छर्दै…………
रचनाः बालाचतुर्दशी,२०६८