उपक्रम र परिवेशका गन्धहरु

कवि
कवि

शिवलाल दाहाल
केन्टकी, अमेरिका

आज केही फुर्सत छ, फुर्सत छ भन्नु सामान्य कुरा होइन
धेरै जस्तो फुर्सत भएर पनि फुर्सत छु भन्न सकिँदैन
आज एक जना कवि मित्रसँग कुरा भयो कविताका बारेमा
कविताका बारेमा पनि के भन्नु, फुर्सतका बारेमा
लेख्नलाई धेरै कुरा चाहिन्छ सायद– वातावरण, फुर्सत,रहर
अचेल धेरै जस्तो यो भर्खरै खुट्टा लागेकी बच्चीले छिनाइदिन्छे
हिजो अस्तिसम्म सरीसृप झैँ घस्रिहिँड्ने ऊ
आजभोली बाहिर जान खुब रहर गर्छे
रहर होइन तङ् गर्छे, त्यसो भएर पनि बाहिर निस्की दिनुपर्छ
बाहिर जहाँ सयलको पाल टाँगेर उभिएको छ एउटा ठुलो रुख
त्यही पुग्छु म, सयल ताप्न, उसलाई बाहिर देखाउन, फुर्सत बिताउन
टन्टनापुर घाम छ, हेर्दै रिँगटा चल्ने
धन्न यो रुख उभिदिएको छ भनूँ कि जस्तो
यो रुख मैले चिनेको पनि हो, नचिनेको पनि हो
नाम थाहा छैन, हरेक दिन देख्छु, सयल ताप्न पनि पुग्छु
त्यसभन्दा बढ्ता घरभित्रैबाट त्यसको उपस्थिति थाहा पाउँदछु
किन भने एकाबिहानै चराहरु चिबिराउँछन्
सायद तिनीहरूको चिरिबिरी बिना म बिउँझिदिँन पनि
यो चराहरुको निर्बन्ध घर हो, कति थरी चराहरु बस्तछन् थाहा छैन
चराहरु नहुँदो हो त रुख हुनुको सार्थकता कहाँ हुन्छ भन्नु जस्तो
त्यसो पनि होइन, मलाई थाहा छ जब रुखले हिँउको घुम्टो ओड्छ
चराहरु र तिन्का गुँड हुँदै हुँदैनन्, कहाँ पुग्छन् कहाँ
रुख छ र नै चराहरु छन्, चराहरु छन् र नै गुँड छन्
हरेकवर्ष एकपटक रहर फलाउने गर्छ यो रुख
याम पर्खिएर चैत–वैशाखमा, उसका हाँगा–हाँगामा छ रहर
जसरी मेरी सानी छोरीको खुट्टामा छ रहर यतिखेर
यो सानी बच्ची, बस्छे यो रुखको सयलमा र संसार हर्ने खोज्छे
मसिना मसिना यी झारका पातहरू टिपेर बटुल्छे
मेरी छोरी जसका भर्खरै खुट्टा लागेका छन्
उ ती उड्दै गरेका चराहरु समात्न चाहन्छे, दौडदै गरेका लोथर्के समात्न खोज्दछे
तब उसलाई बाहिर जान किन मन नपरोस्, रुखका फेदसम्म, खुल्लाफाँटसम्म
उसले पनि बुज्नु छ, घाम, पानी, बादल, छाया –जिन्दगीका परिदृश्यहरु
किन भने उसले पनि चालपाउनु पर्नेछ यो उपक्रम र परिवेशका गन्धहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *