कुरूप दर्पण

तिलारूपा आचार्य (अधिकारी)
ओहायो, अमेरिका

मेरी दिदीको,
दाइजोकै कारण
शरीर भरी आगो लगाइयो।

आस र सासको
झिनो किरण भेट्न
माइत घर टेके देखी नै मेरी आमको
डिप्रेसनको गणनाले तीव्रता लियो।

भो……,
बा’को त कुरै नगरौँ
दाइजोको ऋणले थेचारेको
अझै उठ्न, सकेका छैनन्|

म जन्मँदा,
शुभ लग्नमा जन्मेको थिए रे
गाउँका सबैले सबैले भन्दिएछन्
संसारकै ‘भाग्यमानी छोरो’।

भाग्यको घण्टी बजाउँदै
त्यसै दिन बाट
डोकोमा दूध दुने
ठुलो आस थिए छ
बिचरा ! मेरा बा’को।

तर अपसोच…
विस्तारै- बिस्तारै मेरा बा
नियतिको खेल खेल्दै
भट्टी सम्म पुग्न थालेछन् अचेल
आमाको तिल्लहरीनै लिएर।

सुन्दरता !
सुन्दरता पनि
एक अभिशाप रहेछ
मोड्लींग् सुरु गरेकी मेरी बहिनीका
ती सुन्दर आँखा भरी
हजारौँ सपनाहरू अङ्कुरित थिए ।
तर,
यहाँ इज्जतको लिलाम !
शरीर बचाउँदा बचाउँदै
एसिड प्रहारको भुमरीमा परि
जिउँदो लास ,पल- पल मरिरही
यो नैतिकता नै हराएको
कुपोषित समयमा।

यो नियति भनौँ,
या परिवेशको दोष हो
भाग्यले होइन,
दुनियाँले पछार्‍यो सधैँ मलाई
मेरी आमा डिप्रेसनबाट कुरूप
दिदी दाइजोबाट कुरूप
बा साहुको ऋणबाट कुरूप
बहिनी सुन्दरताबाट कुरूप
म सोच्दा सोच्दै ,
बौलाएको छु अचेल
मलाई यही परिवेशले
बनायो कुरूप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *