खुशीको आन्दोलन हामीले जितेका छौं

A former Bhutanese refugee, forced to leave Bhutan along with his family in 1992, I P Adhikari is a journalist living in Adelaide, South Australia. He started The Shangrila Sandesh in 2001 but did not work for the paper for long. In 2004 he, along with Vidhyapati Mishra, started the Association of Press Freedom Activists (APFA) Bhutan. In 2007 they started Bhutan News Service. He worked in The Rising NepalThe Himalayan TimesNation Weekly and Nepalnews.com while living in Nepal as a refugee.

Adhikari also taught Journalism and Development Communication for bachelor's and master's degrees in College of Journalism and Mass Communication between 2006 and 2010 in Nepal. He then moved to Australia under the resettlement program of the UNHCR for Bhutanese Refugees. In Adelaide, Australia he founded Yuba Sansar, a weekly Nepali-language radio program aired through Radio Adelaide.

आई. पी. अधिकारी
एडिलेड, अष्ट्रलिया

जिन्दगीका लक्ष्यहरु धेरै होलान तर खुशी जीवनको सर्वोत्तम लक्ष्य हो । जीउने जो सुकै प्राणी पनि खुशीमय जीवन चाहान्छ – मनुष्य होस वा जनावर । बेखुशी जीवन सार्थक नहुन सक्छ । विज्ञानको अध्यायनले के देखाएको छ भने खुशी बिनाको मानिसले आफ्नो बौद्धिक क्षमताको अधिकतम उपयोग गर्न सक्दैन । जब मानिसले बौद्धिक क्षमताको अधिकतम प्रयोग गर्न सक्दैन, यसले समाज विकास र वृहत्तरमा मानव सभ्यतामा असर पार्छ ।

मानिस केले खुशी हुन्छ त ? – कारण, परिवेश र परिस्थिति अनुसार फरक पर्छ । कुनै एउटै विषयले कसैलाई खुशी त कसैलाई दुखी बनाउछ । यसको प्रत्यक्ष उदाहरण हुन् नेपाली भाषी भुटानी । उनीहरुको उपस्थिति भुटानको दु:खको कारण बन्यो त पश्चिमा मुलुकका लागि खुशी कारण । पश्चिमी सभ्यताले ल्याएको वैज्ञानिक क्रान्ति र त्यसले मानिसको जीवनमा ल्याएको सहजपन र ऐस आराम आज अधिकांश मानिसको खुशीको कारण बनेको छ । असज र कष्टपूर्ण जीवन बाचेको मानिसलाई आज कसैले खुशी मान्दैन ।

गरिबीमा बाचेकाहरुका लागि पैसा कमाउनु र आरामदायी जीवन जिउनु खुशीको कुरा होला । धनीहरुका लागि अझ धेरै कमाउनु खशीको कुरा होला । पुजीवादको प्रभुत्व फैलिएको आजको दुनियामा सम्पत्ति आर्जन गर्नु खुशी कमाउने एउटा माध्यम अवश्य हो । त्यसो त सम्पत्ति नै सबथोक चै पक्कै हैन । अत: खुशी कमाउने यो पुजीवादी शैलीको खिलाफ भुटान विश्व रंगमञ्चमा उत्रिएको छ । उसको भनाइमा पुजीवाद र उपभोक्तावादले मानव सभ्यतामा खलल पुर्‍याएको छ । पुजीवादले आफ्नो अन्तिम लक्ष्य खुशी भन्दा पनि सम्पत्तिलाई छानेका कारण समस्या सृजना भएको छ, भुटानको तर्क मान्ने हो भने ।

पश्चिमी सभ्यताका दिग्गजहरु भुटानको यो कहानी सुन्न कान ठाडा पारेर बसेका छन् । यो हैन कि ति दग्गजहरु खुशीको सिद्धान्तबारे अनभिज्ञ रहेका कारण भुटानको यो नयाँ प्रस्तुती सुन्न तयार भएका हुन् । युरोपका कैयन विद्वानले खुशीको सिद्धान्तबारे धेरै ठाउँ अनि धेरै पहिले चर्चा गरेका छन् । अमेरिकामा त संविधानमै लेखिएको छ राज्य संचालनको लक्ष्य भनेको जनतामा खुशीको सञ्चार गर्नु हो । तर के ख्याल रहन जरुरी छ भने जुन देशले पहिलो पटक संवैधानिक रुपमै खुशियलीलाई अंगाल्यो आज त्यही देश भुटानबाट निस्केको खुशीयालीको यो नयाँ बहसमा सहभागी हुन र त्यसलाई अंगाल्न अग्रसर छ ।

अप्रिल महिनाको सुरुमा संयुक्त राष्ट्र संघको आव्हानमा भएको खुशीयाली सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनको नेतृत्व गर्न न्यु योर्क पुगेका भुटानी प्रधान मन्त्रि जिग्मी थिन्लेले पहिलो चोटी मुख खोले – भुटान पनि कहा खुशी छ त ? यसअघि हरेक पटक उनको तर्क हुन्थ्यो भुटान भन्दा खुशी देश अरु छैनन् । अल जजिरासंगको एक अन्तर्वाताका क्रममा केही समय अघि यिनै विद्वानले भनेका थिए भुटानका गल्लीमा हिड्ने कुकुरहरु पनि खुशी छन् ।

आज विशवभर खुशियाली सम्बन्धि लेख्दा, बहस गर्दा वा भाषण गर्दा हरेक पटक भुटानलाई उदाहरणका रुपमा प्रस्तुत गरिन्छ । कुनै बेला भुटानलाई संसारकै खुशी मुलुकका रुपमा चित्रित गरिन्थ्यो । तर यतिखेर प्रकाशित हुने संसारका खशी देशहरुको लिस्टमा भुटान कही कतै परेको पाइदैन । यद्यपि कैयन विद्वान र अध्येताहरुले भुटानलाई आज पनि खुशी देशका रुपमा चिनाउने गर्छन् । यसो भन्दा भुटान खुशी छैन भन्न पनि खोजेको हैन । भुटान अरु मुलुक भन्दा धेरै खुशी नै छ तर जुन रुपमा आज उसको चर्चा गरिएको छ, त्यो हदसम्म भने पक्कै हैन ।

भुटानलाई खुशी देश भनेर चिनाउने सबै विद्वानहरुले भुटान के कारणले खुशी छ भनेर सायद खोजेका छैनन् । बाहिर जति धेरै र जस्तै चर्चा गरे पनि भुटान खुशी हुनुको पृष्ठभुमि फरक छ । हेर्ने दृष्टिकोणमा फरक नआएसम्म यो पृष्ठभुमी पत्तो लाउन अति कठिन छ । खुशीको व्यापारमा भुटानलाई हँ मा हैंसे गर्दै काध थाप्न पुगेका यो विद्वत समुदाय भुटानको त्यो सुक्ष्म तर संवेदनशील कारण खोज्ने ध्याउन्नमा देखिएका छैनन् र भविष्यमा पनि त्यसो गर्लान भन्ने कमै मात्र आश छ । किनकि खुशी नामको यो व्यापारका लागि भुटानलो खोलेको पसल यति धेरै चिर्चित छ कि त्यसमा अन्तर्निहित विषय खोज्ने बाटाहरु यसले छोपिदिएको छ ।

भुटानको खुशीको कारण हो अरुको सभ्यतामा हमला बोल्न पाउनु र त्यो मिसन सफल हुनु । भुटान त्यो दिनदेखी खुशी देशका रुपमा चिनिदै आएको छ जतिबेला उसले अर्को सभ्यता र संस्कृतिमाथि धावा बोल्ने नीति तयार गर्‍यो । भुटानमा नेपाली भाषा, संस्कृति र सभ्यताको राप भुटानका विद्वानहरुमा यसरी पर्‍यो कि उनीहरुलाई भुटानको अरु जातीय समाज पनि त्यसैमा विलय हुने डर भयो । राजनीतिक रुपमा भुटानले त्यहाका नेपाली भाषीलाई गैर कानुनी रुपमा बसाई सरेर आएका भन्ने गरे पनि धेरै संवेदनशील अवस्थामा भुटानका नेता र राजाले त्यो देशमा नेपाली सभ्यताको जरो उखेल्नुको कारण त्यसले समग्र समाजमा पारेको प्रभाव नै हो भनेका छन् । यसरी हेर्दा अर्को सभ्यतालाई स्वीकार नगर्ने देशका रुपमा भुटानलाई चिन्दा फरक पर्दैन । त्यसैले त प्रधान मन्त्रि थिन्लेले न्यु योर्कमा हालै भनेका थिए पश्चिमा सभ्यताले ल्याएको उपभोक्तावादले मानिसलाई हिंस्रक प्राणी बनाउदैछ ।

भुटानको शासन चलाउने त्यो समुहले खुशी प्रवर्धनका निम्ति आफ्नो भाषा-सभ्यताको जगेर्ना गर्ने जस्तो सकरात्मक नीति अवलम्बन गर्नुको सट्टा अर्को सभ्यता माथि आक्रमण गर्‍यो । यो मानव सभ्यताको हिसाबले अनैतिक जस्तो नै देखिन्छ । अरुको भाषा, संस्कृति र सभ्यताको अवहेलना र दमन गरेर कमाएको खशीयाली कतिञ्जेल बाच्ला र ! हिजो खोरमा थुनेर “म खुशी छु” भन्न जसलाई बाध्य बनाइएको थियो, राजनैतिक परिवर्तन पछि खुल्ला समाजमा विस्तारै ती तथ्यहरु बाहिर निस्कदैछन् ।

नेपाली सभ्यताको जरो उखेलेको दुई दशकपछि भुटान विश्वकै खुशी मुलुकका रुपमा अघी आएको छ । भाषा सभ्यताको केन्द्र विन्दु हो । अर्को भाषामा भन्ने हो भने भुटानले नेपाली सभ्यताको उन्मुलक गर्नु भनेको नेपाली भाषा संकृतिको उन्मुलन गर्नु हो । आज भुटानमा नेपालि भाषाको नामो निसान छैन । त्यहाँको एउटा सिंगो नयाँ पुस्ता नेपाली बोल्न, पढ्न र लेख्न जान्दैन । नेपाली सावा अक्षर चिन्दैन । त्यहाँ घर परिवार भन्दा बाहिर नेपाली बोल्न सक्ने वातावरण छैन ।

तर भाषा र समाज छुट्टिन सक्दैन । त्यसैले भुटानले उन्मुलक गर्न चाहेको नेपाली भाषा सभ्यता नेपालका शरणार्थी छाप्रहरुमा पनि मौलाइरह्यो ।गएको चार वर्षमा यो सभ्यताको लहर भाषा अन्दोलनका स्रष्टाहरुसंगै पुनर्वास अन्तर्गत पश्चिमा मुलुक आइपुगेको छ । यतै आएर पनि भुटानी-नेपालीको साहित्य प्रतिको लगाव चुडिएन, साहित्य प्रतिको मोह टुटेको छैन । संस्था नै खोलेर उनीहरु यसमा लागका छन् । भुटानको नयाँ पुस्ता नेपाली भाषा साहित्यको महत्व र अर्थ नबुझ्ने अवस्थामा छ । पुरानो पुस्ता हिजोको दमनको धङधङीका कारण नपाली विषयमा केही गर्न चाहादैन । लखेटिएको अवस्थामा पनि सभ्यताका पुजारी बनेका यी नेपाली-भाषी भुटानीले निकट भविष्यमा भाषोन्नतिको त्यो लहर फेरी भुटान फर्काउने संभावना अब करिब मरिसकेको छ ।

यसरी सर्सर्ती हेर्दा भुटान उसको खुशी कमाउने अभियानमा सफल भएको छ । त्यसैले त उ यति खुशी छ कि उसको अभियाननै कुल राष्ट्रिय खुशीयाली बनेको छ ।

नपाली भाषी भुटानी अरुको सभ्यता अतिक्रमणमा हैन आफ्नो सभ्यता निर्माणमा खुशी हुन्छन् । भुटानमा दमित अवस्थामा रहदा होस वा नेपालमा शरणार्थी जस्तो दयनीय अवस्थामा बाँच्दा अनि पश्चिमी मुलुक पुगेर रातोदिन काममा दलिदा । उनीहरु भाषा सभ्यताको जगेर्नामा हमेसा दत्त चित्त छन् । हालै अष्ट्रेलियाको एड्लेडमा उनीहरुले सुरु गरेको नेपाली भाषा स्कुल यसको जल्दो बल्दो उदाहरण हो । नयाँ स्कुलमा सानैमा यो देश छिरेका र यहा आएर जन्मिएका मसिना बाल बालिका हरुलाई नेपाली भाषा-संकृतिबारे ज्ञान दिने उद्देश्य राखेको छ ।

आफ्नै देशका मौलाउदै गरेको एउटा सभ्यतालाई मिल्क्याएर भुटान खुशी भएको छ भने स्वतन्त्र र सभ्य समाजमा आफ्नो भाषा-सभ्यतालाई निरन्तरता दिन पाएकोमा नेपाली-भाषी भुटानी खुशी छन् । अरुको सभ्यताको दमन गरेर भुटानले खुशीको व्यापार गर्‍यो तर त्यो दमनमा पर्नेहरु नै आज भुटान भन्दा खुशी छन् । भुटान भन्दा धेरै खुशी मुलुकहरु डेनमार्क, नर्वे, अष्ट्रेलिया, न्यु जील्याण्ड, नेदरल्याण्डस, अमेरिका जस्ता देशमा पुगेका छन् । अत: खुशीयाली सिन्द्धान्त बारे यदि साच्चिकै अनुसन्धान गर्ने हो भने यी लखेटिएका नेपाली भाषी भुटानीमा गरे राम्रो जो जहिले पनि खुशीका साथ जिए । खुशीको मामलामा भुटानले जति धेरै हाई हाई पाए पनि आखिर उसले लखेटेकाहरु नै उ भन्दा खुशी छन् । खुशीको यो आन्दोलनमा हामीले जितेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *