जन्मभूमिसँग सम्बन्ध विच्छेद
हर्क तिरुवा
एउटा मान्छे भिन्नाभिन्नै परिस्थिरमा जन्मन्छ ।
उ नितान्त भिन्न संसारको पाटोमा जन्मन्छ।
उसको जीवनमा अचानक आँधी-हुरी आइदिन्छ ।
नचाहद नचाहँदै उसको जन्मभूमिसँग सम्बन्ध विच्छेद हुन्छ ।
आज उ क्षितिज पारिको देश भन्दा टाढा छ।
त्यसैले उसलाई जन्मभूमिको यादले सताइरहन्छ।
आज उ अग्ला अग्ला महलहरूका जङ्गलमा हराइरहेको छ।
त्यसैले उसलाई जन्मभूमिको सपना र सम्झनाले सताउँछ ।
देउराली र चौतारी उनकै प्रतीक्षामा बूढा भए होला ।
उसले छोडेका घरका भग्नावशेष स्यालका हुइया रुँदै होला।
उनी फर्केनन् भन्दै न्याउली चरीका धेरै पुस्ता रोए होला ।
आज उ जन्मभूमिको माटो र ढुङ्गाको स्पर्श देखि टाढा छ ।
उनी हिँडेका बाटो-घाटोले उसको पर्खाइमा दशकौँ बिताइसकेका छन्।
उनी आज पनि फर्केनन् भन्दै खोला र खोल्छ सुस्ताइरहेका छन्।
उनी जाने पँधेरी उनको प्रतीक्षामा कहिल्यै थाकेनन् ।
तर उनीले नचाहँदा नचाहँदै जन्म भूमिको मायालु काखमा बस्न पाएनन् ।
उनले घुमेका पाखा र पखेरा उनकै प्रतीक्षामा आँखा ओछ्याई रहेका होला ।
उनीले बिराएका खेतका गरा र बारीले उनकै स्पर्श खोज्दै होला ।
उनले रोपेका सुन्तला र अलैँचीका बिरुवाहरूले अवकाश लिए होला ।
तर आफू जन्मेको थाक थलोसँग सदाका लागि सम्बन्ध विच्छेद गर्नु पर्ने ।
आज सुनकोशमा पानी धेरै बगे तर उनी फर्केर आएनन् ।
तक्ते र खुच्चीको बाटो खने तर त्यहाँ हिँड्न पाएनन् ।
नाल र साल बिसाएको भूमि चट्कै छाड्नु पर्ने l
यो कस्तो नियति र भाग्य नचाहँदा नचाहँदै जन्म भूमिसँग सम्बन्ध विच्छेद गर्नु पर्ने ।