जब म घर जान्छु
Norway
Founder and Managing Editor - Bhutaneseliterature.com
Publication Director - Literature Council of Bhutan
रमेश गौतम
नर्वे
जब म घर जाने विचार गर्छु
यो सहरी सङ्कीर्णताबाट
दुई-चार दिन टाढा रहने सपना देख्छु।
जब म सुस्ताएर घर पुग्छु
बाध्यतामा मुस्कुराउनु पर्छ;
मेरो दुब्लो अनुहार देखेर
छिमेकीहरू “बिरामी भइस् कि” भनेर सोध्छन्।
मेरी रोगाएकी आमा
आफ्नो जागिरे छोराको आगमनमा
अलिकति आशाले पुरिनुहुन्छ
सानी बहिनी अपेक्षाको भावले हेर्छे
अनि भाइ
“भने गफ गरौँला दाइ” भन्दै
ट्युसन दगुर्छ।
जब म थकित बनेर ओछ्यानमा पल्टन्छु
अनि सोच्छु –
बाबा राती अबेर घर फर्कनुहुन्छ
भोक-प्यास नभनी परिश्रम गरेर ऋण तिर्नुहुन्छ
भाइ ट्युसन गरेर व्यवहार चलाउँछ
अनि सानी भए पनि
बहिनी घर-व्यवहार चलाउँछे।
जब सुत्ने बेला हुन्छ
सबै मेरासामु आएर बस्छन्
परिश्रमले फुलेका मेरा बाबा
आफूले भोको पेट बस्दा पनि
आफूले नसुती परिश्रम गर्दा पनि
ऋण तिर्न नसकेको बताउनु हुन्छ
म सम्झन्छु
हाम्रै पढाईमा ऋण लागेको हो।
जब म टोहोलाइरहन्छु
मेरी रोगी आमा
आफ्नो तकियाबाट बचेको औषधि निकाल्दै
औषधि सकिएको
र फेरि छ महिना खानु पर्ने बताउनुहुन्छ।
जब म के गर्ने भनी जिल्लिन्छु
मेरो भाइ
आफ्नो लब्धाङ्क पत्र मलाई दिँदै
आफू प्रथम श्रेणीमा पास भएको बताउँछ
मबाट निर्णयको अपेक्षा गर्दै
साथीहरूले भोलि फारम तान्ने कुरा सुनाउँछ
निरीह नयनहरूले मलाई नियाल्दै
तीन महिने बिदामा
साथीहरूले कम्प्युटर कोर्स लिएको बताउँछ।
मेरा आँखाभरि
मेरो भाइको पचासी प्रतिशत अङ्क नाचिरहन्छ
म मेरो योग्य भाइलाई
सफल डाक्टर देख्न चाहन्छु।
जब म भित्र-भित्रै जल्न थाल्छु
मेरी कर्मशील बहिनी
मेरो नजिकै बस्छे
र अँध्यारो अनुहार लगाएर
आफूले किताब-कापी किन्न नसकेको
तीतो यथार्थ सुनाउँछे
अनि
“भोलि ‘स्कुल फी’ तिर्नु छ” भन्दै
बाबाको निराश मुहार नियाल्छे।
जब म आफू खरानी भएको अनुभव गर्छु
बाबा विमूढ नयनले मलाई हेर्नुहुन्छ
आमा भित्तातिर फर्किएर आँसु पुछ्नु हुन्छ
बहिनी बालसुलभ आँखाहरूले
आमाका आँसु नियालेर
एक फेर
मेरो अनुहारको भाव अध्ययन गर्छे
अनि भाइ
निर्णयहीन टोहोलाइरहन्छ
र अपेक्षाका आँखाहरूले मलाई नियाल्छ।
१७ अगस्ट २००२
हात्तीसार