तिमी पारिजात
सञ्चमान खालिङ
अमेरिका
क्लियोप्याट्राको सुनको लेपन
घस्न पाए तिम्रा गालामा
सुनकेशरी रानीको सुनको केश
उमार्न सके तिम्रा कपालमा…..
कसले बोलाउँछ तिमीलाई–“च्याउँखुरी !” भनेर
कतिकति किरा जलिमर्थे
पलपल दीपशिखामा तिम्रालागि
फूलका गुच्छाहरु ओइरिन्थे– भ्यलिन्टाइन्डे भएर
ट्रोईबाट पेरिस आउँथ्यो, सुटुक्कै नौकामा
पतवार माग्न तिम्रो हात, जिन्दगी तर्नलाई
तिमीलाई ता
घाँस–दाउरामा काँडाले को-यो – गाला
खरबारीमा कचियाले काट्यो– औँला
घामले खायो
धुलोले खायो
हिलोले खायो
जुका-भुसुनाले खायो
स्याउको जुस खानुपर्ने– जे थियो त्यै खायौ
तिमी–
उज्यालो हुन नपाउँदै वैलिझरेकी फूल–पारिजात
(२०६५–०८–३०)
धरान
श्री खालिङको ‘धनेहरु निरन्तर हिँडिरहे’ कविता संग्रहबाट