देश सम्झेर एक साँझ
यतिराज अजनबी
साहारा मरुभूमि
पार गर्नु परे पनि
पर्दैनथ्यो पिउन कैल्यै
कोकाकोला र फ्यान्टाहरु,
खै के थियो
छङछङ बग्ने कञ्चन
मेरो रंगखोलाको पानीमा |
दुई चिम्टी माटो
चिमोटेर लाउँथे
मेरो मांसपिण्डको
भुइँ भत्काएर उम्रेको
आङै जिरिङ्ङ हुने
रगतको भुलभुले
मत्थर हुन्थ्यो,
खै के थियो
मेरो देशको
त्यो पुरानो जमीनमा |
बारीको काँल्लाबाट
झार चुँडी
माडेर दुई चार थोपा
पिलाइदिन्थिन आमाले,
देशै सिध्याउन आएको
हैंजा कुलेलम ठोक्थ्यो
फेरि कैल्यै नफर्कने गरी ,
खै के थियो के
मेरो सुरेको
कलकलाउँदो वनस्पतिमा |
के थियो र
मसंग मेरो देशमा
पानी, वनस्पति र
माटो सिवाय
तर
यस्तो यौटै पनि
रात थिएन जहाँ
निन्द्रा नपरोस
कहाली लाग्दो
सपना देखियोस |
देश बाहेक
केही थिएन
आफूसंग देश
भएको बेला,
भएको बेला
सब थोक
आज आफूसंग
छैन देश |
२२ डिसेम्बर २००८, एड्लेड
राम्रो छ रचना राष्ट्र भक्तिले ओतप्रोत भएको के म यो रचना रेडियो मा बचन गर्न सक्छु?