देशको सम्झनामा-२
भक्त घिमिरे, अमेरिका
…..अघिल्लो प्रकाशित अंकबाट क्रमश:
‘‘बुढेसकालको सहारा एउटैमात्र छोरो । कहिल्यै दुःख नभोगेको । जुनै शर्त गरेर भए पनि उकासेर ल्याउँछु’’, आफ्नो निर्णय मनमनै आफैंलाई भने बिष्ट बाजेले । भोलिपल्ट बिहानै कार्यालय खुल्दै बाजे त्यहाँ पुगे । कोठामा प्रवेश गर्नासाथ जोङ्दाले एउटा लेखेको कागज बाजेको अगाड़ि राखिदियो । त्यहाँ लेखिएको थियो,‘‘लंखरधाप निवासी श्री बलबहादुर विष्टको छोरा विजयलाई उसको पक्षबाट घट्न गएका गैर-कानुनी क्रियाकलापको पुर्पक्षको लागि गत तीन तारिख जोङ्दा (जिल्ला अधिकारी)-ले बोलाई आफ्नो कार्यालयमा सोधपुछ गर्दा खतुकी विजयले अकस्मात जोङ्दामाथि नै आक्रमण गरेको थियो । निज विजयबाटै लुकीछिपी गाउँ-घरका छोरी-बुहारीमाथि अनैतिक कार्य हुनगएको हाम्रा सैन्य अधिकारी ठिन्ले दोर्जीबाट बुझ्नमा आएकोले निजलाई भूटानी राष्ट्रिय ऐनको धारा 7 मा उल्लिखित नियम बमोजिम 20 वर्ष कारावासको सजाय हुने निर्णय भएको छ । साथै निजको बाबु बलबहादुर विष्टले पनि कार्यालयभित्र अनैतिक वचन बोलेको हुँदा निजसहित उसकी श्रीमतीलाई एक वर्षसम्म सैनिक अड्डामा खाना बनाउने र त्यहाँका बरिष्ठ व्यक्तिहरुको सेवा गर्ने-गराउने आदेश साजयस्वरुप जारी भएको छ ।’’
साइँला विष्ट निर्णय पत्र हेर्दाहेर्दै बेहोस् भइसकेका रहेछन् । पत्र हेरिसकेपछि बाजेको हातबाट खत्रक्क भुइँमा झर्यो-बाजे डङ्ग भइँमा ढले अनि सलक्क भए मानौं बाजेको प्राण गएझैं । अब जोङ्दालाई सुनौलो अवसर प्राप्त भयो । ‘‘महोदय, मैले चाँड़ोभन्दा चाँड़ो यो देश छोड़ेर जाने निर्णय गरेको हुँदा हजूरमार्फत सरकारसमक्ष तत्काल अनुमतिको अर्जी गरेको छु ’’-भनेर लेखिएको एउटा पत्र ल्याएर जोङ्दाले बेहोस् बाजेका हात समातेर दशवटै औंलाको छाप मारिदियो । औंठा मारिसकेपछि अर्को हरफ पनि थपिदियो जोङ्दालेः-‘‘मैले जे जति चल-अचल सम्पत्ति कमाएको थिएँ, सरकारलाई सुम्पिएर यस बराबरीको क्षतिपूरण सरकारबाट प्राप्त गरिसकेको छु । भविष्यमा यसमाथि कसैले पनि नाइनास्ती गरेर केही उजूर गर्न पाउने छैन ’’-यति लेखेर फेरि तलतिर बाजेको औंठाछाप लगायो जोङ्दाले र कागज लगेर फायलमा राख्यो । धेरैबेरपछि ब्यूझँदा बाजेको मन बिग्रिसकेको थियो । जुरुक्क उठेर हात जोडॉ्दै बाजेले भने,‘‘म जान्छु हजूर, आजै जान्छु । तर मेरो छोरो छोड़िदिनुस् ।’’
‘‘ए हो ! कहिले जाने ?’’ प्रश्न आयो । ‘‘तीन दिनभित्र जान्छु हजूर । तर, खर्च छैन, मेरा निजी चीजहरू बिक्री-बितरण गरेर दुई-चार पैसा जोहो गर्ने मौका दिनुस् हजूर’’-सरासर भने बाजेले । पुग्दो पैसा दिने बताएर जोङ्दाले बाजेलाई लग्यो एउटा कोठातिर । निकै ठूलो एउटा पैसाको बण्डल थमाएर उभिन लगायो । हाँस्न आदेश गर्यो । मन तुलबुल भएर बाजेले भने,‘‘म किन, कसरी हाँस्ने, आफ्नो जन्मभूमि, यहाँ जीवनभरि हड्डी घोटेर कमाएको सम्पत्ति, सारा अस्तित्व त्यागेर म कहाँ जाने र हिँड्ने बेला कसरी हाँस्ने म ?’’
‘‘लु भएन’’, भनेर कुनातिर एउटा कालो बक्स खोल्दै खत्र्याक-खुत्रुक के गर्यो जोङ्दाले अनि फेरि आएर भन्यो, ‘‘हेर बाजे, अब सप्पै कुरा साक्यो । यति कुरामा तिमी किना आर्को कुरा गरेको ? सरकारले तिमीलाई आफ्नो जमीनको पैसा पनि त दिएको छ । आबो जानी बेलामा खुशी बएर जानी हो नि बाजे ।’’ बाजेले पनि सम्झिए-‘‘आखिर नहिँड़ी नभएपछि के झमेला गर्नु, अब म आफ्नो खुशीले सरकारले दिएको रै-रकम (खर्च) लिएर जाँदैछु’’,एक सासमा यति भन्दै मुटु मिचेर एउटा झरेको दाँतको गिजा देखाउँदै हाँसेको अभिनय गरे बाजेले । अभिनय नगरे कैदमा रहेको छोरोको मुक्तिको सवाल थियो । मनमा वेदना र प्रतिशोधको एउटा ज्वालो सल्काएऱ फेरि भने बाजेले-‘‘म आज मेरो देश खुशीले त्यागेर जाँदैछु ।’’ ठीक त्यसैबेला परको कुनामा रहेको कालो बक्समा झिलिक्क बत्ती बलेर निभ्छ । भिडियो क्यामेराको स्क्रीनमा साइँला बाजे हातमा पैसा बोकेर हाँसिरहेका देखिए । यस्तो अचम्मको कर्तुत देखेर जोङ्दापट्टि जब बाजे फर्किए, उनले देखे, कर्मा जोङ्दा हातमा पिस्तौल लिएर बाजेतिरै ताकिरहेको छ । ‘‘पैसा राख, पैसा राखेर भाग’’, एक सासमा चिच्यायो जोङ्दा कर्मा । स्वभिमान कर्मनिर्भरतामा रहेर बाँचेका साधारण गाउँले साइँला बाजे । कहिल्यै त्यस्तो आपतमा फँसेका थिएनन् । उनलाई डर तथा घृणा बराबर लाग्यो जोङ्दादेखि । पैसा टेबिलमाथि राखिदिएपछि जोङ्दाले अघि फायलमा राखेको कागज झिकेर देखायो । सर्ररर… कागज हेरेपछि बाजे आँखामा आँसु टिलपिल पार्दै ढोकाबाट बाहिरिन्छन् । बाहिर चौरमा विजय बाबुलाई पर्खिरहेको थियो । साइँला बाजेलाई छोरो देखेपछि झन् वैराग लाग्यो । ग्वाँ-ग्वाँ डाको छोड़ेर रुन थाले । विजय बाबुको हृदयलाई सान्तवना दिने कोशिश गरेपछि बाजेले भित्र भएका क्रियाकलाप सिलसिलेवार ढंगमा बताउन थाले । मानसिक पीड़ाले व्यथित साइँला बाजे विजयको काँधमा अनुहार राखेर धेरैबेरसम्म रोइरहे । बाबुको रोदनसँगै विजयका आँखाले पनि अश्त्रुधारा बगाए । त्यतिकै बाबु-छोरा घर पुगेछन् । घर पुग्नेबित्तिकै बाबु-छोरा सामानहरू पोको पार्नथाले । विजय आएकोले बज्यै त खुशीले उल्लासित बनेकी थिइन् । तर, बाबु-छोराको भने स्थिति बेग्लै छ । अब भोलि नै यो ठाउँ छोड़ेर कता-कता अनिश्चित गन्तव्यमा जानुपर्ने सुनाए दुवैले बज्यैलाई पनि । तथापि, छोरोको मुक्तिमा आमाले देश छोड्नुपर्ने कुरालाई सामान्य ठानिन् ।
पोका-पत्यौरा बाँधिसक्ता रातको दश बजिसकेको थियो । ‘अब गाई-वस्तु के गर्नुपर्ने हो’, सोचमा डुबे साइँला बाजे । विजयले भने आफ्नै प्यारी योल्मोलाई सम्झ्यो ।
भोलिपल्ट बिहानी पखको कुरा हो । गाई-बाछाहरू बाँ-बाँ कराउँदै थिए । सधैं एकाबिहानै सबै आ-आफ्नै काममा लाग्ने त्यो गाउँमा आज निकै शून्य छ । ‘विष्ट साइँलाले पनि देश छोड्नुपर्ने भो रे…अब दुई दिनभित्रै गाउँ छोड़्ने रे’, गाउँमा धुम्धामले हल्ला चलिसकेको रहेछ । यो कुरा योल्मोको कानमा पनि पर्न बाँकी रहेन ।
क्रमशः….