धेरै बाँच्नु छ

माराम्लोङ साम्पाङ उत्तम-सिन्सिनिटी/ओहायो Uttam Rai

आफन्त पराई
अनि
पराई आफन्तको बीचमा
आशा बाँच्न नजानेर
लथालिङ्ग हिँडीरहेको
एक बिसञ्चो अनुहार भनिरहेछ,
‘अझ धेरै बाँच्नु छ मलाई ।’

एक मुठ्ठी ठेलाहरूमा
साटेको थोरै सन्तुष्टि
साँच्नुछ पछि… सम्म
ताकि पुस्तौँ पुस्ता अपरिचित रहोस्
असन्तुष्टिसँग – म जस्तै ‘म’हरू

लड्दा-लड्दै कचक्क कुच्चिएको
कालो कचौरा बोकेर पालो पर्खंदा- पर्खंदै
थोत्रो भौसकेका आधाकल्चो सपनाहरू
सब पूरा गर्नुछ
मर्नुभन्दा एक निमेष अघिसम्ममा
त्यसैले,
‘मलाई धेरै बाँच्नु छ’

मुस्कुराउने दिन गनेर बसेका
कलेंटी ओठहरूसँग
भेट गराउनु छ चाँडै
चिम्म आँखा र उघ्रेको अनुहार

बरालिएर हिँडीरहने मनलाई घरजम गराइदिनुछ
यो छातिको एक कुनामा

भागिरहेका खुट्टाहरू
बिसाउनु छ एकातिर

जानेर होस या नजानेर
जोडिएका नाताहरू असरल्ल छन्
सम्हाल्नु छ त्यसलाई पनि
सम्झनुपर्ने बिर्सिएका अतीतहरू
खोज्नु छ कहि कतै

सबै भन्दा ठूलो कुरो त !
मैले मेरो देशको माटो सुँघ्नु छ एकचोटि
र त,
अझ धेरै बाँच्नु छ मलाई !

Leave a Reply

Your email address will not be published. Required fields are marked *